~शिवराज पन्थी~
यतिबेला हाम्रो सपना ध्वस्त पार्न
कायरहरू पैंठेजोरी खेल्दैछन्
छातीमाथि सेफ्टी बुटले दह्रोसँग कुल्चिँदै
ग्लास, मास्क र हेलमेट लगाएर
गला च्याप्ने दुस्प्रयासमा
अचानो बनाएर हामीलाई
उल्टो धारमा घाँटी रेट्ने प्रयासमा
अभिमानी बुद्धिविलासवादीहरू
चलायमान हुँदैछन् ।
राता÷सेता बंगलामा उपखुट्टी लगाएर
चुकुल लगाइएको कोठाभित्र बसी
कोरा आदर्श छाँट्दै छन्
वर्ग, कित्ता र हैसियत फरक भएका मान्छेहरू
औकात देखाउँदै नांगिएर
ढाल्दैछन् आराले आफैलाई
कालीदासले जस्तै बन्चरो प्रहार गर्दै
ढल्दैछन् रूखसँगै आफै धर्तीमा
विवेकहीन अर्धमान्छेहरू
कायर बुद्धिविलासका चिन्तनहरू
मपाइवादका साँघुरा र पूर्वाग्रही चित्तहरू
ठालू मानसिकताको पराकाष्ठमै लिप्तहरू
पद प्रतिष्ठाका महत्वकांक्षीहरू
अर्काको अभिभावकत्व अस्वीकार गर्दैछन्
सफलता र असफलतालाई परिपूरक नसम्झेर
जन्मनु र मर्नुलाई नियम नठानेर
निषेधको निषेध नियमलाई उछिनेर
द्वन्द्वमा हाम फाल्दैछन्
चुकुल लगाएको कोठाभित्रबाट
मान मर्दनको राग अलाप्दैछन्
प्रगतिवादको खाग बेच्नलाई
स्तुतिगान गाउँछन् प्रतिगमनको
इतिहासको जगलाई अवमूल्यन गर्दै
अँध्यारैबाट इतिहास रच्न
बुद्धिजीवी बुद्धुहरूका बुद्धिले
देश, इतिहास र हामी समेतलाई
कविस्तानमा पुर्ने दुस्प्रयास गर्दैछन्
त्यसैले,
सपनाहरू सजाउँदैछौं मित्र
लछप्पै सजाउने छौं
भोक प्यास मेटाउने गरी सजाउने छौं
निदाएको जमात व्यूँताउने गरी सजाउने छौं
चुकुल लगाइएको कोठाको
अप्रेसन हुने गरी सजाउने छौं
दुश्मनको किल्ला भत्काउने गरी सजाउने छौं
बुद्धुहरूको बुद्धिमा काल पर्यान्तसम्म
दिग्दीगन्तसम्म ढ्यांग्रो ढोक्ने गरी
सजाइरहने छौं सपना
– दाङ देउखुरी
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १० – Jan. 11, 2012 – २०६८ पौष २७ गते, बुधबार)