~पदम राई ‘युद्धविराम’~
उकालो उक्लिन खोजें
ओरालै झरें
अगाडि बढ्न खोजें, झन् पछाडि परें
हन्डर खाएँ, बिनाकसुर
युगौंदेखि बाटो बनाउँदै हिँडेको मान्छे
आफैं हिँड्न पाइनँ, आफूले बनाएको बाटोमा ।
असाध्यै तीखा आँखाहरू छन्
बिछट्टै छिटा खुट्टाहरू छन्
उत्पातै चलाख टाउकाहरू छन्
तिनीहरूकै बीचमा छन्
मजस्तै गरिखानेहरू
भाकमै जिन्दगीको मिठास खोज्नेहरू
दुई छाक टार्नुमा चक्कर खानेहरू
जीउ ढाक्न
सुकिला लुगा नचाहिनेहरू
र, तिनै चलाखहरूले दिएको दुःखलाई
देउताको उपहार ठान्न विवश छ
मेरो आदिम इतिहास ।
मेरो इतिहासलाई
आफ्नो मन सोझो भएको पनि
थाहा छैन अझै ।
युगौंदेखि यहीँ छु
आफ्नै बाटोमा, आफ्नै माटोमा
त्यही माटोमा
जहाँ मेरो देश छैन अझै ।
भोजपुर