~विश्वविमोहन श्रेष्ठ~
यसपटक संयुक्त राज्य अमेरिकाको भर्जिनियामा यही जुलाई १, २ र ३ मा भएको एएनए को २९औँ वाषिर्क सम्मेलनको अवसरमा आयोजित तीनदिने साहित्यिक महोत्सवमा नेपालबाट सहभागी हुन पाउँदा धेरै नयाँ कुराहरू जान्ने, हेर्ने र बुझ्ने अवसर पाइयो । विशेषगरी अमेरिकामा बसोवास गरिरहेका नेपाली समुदायका बीच मातृभूमिप्रतिको अगाध स्नेह र भाषा, साहित्य तथा संस्कृतिप्रतिको अटुट आस्था देख्दा मन रोमाञ्चित भएर आयोे । नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित उक्त महोत्सव सम्पन्न भएपछि डायस्पोरामा नेपाली भाषा र साहित्यको भविष्य उज्ज्वल रहेको कुरा सजिलै आँक्न सकिन्थ्यो ।
जुलाई १ तारिखको दिन बिहान ९ बजे अमेरिकाका लागि नेपालका राजदूतले डा. शङ्कर शर्माले संयुक्त राज्य अमेरिकाको भर्जिनियाको वेस्टफिल्डस्थित म्यारियट होटेलको हृयामिल्टन हलमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी एएनएको वाषिर्क सम्मेलन विधिवत रूपमा उद्घाटन गर्नुभएपछि त्यसको लगत्तै सोही होटेलको आदम्स हलमा ११ः३० बजे नेपाली साहित्य प्रतिष्ठानद्वारा आयोजित नेपाली साहित्यिक कृतिहरूको पुस्तक प्रदर्शनीको पनि समुद्घाटन गर्नुभएको थियो ।
सोही दिन अपराहृन ४ बजे सोही होटेलको लिङ्कन हलमा त्रिदिवसीय साहित्यिक महोत्सव विधिवत प्रारम्भ भयो । नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजना गरिएको त्यस महोत्सवको पहिलो दिन अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं कवि वसन्त श्रेष्ठको सभापतित्वमा सञ्चालित त्यस कार्यक्रमको सञ्चालन अत्यधिक रोचक र साहित्यिक माहोलका बीच कवि हेमन्त श्रेष्ठले गर्नुभएको थियो । विश्वभरिबाट २०० भन्दा बढी कविले सहभागिता जनाएको त्यस प्रतियोगितात्मक कविता महोत्सवमा नेपालबाट सहभागी विश्वविमोहन श्रेष्ठ, चन्द्रकला नेवा, ललिता दोषी र पद्मावती सिंहले अतिथि कवि (अप्रतियोगी)का रूपमा कविता वाचन गर्नुभएको थियो । अमेरिकामै रहनुभएका केही प्रमुख साहित्यकारहरूले पनि अप्रतियोगी कविका रूपमा कविता वाचन गर्नुभएको थियो । जसमध्ये हेमन्त श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, गोविन्द सिंह रावत, गीता खत्री, सीता पाण्डे, नम्रता गुरागाईँ, मन्जु निरौला, गुणराज लुइँटेल, होमनाथ सुवेदी, प्रकाश नेपाल, प्रेम सङ्ग्रौला आदि हुनुहुन्थ्यो ।
तीन घण्टासम्म चलेको त्यस कविता महोत्सवमा निर्णायकहरूले विश्वभरिबाट छनोट गरी उत्कृष्ट ठहराएका पाँच प्रतियोगी कविताहरू पनि प्रस्तुत गरिएको थियो । नुवाकोटका रामबहादुर तामाङको सम्बोधन प्रथम, पोखराका शरण आँसुको असमय दोस्रो तथा भक्तपुरका शिवराम सापकोटाको उज्यालोको प्रतिक्षामा तेस्रो हुनुभएको घोषणा छनोट समितिका तर्फबाट प्रकाश नेपालले गर्नुभएको थियो ।
दोस्रो दिन अर्थात् जुलाई २ तारिखका दिन अपराहृन ४ बजे सोही हलमा नेपाली महिला साहित्यकार सम्मेलनको शुभारम्भ भयो । प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठको सभापतित्वमा भएको सो सम्मेलनको संयोजक महिला साहित्यकारद्वय सीता पाण्डे र नीलम कार्की निहारिका हुनुहुन्थ्यो । कार्यक्रममा अमेरिकामै बसोवास गरिरहनुभएका दुई साहित्यकार श्रीमती सीता खरेल र गोविन्द गिरी प्रेरणाले महिला साहित्यकारसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो । ती कार्यपत्रहरूमाथि नेपालबाट प्रतिनिधित्व गर्ने पद्मावती सिंह अमेरिकाबाट सहभागी गीता खत्रीले टिप्पणी गर्नुभएको थियो । त्यसपछि सम्मेलनमा उपस्थित प्रायः सबै सहभागीले आ-आफ्नो टिप्पणी प्रस्तुत गर्नुभएको थियो । ती सबै टिप्पणीलाई र्यापोटिङ गर्ने कार्य प्रतिष्ठानका सदस्य एवं कविता महोत्सवका संयोजक गोविन्दसिंह रावतले गर्नुभएको थियो ।
पहिलो दिन जस्तै दोस्रो दिनको यो सम्मेलन पनि ३ घण्टासम्म सञ्चालन भएको र कार्यक्रमको प्रारम्भमा नेपालबाट प्रतिनिधित्व गर्नुहुने कवि विश्वविमोहन श्रेष्ठले सम्मेलनका लागि नेपालबाट के कसरी सहभागीहरू आमन्त्रित गरिएको र उपस्थित भएका प्रतिनिधिहरूको साहित्यिक व्यक्तित्वको बारेमा विस्तृत चर्चा गर्नुभएको थियो ।
सम्मेलनको तेस्रो दिन अर्थात् समापनको कार्यक्रम पनि सोही लिङ्कन हलमा ४ बजेदेखि ७ बजेसम्म भएको थियो । प्रतिष्ठानका अध्यक्ष श्री वसन्त श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रमको पहिलो सत्रमा नेपाल संयोजक विश्वविमोहन श्रेष्ठले तीनदिने सम्मेलनको टिपोट प्रस्तुत गर्नुभएपछि विभिन्न महानुभावहरूले मन्तव्य तथा सुझावहरू प्रस्तुत गर्नुभएको थियो । त्यसपछि सम्मलेनको समापन गर्दै अध्यक्ष श्रेष्ठले प्रतिष्ठानका तर्फबाट बाह्रबुँदे घोषणापत्र जारी गर्नुभयो । जारी घोषणापत्र अनुसार साहित्यकार उपचार कल्याणकोष, वाषिर्क लेखन वृत्ति, बर्सेनि दुई सिर्जनात्मक तथा दुई अनुवाद कृतिको प्रकाशन, उत्तर अमेरिकामा नेपाली पुस्तकहरूको पुस्तकालय र पुस्तक बिक्री केन्द्रको स्थापना, साहित्यको प्रवर्द्धनमा योगदान पुर्याउने समाचारपत्र, अनलाइन एवं स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार एवं साहित्यकार टेलिफोन डायरेक्टरीको प्रकाशन र नेपालका साहित्यकारहरूलाई बर्सेनि अमेरिका भ्रमण गराउने आदि रहेका छन् ।
सो दिनको दोस्रो सत्रमा सहभागीहरूको तीव्र अनुरोधलाई ध्यानमा राखी प्रतिष्ठानले विशेष कवि गोष्ठीको आयोजना गरेको थियो । यस कवि गोष्ठीमा पहिलो दिनको कवि गोष्ठीमा समयाभावले कविता वाचन गर्न छुटेका कविहरू र नेपालबाट प्रतिनिधित्व गर्ने विशिष्ट अतिथिहरूले कविता वाचन गर्नुभएको थियो । त्यसपछि लगत्तै सांस्कृतिक कार्यक्रम भएकोले कविहरूको चाप रहँदारहँदै पनि कार्यक्रम समाप्त गर्नुपरेको थियो ।
यसरी नेपालभन्दा धेरै टाढा प्रवासमा नेपाली साहित्यको चर्चा तीन दिनसम्म चलाएर अन्ततः हामी सहभागीहरू आ-आफ्नो गन्तव्यतिर लाग्यौँ । सम्मेलन अवधिभर सांस्कृतिक कार्यक्रम, नेपाली सिनेमा, फेशन शो, योग, खेलकुद प्रतियोगिता, डिजे कार्यक्रम, युवायुवती भेटघाट आदि जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका थिए । ती सबै कार्यक्रममा सहभागी हुन अमेरिकाका विभिन्न राज्यबाट आएका नेपालीहरूसँगको भेटघाट र विचार विर्मश धेरै मानेमा उपयोगी रहृयो । यस्ता भेटघाट र कार्यक्रमहरूले सम्पर्क विस्तार मात्र होइन डायस्पोरामा नेपाली भाषा र साहित्यप्रतिको चिन्तनालाई पनि मापन गर्न सहायक रहृयो ।
यसरी तीन हप्ता लामो अमेरिकाको साहित्यिक भ्रमण नेपालका साहित्यकार र साहित्य अनुरागीहरूका बीच सो कार्यक्रमको चर्चा परिचर्चा भइरहेको देख्दा मलाई खुसी लाग्यो । विशेषतः यस्तो अपूर्व साहित्यिक भ्रमणमा नेपालबाट आमन्त्रण गरिएका १५ जना साहित्यकारमध्ये जानेमा म एकजना पनि परेको र कार्यक्रम तथा आतिथ्य दुवै अत्यन्त सौहार्द्रपूर्ण रहेकोमा सन्तोष पनि लाग्यो ।
(स्रोत : शनिबार, गोरखापत्रबाट सभार)