~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
त्यति लामो यात्राभरि न एक शब्द बोलिन् उनले,
अधरभरि संगालेको न त्यो मुस्कान खोलिन् उनले ।
यौवनको बगैंचामा बैंश फुले’थ्यो ढकमक्क,
फूलैफूलको बास्नाभित्र कसलाई राख्या होलिन् उनले ।
उराठिलो उदास’थ्यो मन स्वच्छ चड्डा बन्ला फेरि,
हरिणको चालमा जब हातमा मेरो छोलिन् उनले ।
आमने–सामने भा’थ्यो बसाइ नहेर्दा’नि दृष्टि पुग्ने,
था’भएन मेरो माया कति गहिरो घोलिन् उनले ।
मान्छेहरुको भीडमा पनि हुंदो रै’छ एउटै प्यारो,
संकेतमै विदा भइन् न बाबुआमा पोलिन् उनले ।
व्यक्त हुन्न भन्थें यदि सांचो माया भएदेखि,
त्यहि भयो हामीबीच आशछैन त्यो धोलिन् उनले ।
परेलीका यादभित्र मृगनयन आंखाहरु,
लाग्छ अझै निशाबीच ‘पथिक’ सम्झी रोलिन् उनले ।
मौनताका रातहरुबाट
काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर, नेपाल
(स्रोत : काव्यकुञ्ज डट कम)