~भेषराज रिजाल~
एकदिन
विकट गाउँको कुनै बस्तीमा
घुमफिर गर्दै थिएँ
एकाएक कविता फुर्यो
कलम त गोजीमै रहेछ
तर, कागज भेटिएन
हिजोको पानीले भिजेर
फुकालेका कपडामा
प्रेमपत्रका टुक्राटुक्री थिए कि कुन्नि !
तर, अहिले म निर्जर चउरमा थिएँ !
मनको तिव्रतालाई रोक्न नसकेर
चउर छेउको बर्खे गोठ चिहाएँ
गोठको दलान भित्ताहरू नियालेँ
चाउचाउका खाली खोल
चुरोटका ठुटा
बियरका खाली सिसी
झुत्रा कपडा यत्रतत्र
पातीको बारमा घुसारेको प्लास्टिकमा
औषधिका गोली
अगेना पल्तिर एउटा कोपरा, …
मलाई अरु हेर्न धेरै मन लागेन
त्यो गोठको दरित्रताले
निर्वाहमा बाँचेको
मानव अस्तित्वको धमिलो सम्झनाले
भित्रभित्र चिमोट्न थाल्यो
कविता लेख्ने मन पनि मर्दै जानथाल्यो
यहाँ को बस्थे होलान् ?
अहिले कहाँ गए होलान् ?
के गरेर निर्वाह बाँचेका होलान् ?
मन घोचिरह्यो ।
म पाकेर कवितादेखि
म थाकेर आफैदेखि
आँखा उचालेर पारिपारि हेरेँ
धौलागिरि अन्नपूर्णा सफेद टल्किएका
नीलगिरिको कालो भित्तो पनि
आँखै अगाडि
सक्ने भए—
म तिनीहरूकै छातीभरि
कविता लेखिदिन्थेँ
कागज नभएर के थियो त
रगतको मसीले
शहिदहो रगतको खोलो बगेकै छ
त्यही रातो रगतले
युगौँ नमेटिने अक्षरमा
यो एकलास गोठको
दरिद्रताको कारुणिक कथा लेखिदिन्थेँ
बेचिएका कोशी गण्डकी फर्काएर
कर्णाली र महाकाली उल्ट्याएर
पखाले पनि
देशको वर्षौँको बजेट लगाएर
धोए पनि
नमेटिने गरी कविता लेखिदिन्थेँ
तर म अहिले—
थकित भएर पछारिएको छु
गोजीको कलम पनि
रगत बमन गरेर
मसँगै लडिरहेछ !
उत्तानो पल्टेर जसोतसो हेर्दा
दलानमा एक टुक्रा कागज देखेँ
मरिसकेको उत्साहलाई व्युँताएर
केही लेख्ने अठोठका साथ
कागज टक्टक्याएँ
त्यो त—
मुग्लानबाट बिर्खेले
बाजेलाई लेखेको चिठ्ठी रहेछ
कारखानामा काम गर्दागर्दै
हातखुट्टा काटिएर
साहुको ऋण सम्झी झन् छटपटिएर
जेलबाट पोखेको व्यथा रहेछ
म मुर्छा परेँ !
त्यही व्यथाले थलिएर
अन्तिम याचना बिसाउँदैछु—
कसैले बिर्खे र बूढा बाजेको कथा लेखेर
बस्ती बस्ती पठाइदिएहुन्थ्यो
पहिल्यै बितिसकेको छोरो र मुग्लानमा अर्धमृत नाति सम्झेर
अधमरो भएका बाजेका लागि
एउटा उपाय लेखिदिएहुन्थ्यो
कवितामा यो निर्जन चउर र एकलास गोठ पनि
कोरिदिएहुन्थ्यो
यही छ मेरो कविताको आराधना
यही छ आजका कविहरूसँग मेरो प्रार्थना !
रचना काल र स्थान : २०५८÷०८÷११, शिख, म्याग्दी
प्रकाशित : देश सधैँ रुने छैन, कविता सङ्ग्रह, २०५९
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )