~निर्मोही व्यास~
पसेछु म विनापत्तो आयुको उत्तरार्धमा
यही सङ्केत गर्दै छ जिन्दगीले जहाँतहाँ
चौँसट्ठी वर्षको लामो यात्रा मैले तुरीसकेँ
यत्रो अवधिमा जे–जे सकेँ कर्म गरीसकेँ
सम्झिँदा आज ती सारा चल्छ अत्यासको हुरी
साथसाथै छचल्किन्छ तृप्तिको रस–माधुरी
जति हेरूँ, अझै हेरूँ लाग्छ सृष्टि मनोहर
झनै तृप्ति, झनै तृष्णा धन्य जीवन–निर्झर !
म अझै ज्यून चाहन्छु, भोग्न चाहन्छु विश्व यो
सृष्टिको मोहनी–मात अझै चाहन्छु प्यून यो
मलाई सृष्टि यो झन्झन् लाग्छ लोभ्याइलो किन ?
संसार मुक्तिको बेला झन् प्यारो किन बन्धन ?
आउने जति जान्छन् नै को बसीराख्न पाउँछ ?
भोलि वा पर्सि होस् पालो कुनै दिन त आउँछ
नबुझेको कहाँ हो र ? नबुझ्ने के कुरै छ र ?
न हो बुझ पचाएको, त्यसैले छैन धर्मर ?
कसैको कुभलो मैले कहिले पनि सोचिन
न कुकर्म गरेँ मैले जानी–जानी कुनै दिन
दैनन्दिन गृहस्थीको गाडा आफ्नो गुडाउँदै
जिऊँ वाङ्मय–सेवामा झन् बढी म रमाउँदै
प्रेमले हुन्छ जे, हुन्छ त्यो कहाँ प्रतिशोधले ?
बन्छ सम्मतिले काम कहाँ बन्छ विरोधले ?
भेटिन्छ गतिले लक्ष्य, भेटिन्न गतिरोधले
हुन्छ मान्छे कहाँ मान्छे विनादायित्वबोधले ?
जसले ठान्छ मेरो हो, दायित्व उसकै त हो
त्यो मान्छे पनि के मान्छे, भाग्छ दायित्वबाट जो
दायित्व नै त मान्छेको हो अस्तित्व विधायक
दायित्व नै त मान्छेको व्यक्तित्व–परिचायक
गाऊँ सृजनको गीत, गाऊँ, गाईरहूँ सधैँ
यो प्यारो सृष्टिका साथ प्रीत लाईरहूँ सधैँ
सुदीर्घ आयु बाँचूँ म बोकी दायित्व काँधमा
नटुटोस् कहिल्यै मेरो प्यारो ‘दायित्व–बन्धन’
(स्रोत : ‘युगज्योति’ पूर्णाङ्क— १, साउन २०७३)
