कविता : लाटो पहाड

~घिमिरे युवराज ‘कर्जुना’~

यो पहाड साह्रै छुच्चो छ
हुनेखानेहरुको लागि यहाँ जति आनन्द छ
कामगरी खानेहरुको लागि यो जिन्दगी
पेरुङ्गेको चेपबाट हिंडे जस्तै हो ।
मजदूरी गरी खाने कयौं आदाङ्बेहरु साहुको भारी बोकेर मधेस झर्छन्
कति मुग्लान पस्छन् ।
बाँच्ने उपार्जनका लागि
सधैँ घरदेखि टाढा रहने यी सबै आदाङ्बेका स्वास्नीहरुको जिन्दगी
रमिते डाँडा जस्तो भएर एकै ठाउँमा बसिरहन्छ
घाँसदाउरा, चुलोचौका, नानीथाङ्ना ।
यो भरिया जिन्दगी
लब्सी बोटे, हिउँखोला, टोड्केकुसुण्डे, एकपाइले वरिपरि घुमि बस्छ ।
सिङ्नाप ताङ्बाको ठुलो भारी र रिणले थिचेको जिन्दगी
कहिले कुन भिरबाट खस्छ पत्तै हुँदैन ।
हामी तिनै आदाङ्बेहरुका ज्यान कुरी बस्ने स्वास्नी मान्छेहरु
कतिखेर विधवा हुन्छौँ ठेगान छैन
कोसेलीको आशमा बसेका यी बालखहरु अचानक टुहुरा हुन्छन् ।

मनमायाको स्कुल जाने सपना त्यसै भत्कियो
यो कोक्माको काखमा ऊ पनि
म जस्तै स्वास्नीमान्छे हुने यात्रामा निस्केको छ ।

(आदरणीय उपेन्द्र सुब्बाका दुई कथा प्रभु माइला र मनमायामा आधारित नाटक ‘लाटो पहाड’को लागि लेखिएको कबिता । यो नाटकलाई किरण चम्लिङ राईले निर्देशन गरेका हुन् ।)

JULY 19, 2015

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.