कविता : गोविन्द केसी तिमी याद आउनेछौ

~अनुप जोशी~

गोविन्द केसी मृत्युशैयामा हाम्रो स्वास्थ्यको लागि लडिरहँदा
हामी ‘माइली साइरस’ र ‘निक्की मिनाज’का नग्न गीतहरुमा हराइरहेका छौं
तर एकदिन यस्तो त दिन आउनेछ
जब हाम्रो मगजमा गोविन्द केसीमात्रै याद आउनेछन्

जब पैसा नभएर ज्यूँदो लास अस्पतालको ढोकाबाट फर्कनेछ
गोविन्द केसी
तिमी याद आउनेछौ

जब सानो अपरेसन गर्दा आफन्तको अकालमै ज्यान जानेछ
सर्पजस्ता नक्कली डाक्टरहरुले विरामीलाई डस्नेछन्
जब १० गुणा चर्को मूल्यमा औषधि किन्दा गाउँको खेत बन्दकी राख्नुपर्नेछ
गोविन्द केसी
तिमी याद आउनेछौ

म अकमक्क पर्छु-
यो अस्पताल हो कि बधशाला
जहाँ विरामीलाई पशुवत व्यवहार गरिन्छ
प्रत्येकपल्ट अस्पतालको कुटिल दृश्य देख्दा
गोविन्द केसी – तिमी याद आउनेछौ

यो देशमा रक्सी भट्टीभन्दा धेरै मेडिकल कलेजहरु खुल्न तयार छन्
तर जब मेधावी विद्यार्थीले करोडको अभावमा कुनैमा पनि भर्ना पाउंदैन
तब गोविन्द केसी तिमी याद आउनेछौ

यहाँ सत्यलाई कुल्चिरहेछन् सासकहरु
चम्किला दीपहरुलाई धमाधम निभाईरहेछन् उनीहरु
ताकी अध्यारोमा मनपरी गर्न सकियोस्

अहिले गोविन्द केसी मृत्युशैयामा छन्
तर कुनै दिन त हामी आफैं पनि त्यहिँ पुर्याइने छौं
त्यतिबेला- गोविन्द केसी तिमी याद आउनेछौ

तर तिमीलाई याद गरेर पछुताउनुपूर्व नै
तिमीलाई निभ्न नदिनु छ
तिम्रो चमकलाई बचाईराख्नु छ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.