कविता : इतर

~तोया गुरुङ~

कहिले मेरो नाउँ त्यो प्रकाशन गृहको हातमा आउला
आशा पनि छैन
र कोसिस पनि
कसैले सोधपुछ पनि गर्दैनन् ।

केही वर्ष अगाडि त्यहीँ गृहको मुख्य नाइकेले त्यहाँबाट प्रकाशन भएका सामग्रीहरूको सूची देखाए
यसमा कसैको छुटेको छ भने खोजीनीति गरी छाप्ने प्रयास गर्दैछु भने
त्यो छूटमा पर्ने मै हुँ भन्न पनि भएन
अर्थात् म र मजस्ताको खोजी छैन त्यो पक्कै हो
कुनै ठाउँमा आसिन हुँदा पनि त्यति चासो देखाउँदैनन्
त्यो ठाउँमा अरू नै हुँदो हो त अगाडि पछाडि र बीचका संज्ञाहरू धेरै सिँगारपटार गरेर झुण्ड्याउँथे होला
अरूलाई त्यसरी मान सम्मान गर्ने बानीआनीलाई रोक्न जाने र कसै मार्फत् मनाउने कुरा पनि व्यर्थ हो
कवि लेखकको नाम माथि पार्न या चर्चा परिचर्चामा ल्याउन दैनिकी खबरकागजहरू सबैजसोले साथ दिनुपर्छ साहित्यिक पत्रपत्रिका भन्छन्
त्यो साथ दिनु भनेको सम्पादक, सञ्चालक, संवाददाता, संस्थापक कोही न कोही आफू नजिकको हुनुपर्‍यो ।
यो त पक्कै हो-त्यो मित्रले भने
लौ! तिम्रो कुरा पनि सही नै होला
कहाँ कहाँ चासो राख्नु
हरेक दिन कुनै न कुनै पीडित र पीडामुक्त साथीहरू पनि भेटिन्छन्
उनीहरूको पनि गुनासो यही हुन्छ
मलाई पीडितले भनेको ठीकै लाग्यो
उनको कुरामा मेरो समेत असन्तुष्टि थपियो
तर पीडामुक्त साथीहरू व्याप्त भएर पनि असन्तुष्ट देखिँदा अर्को अन्योलजस्तो त्यहाँ थपियो
त्यसै मध्येका एक जनाले केही समय अगाडि भन्याथे ः केही लेखेर दिनुस् न पत्रिकाका लागि
के लेख्नु मैले भनेको थिएँ
समसामयिक राजनीतिसँग साहित्य अमिल्दो भएको कुरा
मलाई आश्चर्य लागेको थियो
समसामयिक राजनीतिसँग साहित्य अमिल्दो भएको कुरा
एक त म राजनीति बुझ्दै बुझ्दिनँ
अर्को राजनीतिका मान्छे भनेपछि छेउमै पर्न मन लाग्दैन
झन् अहिलेको राजनीति त…..
उनले भने त्यसो भन्नु हुँदैन हाम्रो बाँच्ने आधार नै अहिलेको यही हो
यसमा चलखेल गर्न जसले जान्यो त्यही मान्छे नै ठूला पदमा ठाउँ ओगट्न पुग्छन्
होइन खोइ अहिलेसम्म त्यसो गरिएको छैन
हिजो अस्तिको मोटो परिरहेकाले मलाई सिकाउन खोज्छ नाथे…..मनमनै मुरमुरिएको थिएँ
हिलोभन्दा दुर्गन्धित दलदलमा फस्ने इच्छा छैन यति चाहिँ उसलाई सुनाउन नै भनें
हो, यसैले तपाईंलाई बिर्सने गर्छन् अब
सम्झे पनि तपाईंको कुरा काट्ने हुन्छन्
ठीकै छ-यस्तो धेरै सहीसकें र सहँदैछु
एउटा पत्रिकाको स्तम्भ लेख्दा हजार सय जति पनि भोलि त फेरि त्यो स्तम्भ ढल्ने सम्भावना हुन्छ नै
कति त ढलि सकेका पनि छन्
राम्रो मलजल नित्य नपरेपछि त्यसको पनि आयु थोरै हुन्छ
यो चाहिं मैले मनमनै भनें
बढ्दो ताप र सिमसिमे झरीले धेरै बेर फुटपाथमा उभेर गफ गरिरहन मन लागेन
होइन छुटौं होला साथी हो भनंे
एक जना त छुट्ने कुरा जस्तो गरें
तर अर्को चाहिँ भन्न खोजेको के हो राजनीति हो भने त्यो होइन, साहित्य हो भनें साहित्यको चर्चा छेउ पुच्छर आ छैन
छुट्नै मन गर्दैन
आफ्नो हातले उसको हातलाई थमथमाउँदै भनें- होइन
यस्तो कुरा त लेखेर दिनु्स् न पत्रिकालाई छापिहाल्छन् नि
बहुआयामिक, बहुविचार, बहुचिन्तन, बहुलवाद, वहुप्रवाह
बहुलेखनतिर हात हाल्नुस्-तपाईंजस्तो लेखकको आवश्यक छ
यहाँ नभए त्यहाँ, त्यहाँ नभए उहाँ
जताततै यत्रतत्र सर्वत्र
फेरि फेरि आन्दोलन भयो भने व्यानर बोकेर हिँड्ने
ब्यानर समात्न असजिलो लाग्यो भने पहिलो पङ्क्तिमा स्वर दिने
नभए दोस्रो तेस्रो भएर गाजेगुजे हुने
हो यस्तो गर्नु भो भने
पक्कै अग्रपङ्क्तिमा नभए ती पङ्क्तिहरू सम्झदै जाँदा कतै न कतै तपाईर्ंं हुनुहुन्छ भन्ने पक्का भएपछि
नाम त त्यहाँ अकाट्य
सोह्रैआना छुट्नु हुन्न
यतिबिघ्न भन्दा पनि ऊ बोल्न छाड्दैन
ए बाबा ठाकुरे के आइलाग्यो यस्तो
आज २ घण्टा भइसक्यो
जीउका लुगाहरू जताततैबाट भिज्न थालिसके
घरिघरि माथि निधारदेखि तल च्यापुसम्म दाहिने हातको पञ्जाले थोपाथोपा पानी नापेर तल झार्छ र हात झट्कार्छ ।
भैगो छुटौं न अब भनें- भन्छु पटक्कै मुख बन्द गर्दैन ।
उल्टै असार साउनको महिना यति पनि नभिजे के आनन्द लिनु बर्षाको भन्छन्
पहाडतिर हुँदो हो त अर्थात् जहाँ छौ त्यहीं खेत हुँदो हो त धान रोपाईं गरिन्थ्यो
अब यहाँ कुरै कुराको रोपाईं त हो नि !
खुट्टा कटकट दुख्न थालिसक्यो
नजिक कतै चिया पसल छैन
घर त नजिकै छ नि घर जाउँ भन्नु भएन
निथु्रक्क रुझिसक्यौं म लगायत उनीहरू
अर्कोले भने-ल भयो अब कवि, उपन्यासकार, नाटककार, निबन्धकार, सम्झनाकार सबै हुन नेताहरू
त्यसैले कुशल राजनीतिज्ञ बन्न नसक्या हुन्
यिनीहरूका बारे जति कुरा गरे पनि कुरालाई कुरैको दुःख
यिनीहरू माओत्सेतुङजस्ता कवि पनि होइनन् न त मित्तेराँजस्ता साहित्यका र
कतिलाई थाहा छ कतिलाई छैन
त्यसैले अब छुटौं
धेरै भिजियो
कुनै दिन किताब छाप्नु भो भने खोजौंला, पढौंला
उनलाई उसले मन नपरेको कवि लेखक अगाडि परे भनें
टाउको झुकाउने, मुन्टो बटार्ने, अलिकति घमण्डजस्तो देखाउने बानी पनि त्यतिखेरै अनुभव गरियो
के भन्न खोज्या हो मूल कुरोमा ऊ अझै प्रवेश हुन सकेको छैन
यी सब कुराहरू तपाईंका अमूल्य विचार हुन्
लेख्नुस् एउटा निबन्धजस्तो पारेर अर्थात् लघु उपन्यासजस्तो पारेर अर्थात् संस्मरणजस्तो पनि
छाप्न दिनुस् अबश्य छाप्नेछन्
मौका यही हो
फेरि यिनै धाराप्रवाह विचारहरू अर्को पटक भेट्दा फुर्ने हो कि होइन
घर पुग्ने बित्तिक्कै थपक्क लेख्न बस्नुस् भनें
मुन्टो हल्लाए
लेख्छु भन्या हो कि सकिनँ भन्या हो-दुबै अर्थ लाग्ने गरी
माथिल्ला ओंठ अलिक मास्तिर फर्काए फेरि तलतिर पारे अनि विषय अर्कै पारेर भटभटाउन थाले
सँगै उभेका साथीले भनें-मलाई त जैसीदेवलसम्म पुग्नु छ
एकजना लेखक त्यहाँ भेट्न आउनेवाला हुनुहुन्छ
आज एक रात मसँगै आफ्ना लेखनका बारेमा परेको समस्या भन्ने भएका छन्
सायद रात छर्लङ्ग होला उसँग बहस गर्दा
ऊ हतारिएपछि बल्ल ल त जाउँ है भनेर खचाखच भरिएको माइक्रोबसको ढोकामा झुण्डिन पुगे ऊ ।

(स्रोत : मधुपर्क २०६७ मंसिर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.