~वसन्त कट्टेल~
हराउदै कल्पनामा
नियाल्दै तिम्रा तस्विर
बोलाउँछु सुस्तरी..
तर बोल्दैनन् !
छिचोल्दै सन्नाटा चिर्नुछ उदासिपन,
दिलभित्र सल्केको आगो निभाउन
खोज्दैछु रापले, जलाउँदै आफैलाई ।।
छिन्नभिन्न हुँदै कोरिने यी शब्द तिम्रै प्रेरणा हुन्
स्रोत उद्धृत गर्न नसकुँला
तर मनमनै तिमिप्रति कृतज्ञ छु,
आज एकान्तमा यो मन रम्न सिक्दैछ ।
अनायासै बढ्ने धड्कनका बेगहरु
कतै तिमी छौ कि भनि धड्कन्छन्
रित्तो, रित्तो हुन्छ, पाउँदैन सहारा
केवल खुम्चिन्छ निरीह बनेर
चिच्याउँछ कायर बनेर
पग्लिन्छ हिउँ सरी
तर भेट्दैन मुटु,
पल्टिन्छ लम्पसार
चिहान भित्रको मुर्दा सरी
केवल आफ्नो मुटु खोज्दै ।
पाउँदैन कतैपनि आफ्नो मुटुको स्पर्श
पल्टिन्छ लम्पसार, चिहान भित्रको मुर्दा सरी ।
अनगिन्ती आशाहरु
कुरिरहेका छन् उसैगरी
सक्दैनन् भुल्न अतितका खास पल
चियाउँदै क्षितिजबाट
अदृश्य छायाँ टोलाइरहेछ
निभ्न लागेको दियोझैं
तर तयार छैन कोही, वर्तन थप्न
गिज्याउँछन् सबै, चिच्याहट सुनी,
र आनन्दले हाँस्छन् – उज्यालो दिंदै आफै जल्दै गरेको दियो हेर्दै ।
सुनसान रातको स्पर्शले रेटिरहन्छ,
पिल्सिएको घाउलाई
पिरोलिरहेको छ वेदनाले…।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )