~गोपालप्रसाद पौडेल~
मान्छे आज शिथिल छ,
समय र परिस्थितिसंग जुध्दा जुध्दा,
भोक र रोगसँग सिँगौरी खेल्दा खेल्दा,
आँफैभित्रको म सँग पनि ठुलो
हारको सामना गर्नुपरेर
मान्छे आज शिथिल छ
हृवाँ नेपालमा ।
स्वयम्भूको चैत्य अगाडि नतमस्तक भएर
उभिए पनि,
सयौँ मानेहरु घुमाई घुमाई वुद्ध संझे पनि,
एक सय आठ माला जपेपनि,
शान्तिको अलिकति पनि महसुस गर्न नसकेर,
मान्छे आज शिथिल छ
हृवाँ नेपालमा ।
कुनै समय अनगिन्ति आशा पालेर
बाँच्न सिकिरहेकाहरु,
दुइ छाक टन्न खाएर निदाउन पाइरहेकाहरु,
आज शान्तिको त्यान्द्रो कामनामा
आफ्नो र्सवस्व खोजिरहेछन्,
आधा पेट त परको कुरा
जुठो मुख गर्न पाएर निधाउने
रहर जागेको छ,
मान्छे आज शिथिल छ
हृवाँ नेपालमा ।
कुनै वेला आफ्नो पाखुराको गौरव गर्नेहरु,
जीवनको प्रत्यक क्षणमा
संगम चोक र साहित्य खोज्नेहरु,
घोकाइएका सिद्धान्तमा अडिक भएर
जंगलवादको बन्दुक बोक्नेहरु,
आज भविष्यकै खानीमा भविष्य सिला खोजिरहेछन्,
अस्तित्व विदेशिरहेका छन्,
शुन्दर ग्राम र नगरीहरु युवा विहीन अनि
स्रष्टाविहीन भएर क्रमस रित्तिँदैछन्,
आँफैभित्रको आशा र विश्वासको गृहयुद्धमा
न हार न जित पाएर,
मान्छे आज शिथिल छ
हृवाँ नेपालमा ।
मान्छे आज शिथिल छ,
एक आपसमा मिलेर बस्न नसकेर,
एक आपसकै भावना बुझ्न नसकेर,
मान्छेले मान्छेलाई चिन्न नसकेर,
साँच्चै भन्नुपर्दा
मान्छेभित्र मान्छे नपाएर,
उफ……..
मान्छे आज शिथिल छ
हृवाँ नेपालमा ।
गोपालप्रसाद पौडेल
कपन १, काठमाण्डौँ
कपन साहित्य समाज
2007-03-11