~वैद्यनाथ ठाकुर~
जनतालाई जे चाहिन्छ लेओस्
हामीतिर चोर औंला नउठाओस्
विकृति विस·ति फुलोस फलोस्
शहीदको सपना सबले भुलोस्
नारा क्रान्तिकारी, काम जनतामारा
देशभन्दा पनि पद, पैसा प्यारा
हामीलाई चाहिन्छ बलिदानको भत्ता
किनभने हामी सप्रेको नेता ।
मेची दुख्छ, महाकाली दुख्छ
दुख्छ महेशपुर सुस्ता
महँगी बेरोजगारले सीमा नाघ्यो
मरिरहेछ जनता
यी सब कुराले हामीलाई छुन्न
हामीलाई चाहिन्छ सत्ता
किनभने हामी सप्रेको नेता ।
कोही भाइ काङ्ग्रेस, कोही भाइ एमाले
कोही छौं मधेसवादी
कुर्सीको खेलमा रमाइरहन्छौं
हामी हौं खाओवादी
साम्प्रदायिक आगो लगाउने
बाड्दैछौं सबलाई फित्ता
किनभने हामी सप्रेको नेता ।
हिजो के थियो, आज के छ ?
भोलि के हुनेछ ?
गुलियो भाषण, चर्को नारा
सधैं दोहोरिरहने छ
जनमुक्तिको होइन
आफ्नै बूढीको गर्नुपर्छ चिन्ता
किनभने हामी सप्रेको नेता ।
नयाँ–नयाँ शब्दावली नयाँ व्याख्या गर्छु
शब्दजालमा फसाएर आफ्नै भूडी भर्छु
क्रान्तिको होइन भ्रष्टहरूको
बन्दैछौं हामी पिता
किनभने हामी सप्रेको नेता ।
नयाँ नेपाल भन्दै गर्छु पुरानो छोड्दिनँ
सामन्तिको दार्हा, नङ्ग्रा अब उखेल्दिनँ
क्रान्ति गर्छौ माक्र्सवाद होइन
पढेर रामायण गीता
किनभने हामी सप्रेको नेता ।
– वैद्यनाथ ठाकुर, प्रगतिनगर, वीरगंज– ३
(स्रोत : प्रतीक दैनिक पत्रिका)