कथा : अन्तिम पुरस्कार

~सीमा आभास~seema avas

यो हिउँदका अन्तिम दिनहरूमा दिदी–भिनाजु खूबै घुम्नु भो। दिदीले बच्चालाई दूध छुटाएपछि निकै सजिलो भएको हो घुम्नलाई। भिनाजुकै करले हो दिदीले अठार महीनामै बाबुलाई दूध छुटाएको। दूध छुटाएसँगै ओछ्यान पनि छुटाउनुभयो। राति घरीघरी दिदी मेरो कोठामा आएर नानीबाबुलाई सुम्सुम्याउनुहुन्थ्यो। एकछिन बच्चाहरूसँग सुतेपछि भन्नुहुन्थ्यो, “भिनाजु उठ्ने बेला भयो, म गएँ है।”

दिदी–भिनाजुको प्रेम देखेर म अचम्ममा पर्थें। मलाई मेरो लोग्नेले कुट्न सिवाय केही जानेन। मेरो बच्चा खेर गएको अघिल्लो रात कोदो झैं कुटेको थियो। मलाई त लोग्नेले माया गर्छ भन्ने पत्यारै लाग्दैन। मैले लोग्नेबाट न माया पाएँ न इज्जत। मेरा बाउले पनि आमालाई माया गरेको देखिनँ। तर यहाँ अचम्मै देखें। त्यति माया गर्ने लोग्ने कसले पाउला? स्वास्नीले लोग्नेको माया पाउनु त अघिल्लै जन्मको तपस्या हुनुपर्छ।

मैले टेस्ट पास गरेकी भए पनि बाध्यताले अर्काकोमा काम गर्ने बनायो। तर शिक्षित र सभ्य परिवार भएकाले मलाई सजिलो छ यहाँ काम गर्न। मलाई इज्जत र विश्वास गर्छन्, त्यसैले खुशी छु।

म भान्सामा काम गर्दै थिएँ। सधैंझैं दिदी–भिनाजु बिहान घुमेर आउनुभएको थियो। बगैंचाको बेन्चमा उहाँहरूको संवाद मैले भान्साबाटै सुनें।

“अब तिमीलाई साह्रै गाह्रो भ’को महसूस मैले गरेको छु। बस्न घर छ, खान मैले कमा’कोले पुग्छ। तिम्रो नाममा ब्यांक ब्यालेन्स पनि राम्रै छ। जागीर छोडिदेऊ।”
दिदी केही बोल्नुभएन। मलाई मेरो जमीन हल्लिएझैं लाग्यो। मुटु ढुक्ढुक गर्‍यो। केहीछिन सुनसान भो। मैले चलाएका भाँडाको खन्द्र्‍याङ्ग मन्द्र्‍याङ्ग मात्र थियो। मलाई यो आवाज पनि अनौठो लाग्यो।

मैले बिहानको काम सकिसकेकी थिएँ। दिदी–भिनाजु कोठाबाट निस्कनुभएन। खाना खान बोलाउने चलन छैन। उहाँहरू कुन बेला निस्कनुहुन्छ भनेर म पर्खन्छु मात्र। नानीलाई स्कूल र बाबुलाई मन्टेसरी पठाइसकेकी थिएँ।

दलिनमा परेवाहरू घुरिरहेका छन्। परेवाहरूको खेल हेर्न मलाई खूबै मनपर्छ। अझ् परेवाले चुच्चो जोडेको रमाइलो लाग्छ। मान्छे पनि परेवाजस्तो हुनु नि! एकअर्कालाई गाली नगर्ने, नपिट्ने, माया मात्र गर्ने!

मध्याह्नतिर उहाँहरू कोठाबाट निस्कनुभो। दिदीको मुद्रा अलिक भिन्न थियो।

“आज खाना नखाने। भरे आउन ढिला हुन्छ। नानीहरूलाई राम्ररी हेर्नु”, दिदीले अह्राउनु भो।

दिदीको अनुहार अलिअलि मात्र पनि मलिन भो भने भिनाजु के गरेर हुन्छ, हँसाइहाल्नु हुन्छ। खुशी राख्न हरदम कोशिश गर्नुहुन्छ। सधैंझैं जोक बनाएर दिदीलाई हँसाउनु भो। एकअर्कासँग बेरिंदै दिदी–भिनाजु घरबाट बाहिरिनुभो।

मेरो मन उदास हुँदा परेवालाई हेरेर चित्त बुझाउँछु। फुरुङ्ग हुँदा पनि परेवालाई हेरेर चित्त बुझ्उँछु। यसबेला न म उदास छु, न फुरुङ्ग। तर परेवा घुरेको हेरिरहेकी छु।

ठूलो साँझ् परेपछि मात्र दिदी–भिनाजु फिर्नु भो। दिदी मक्ख देखिनुहुन्थ्यो। म भान्सामा काम गर्दै थिएँ, सोध्नुभो, “हेर त म कस्ती देखिएँ?”

हीराका टप थिए कानमा। हातमा हीराकै औंठी थियो। नराम्रो हुने त कुरै भएन। बूढीऔंलो र चोरऔंलो जोडेर पारेको प्वालबाट ‘राम्रो छ’ को संकेत गरें।

“नयाँ वर्षलाई भिनाजुले किनिदिनु भ’को”, दिदीले फुर्किंदै भन्नुभो।

“जागीर छोड्नु भ’को हो दिदी?” प्रसंग मोडेर मैले सोधें।

“राजीनामा दिइसकें”, उहाँले सामान्य तरीकाले भन्नु भो। जागीर खान मान्छे ज्यान फाल्छन्। यस्तो राम्रो जागीर दिदीले किन छोड्नु भ’को होला भन्ने लाग्यो। तर केही भनिनँ।

दिदीले जागीर छोडेपछि भिनाजुले पनि एक महीनाको बिदा लिनु भो। हिंड्ने बेलामा दिदीले भन्नु भ’को थ्यो, “तँ भएपछि नानीबाबुको मलाई केही पीर छैन। हामी एक महीनाको लागि अलइन्डिया टुरमा जान्छौं। राम्ररी बसेस्।”

दिदी–भिनाजु घुम्न जाँदा मलाई खूबै खुशी लाग्थ्यो, तर यसपालि खै किन हो खुशी हुन सकिनँ।

हिउँदे दिनहरू बित्दै थिए। नानीबाबुसँग घुम्न निस्कन्थें। उनीहरूका कलिला अनुहारमा हेर्थें। कहिले आनन्द हुन्थ्यो, कहिले सकस। त्यति धेरै घुम्ने दिदी–भिनाजु कहिल्यै नानीहरूलाई लैजानुहुन्नथ्यो।

दिनैपिच्छे जसो फोन गर्ने दिदीले यसपालि ६ दिनपछि मात्र सम्झ्नुभो। नानीबाबु दुवैसँग पालैपालो बोल्नुभो अनि मलाई भन्नुभो, “हाम्रो बसाइ अझ्ै एक महीना लम्बिने भो। बच्चाहरूलाई राम्ररी हेर्नु।”

घर सफा गर्नु, नानीबाबुलाई स्कूल लैजानु–ल्याउनु, उनीहरूसँग रमाउनु, अल्छी नलाग्दा कहानीका किताब पढ्नु मेरो दैनिकी थियो।

फूलका बोटहरूबाट साँझ् झ्रिसकेको थियो। गुलाबका थुङ्गाहरू ओइलिएका थिए। मैले पानी हालें। नानीबाबु ती फूलका बोटनेर उभिएर यो कुन फूल हो? किन फुल्छ? कसरी फुल्छ? भन्दै जवाफ दिन नसक्ने प्रश्नहरू गरिरहेका थिए। हरेक प्रश्नको जवाफ दिने कोशिश गर्दागर्दे म थाक्थें।

झ्न्डै डेढ महीना बितिसकेको थियो। फूलको बोट छेउमा टुप्लुक्क दिदी–भिनाजु देखापर्नु भो, बिना खबर। नानीबाबु एकछिन अक्कमक्क परे। अनि ‘मामु आउनुभो, बाबा आउनुभो’ भन्दै खुशीले उफ्रन थाले। दिदीको अनुहारमा नानीबाबुसँग भेट्दाको खुशीभन्दा दर्दको छायाँ बढ्ता देखिन्थ्यो।

भिनाजुले कोठा खोल्ने इशारा गर्नुभो। मैले हतार गर्दै कोठा खोलेर ओछ्यान टक्टक्याएँ। दिदीलाई बिस्तारै हातको अडेसा लगाएर खाटमा सुताउनु भो भिनाजुले। दिदी आँखा चिम्लेर ढल्नु भो। नानीबाबुको हात विस्तारै सुम्सुम्याउनु भो, बोल्नु भएन। नानीबाबु दुवैको हातमा चुम्बन गर्नु भो, तर आँखाले हेर्नु भएन। नानीबाबु आमाको जीउमाथि ढलुँलाझैं गर्दै थिए, भिनाजुले अलिक कडा स्वरमा भन्नुभो, “मामुलाई सुत्न दे’ओ, सन्चो छैन।” उनीहरूले बाबाको अगाडि आमाको काखमा हामफाल्न सकेनन्। केही छिनपछि भिनाजुले दुवै छोराछोरीलाई काखमा लिएर कपाल सुम्सुम्याउँदै माया गर्नुभो, तर दुवैको आँखाको कुनामा बाबासँगको डर देखिन्थ्यो।

नानीबाबु सुतिसकेका थिए। म उनीहरूसँग सुतेकी त थिएँ तर निदाएकी थिइनँ। बतास पनि रुखोसँग चलेझ्ं भएको थियो। एम्बुलेन्सको हर्नले मेरो एकान्तलाई चिर्‍यो। हाम्रै घरको गेटमा आएर एम्बुलेन्स अडियो। म हतार गर्दै उठें। भिनाजु गेटमा पुगिसक्नु भ’को र’छ। दिदीको अनुहार शिथिल थियो। भिनाजुले बेर नगरी दिदीलाई एम्बुलेन्समा राख्नुभो। दर्द मिश्रित आँखाले ‘छोराछोरीलाई ख्याल गर्नु’ भनेझैं गर्दै दिदी जानुभो।

खाना लिएर म अस्पताल पुग्दा बिहानको एघार बजिसकेको थियो। दिदीको बोलीमा शिथिलता थियो। भिनाजुका काखमा टाउको राखेर भन्दै हुनुहुन्थ्यो, “हजुरको मायाले म पग्लिएकी छु। प्रेमको रापले म सग्लो उभिन नसक्ने भएँ। हजुरले दिए जति माया म हजुरलाई अर्को जुनीमा पनि दिन सक्तिनँ होला।”

भिनाजु आँखाभरि आँसु पारेर दिदीको कपाल मुसारिरहनुभएको थियो। दिदीका आँखामा अट्टहास देखिन्थ्यो। त्यो केको अट्टहास थियो?

दिदीलाई भेन्टिलेटरमा राखेको २८ दिन बितिसकेको थियो। पुस आठ गते दिदीको जन्मदिन। यही दिनमा दिदीलाई विशेष उपहार दिने तयारीमा हुनुहुँदोरहेछ भिनाजु।

अस्पतालमा भिनाजुलाई सान्त्वना दिन आउनेहरूको संवाद सुनें– “यस्तो सफल व्यापारीले कति राम्रो पुस्तक लेख्न सकेको?”

“जम्मा बाइस दिन मात्र लागेको रे लेख्न।”

“के छ यसमा?”

“भाउजुले कलेजो दान दिएको था’ छैन?”

“त्यो त था’छ। तर एक्कासी यस्तो सारो कसरी हुनुभो?”

“उहाँलाई जण्डिसले गाँजेछ।”

“निहुँ र काल जोडिएको” अर्कोले थप्यो।

“कलेजो दाता भाउजूको नाममा पाँच करोडको अक्षय कोषसहित प्रतिष्ठान बन्न लागेको छ। अरू के चाहियो त?” अर्को भद्रले भने।

म रन्थनिएँ।

केहीछिनमै सेतो कपडाले छोपेर दिदीलाई बाहिर निकाले। म पनि मान्छेको भीडतिर लागें। सेतो कपडालाई विस्तारै हटाएर भिनाजुले दिदीको निधारमा सिन्दुर, माला र लगनको पोते पनि लगाइदिनुभो। बिहेको बाहिरी सारी लगाइदिएर बेहुलीजस्तो बनाए दिदीलाई। गहना भने सबै निकालिएका थिए।

दिदीका ओठ नीला र आँखा बाँधिएका थिए। अनुहारको सेतो कपडा पन्छाएर दुई मिनेटजति दिदीको महानताबारे बोल्नुभो भिनाजुले। उहाँको नामको अक्षयकोष र प्रतिष्ठानबारे जानकारी दिनुभो। अन्त्यमा र्‍यापिङ्ग पेपरबाट दिदीका नामको पुस्तक निकालेर उहाँकै छातीमाथि राखिदिनुभो।

दिदीले अन्तिम पुरस्कार थाप्नुभो।

पुस्तकको आवरणमा दिदी रंगीन मुस्कुराइरहनुभएको थियो। दिदीको खटलाई अघि लगाएर मलामीको भीड पछि लाग्यो। म उभिरहें नानीबाबुको हात समातेर।

यो कथा भनिरहँदा म दिदी–भिनाजुले मंगलबारको दिन पारेर आँगनमा रोपेको रातो गुलाबको बोटनेर छु। पण्डितजीले भनेका थिए रे, “उत्तर दिशाबाट माटो ल्याएर दुई बोट गुलाब एकैजस्तो बनाएर सँगै रोप्नु, प्रेम अझै प्रगाढ हुन्छ।”

दिदीको आत्मा यो गुलाबको फूलमा छ कि काँडामा? कि यसको जराबाट उम्रनै बाँकी छ, प्रेम समर्पण!

(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.