छन्द : उपजाति
हो छन्द बुझ्ने क्षमता भएन
बुझ्दै नबुझ्दा ममता भएन
सिकेर झट्टै पनि जानिएन…
गाह्रो हुनाले अनि मानिएन ।।
बुझेर भित्री जब मर्म सारा
लेख्ने ममा छैन कुनै इसारा
के छन्द कस्तो कसरी रचिन्छ
अज्ञानले छन्दविना बसिन्छ ।।
समाज हो इज्जत वा प्रतिष्ठा
खोजिन्छ पक्कै यसमै छ निष्ठा
कसो गरूँ छन्द ममा छ मन्द
उपाय बाँकी छ विरोध छन्द ।।
विरोधले छन्द नजान्न पाएँ
विरोधमै इज्जत मान पाएँ
जो छन्दवेत्ता तिनका कुरामा
वेला कुवेला म पुगेँ चुरामा ।।
‘ती छन्द हुन् केवल मन्द मन्द
विचारले शून्य विनासुगन्ध
आवृत्ति मात्रै लय शब्द छन्द’
बुझेर ज्ञानी बनिँदै छु मन्द ।।
निस्किन्छ आफै अब हैन छन्द
रचिन्छ राम्रो नभए नि छन्द
यस्तै छ आफ्नो हठ हेर मित्र
विरोध गर्दा तर दुख्छ भित्र ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
राम्रो लाग्यो पड्न पाउँदा ,मलाई पनि सिक्न मन छ।।