~प्रेमा शाह~
सुन फुल्ने देशमा
एक टुक्रा घाम
छुनै डर लाग्ने
कोपिला घाम
वरीपरी फैलिएको
पातलो घाम
पछी पछी लाग्दा लाग्दै
कता हराउछ घाम
कस्तुरीको बास्ना झै
छोप्ला जस्तो घाम
सुघ्न खोज्छु तर भाग्छ
म्रिग जस्तै घाम
चिसोले थल्याउदा
शरीर र मन
तान्न खोज्छु पर देखी
कौसीको घाम
तताएको कोठा भित्र
चिसो चिसो ज्यान
घर अगाडि घर पछाडि
आँफै कठ्यङ्रिन्छ घाम
बन्द झ्याल बाहिर
एक टुक्रा घाम
कस्तो पापी बार्हैमास
हिउ बोक्ने घाम
नरित्तिने फ्रीज र टेबल
नचिसिने चुल्हो
गोजी भरी काम दाम
दरिद्र यो घाम
सम्झन्छु रित्तो थालभरी
हासेको घाम
हरे,
यहाँ रोटी भन्दा
कती महँगो घाम
मुठी भर्न पर्खेको
एक टुक्रा घाम
जिन्दगी संगै फुस्किरहन्छ
बेमानी घाम ।।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)