~रोहित खतिवडा~
यादहरु
कहिले आउँछन् बिहानै सिरानीमा
सुस्तरी हटाएर झ्यालको पर्दा
र, पोखिन्छन् उमंग/उत्साह
कहिले आउँछन्
आँधी झैं आवेग लिएर
र, छोडिजान्छन् मनभरी पीडा र निराशा
यादहरु
समुद्रबाट फर्किआएका पानीका
बुँदहरु हुन्
जो तिम्रै घरछेउको नदीबाट
कुनै समय तिमीलाई छोएर
बगेका थिए
यादहरु
तिमीले प्रश्वास गरेका हावाका
झोंकाहरु हुन्
जो आउँछन् अतीतबाट
तिमीले हिडेको बाटो पछ्याउँदै
यादहरु
चिहानबाट बौरिएर आएका
पइतालाका डोबहरु
हुन् जसलाई कुनै समय तिमीले
बेवारिसे छोडेर हिडेका थियौ