~लक्ष्मण गाम्नागे~
हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी
भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी ।
सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन्
केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।
अघि अघि ढोके छाते पछि लाउँछन् चम्चा
जन्ताले नै दिनुपर्ने सिँगान पुछ्ने गम्छा ।
काम गर्ने बेलामा चाहिँ जहिल्यै खट पट
हाम गर्ने बेलामा चाहिँ मिल्छन् झट पट ।
तलव, भत्ता, कमिशन र घुस पनि खाए
सम्विधान ल्याउँछु भन्थे अर्की आन्टी ल्याए ।
हाम्रा नेता अङ्कलको प्वाल परेको पेट
गोबर, गिट्टी, अलकत्रा, पचाइदिन्छ जेट ।
भूत हुन् कि भूतपूर्व हुन् छुट्याउनै गाह्रो
नाङ्ग््ै छन् कि लुगा ला’छन्, खुट्याउनै साह्रो ।
लुगा लाएर आउनू अङ्कल खेलौँ फेयर गेम्
नत्र भन्छु सेम् अङ्कल पप्पी पप्पी सेम् ।
सेम् सेम् नेता अङ्कल पप्पी पप्पी सेम्
सेम् सेम् पप्पी अङ्कल पप्पी पप्पी सेम् ।