~कृष्णराज खनाल~
अब हामी सुन्न चाहान्नौँ
बन्दूकको नाद
तिमी ढाडमा चढेर
टाउकोमा नहान !
प्रिय प्रचण्ड,
तिमी अहिले शेरको काँधमा सवार छौ
ढलिमली गर
त्यसमाथि लगाम कस
उसलाई कुन्दा हान
यो ‘बहादुर’ छ
किनकि यो बुद्धु छ ।
वर्षौँ अघि उसैले त हो
तिमीहरुलाई उर्दी गर्या ‘टाउको झोलामा ल्याउ
र टाउकाको मूल्य लिएर जाउ’ भन्या
तिमीहरुले नै त हो
उसको सफायाका लागि बाटोमा बम फाल्या
सापोनापो बराबर !
भो, भयो अब ती
तीता विगतहरु बिर्सिउँ ।
तिमी अहिले उसैको सवारमा छौ,
उसैलाई कज्याएका छौ
त्यसैले त सिंहदरबारको कुर्सीमा छौ
जतिसक्छौ चढ
उसैसँग अनेक तरहका कु-सम्झौता गर
र गोसाईकुण्डमा गएर
सत्र हजार वन्धु हत्याको
पाप पखाल ।
दक्षिणका प्रभुसँग घाहा राख
उसको खुट्टा पूजन गर
तिम्रा थुनिएका अनेकौँ द्धारहरु
आफसे आफ खुल्नेछन् !
उसैले त हो तिम्लाई शेरको सवार दिएको !
कहिल्यै मिल्न नसक्ने तिमीहरुलाई
मिलाउने रसायनको पोको दिएको !
हामीलाई मिलाएपछि
हो, हारिरहेको देश फेरि हार्छ
हारिरहेका जनता फेरि हार्छन्
किनकि हामीलाई मिलाइदिने
दक्षिणको वादशाह
कहिले कस्लाई आशीर्वाद दिन्छ
कहिले कस्लाई श्राप दिन्छ
हामी हाम्रै कर्मको भोग ठानेर
स्वीकार गर्छौँ
त्यसैले त ऊ हाम्रै सानो फूलबारीमा
भदौरे राँगो बनेर डुक्रिरहेछ ।
हो, उसको आशीर्वाद पाएपछि
तिम्ले हेगको अदालतमा
वयान दिनु नि पर्दैन
उभिनु नि पर्दैन
किनकि सँगसँगै शेर ‘बहादुर‘ छ
उसैले तिमीलाई बोक्ने वचन दिएको छ ।
ऊ तिम्लाई अर्को सिट्ठी नबज्दासम्म बोक्न सक्छ
किनकि यो बुद्धु छ ।
प्रभुको आज्ञा शिरोपर गर्छ ।
यो जोसँग नि मिल्छ
कहिले राजासँग मिल्छ,
कहिले ओलीसँग मिल्छ,
कहिले तिमीसँग मिल्छ,
कहिले सूर्य–चन्दसँग मिल्छ
हो, उसको मिल्ने बानी छ
किनकि ऊ विपीको
सच्चा अनुयायी हो र त
मेलमिलापको नीति बोक्दै हिँड्छ !
प्रिय प्रचण्ड,
कुनै दिन कसैले
शक्तिखोरको हिसाबकिताब मागे भने,
तिमीले सुत्ने गरेको खाटको मूल्य मागे भने,
शेरको सवार अनुकुल भएन भने,
कटवालहरुले तिम्लाई टेरेनन् भने
तिमी दौडदै दौडदै
बालकोट जाउ
जहाँ तिम्रै सगोत्रीय भाइ
तिम्रै बाटो हेरिहेकाहुनेछन्
उनैको शरण पर
उनले तिम्रो मरण गर्ने छैनन्
किनकि उनी
तिम्रै सजातीय भाइ हुन्
उनैसँग फेरि सत्ताको चलखेल गर
र सिँहदरबार ओगटिराख ।
– गुणादी, तनहुँ
हाल : वोस्टन, अमेरिका ।
(स्रोत : ज्ञानगुन डट कम)