~त्रिभुवनचन्द्र वाग्ले~
एक किसान
जो शब्दका खेती गथ्र्ये
चेतनाको बारीमा, हृदयको खेतमा
र विद्रोहको पानी पट्याउँथे खेतीमा
थाकेर जोत्दाजोत्दै कलमले
परिवर्तनको गीत गाउँदै–
पुगे एक भव्य स्मारक छेऊ
र पढ्दापढ्दै निदाए
गणतन्त्र स्मारकका शीलापत्र
कानमा चुहिएको माघलाई
मायालूको कोमल हृदय बनाएर
कविता लेखे
लेखिसकेर आकाश हेर्दा
थाह पाए,
अग्लो स्मारकको
बलेसी चुहिएको आफ्नै कानमा
झिकेर झोलाबाट
एकथान कविता पढे
एक ताउ गीत लेखे
र गणतन्त्र स्तम्भमा टाँसे
आफ्ना इच्छापत्र–
‘यी मेले लेख्ने\पढ्ने कागजहरू पिटेर
ए, दाजै मलाई न्यानो सिरक तगिदेऊ’
चिसिएको मुखबाट
उडेको वाफ\बादलमा
स्वतन्त्रताको चाँदी खोज्दै
हेरे, पूर्वतिर गहना पोखरी
र सम्झे प्रियतमालाई
अनि भने सजाइएको स्मारकको
एक चिम्टी अंश–बण्डा पाए
तिम्रा लागि फूली लिएर फर्कने थिएँ ।
आन्द्राका आन्दोलन दवाउन
फर्के, कमल पोखरी र
देखाए कृष्ण पाउरोटीको धुवाँ
र भने उहिल्यै उहिल्यै मानिसले
पाउरोटी खान्थे
आजकल रोटीले मानिस खान थालेका छन्
र, मानिस रोटीको लिसोमा फसेर
बाक्साभरि घर फर्कन्छन्
अरबियन खाडीबाट
हेरेर हत्केलाको ठेला
स्मारकको गजुरमा आँखा पु¥याउँदा
देखे, घमण्डले उठेका इतिहास
र आँगनमा इटा र सिमेन्टको
पश्चाताप–नारा सुनिरहेका थिए, कवि
‘हामी इटालाई कुल्चेर
तिमी उठ्यौ स्मारकको उचाइमा ।’
२०७२ कत्तिक ५ गते
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )