~नवीन अनुपम रावत~
तिम्रो र मेरो भेट नभएको पनि
बर्षौं बितेछ । आजकै दिन पोहोर सालको
भ्यालेन्टाइनमा हामी पहिलोपटक भेटेका थियौं
हेर त म एक बर्ष पुरानो भएर
फेरि तिमी समक्ष यी खाली हात लिएर
हाजिर भएको छु ।
हुन त तिमीले मलाई बिर्स्यौं होला
तर मैले तिमीलाई भूल्न सकेको छैन
किनकी तिमीले मेरी ठुली र म बीचको सम्बन्ध प्रगाढ
बनाईदिएका थियौं, अझ भनौं उनी र म अहिले माछा र
पानी जसरी बाँचिरहेका छौं ।
यसको सुखद उपलक्ष्यमा मैले तिमीलाई फूलमाला र अवीर
उपहार ल्याएर आउनु पर्थ्यो ।
तर बिसस्ता हेर त फेरि म तिम्रै घाँटी चिमोठ्न पुगेको छु
तिम्रो दैले सम्म यी हत्यारा हातहरू लिएर ।
प्रिय गुलाफ तिमी महान छौं ।
आफ्नो ज्यानको बलिदान दिएर
करोडौं यी हत्यारा प्रेमीहरूको मन खुशी
बनाई रहेका छौं । यसको वदलामा तिमीले के पाउछौं
सिर्फ मृत्यु ।
तिम्रो हत्या गरेर यहाँ करोडौं हुल जोडी चखेवा चखेवी
रमाई रहेका छन् ।
प्रिय गुलाफ
हुन त तिम्ले सेक्युरिटी गार्डको रूपमा
लाखौं काँडाहरू पालेका छौं तर पनि
यी करोडौं चखेवा हरूले तिम्रो घाँटी
निमोठेर आफ्नो घर बसाइँ रहेका छन् यसमा
म स्वयं लज्जित छु ।
मैले पनि तिम्रै एक सन्तानको हत्या गरेर
रमाइ रहेको छु ।
प्रिय गुलाफ माफ गर मैले
तिम्रो अस्तित्व बचाउन सकिनँ
तिम्रा आँसु पुछ्न सकिनँ
तिम्रा पीडा भुलाउन सकिनँ ।
कमलबजार अछाम [हाल: काठमाडौं]