~उमाशङ्कर द्विवेदी~
कार्तिक महिनाको शुक्लपक्ष चौथी तिथिबाट छठ पर्वको शुरुआत हुन्छ । छठमा गरीब वा धनी जोसुकैको घरमा छठ पूजा धुमधामका साथ मनाइने परम्परा रहेको छ । वास्तवमा भन्ने हो भने छठ पूजा उत्सवको रूपमा मात्र नभई कठिन व्रतोपवासको रूपमा देखा पर्दछ । कठिन शुचिता, दृढ संयम, पूर्ण ब्रह्मचर्य, तथा नितान्त उदासीनताका साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । अन्य व्रतहरूमा एक वा दुई छाक उपवास गर्दा मात्र व्रत सफल हुन्छ । कुनै कुनै व्रत निर्जला (पानीसम्म नखाने) वा फलाहारी पनि हुने गर्दछ भने छठ व्रतमा अठचालीस घण्टामा केवल एक छाक नून न हालेको (रसियाव–रोटी) मात्र ग्राह्य मानिन्छ । बाँकी समय निर्जला तथा पूर्ण उपवास गरेर छठी माताको पूजा गर्ने विधान रहेको छ । छठ पूजाको विशेषता उदाउँदो सूर्यलाई मात्र अघ्र्य नदिई अस्ताउँदो सूर्यलाईसमेत अघ्र्य दिनु पनि हो । यस प्रदेशका मानिसहरूले आफ्नो निजी स्वार्थपूर्तिको याचनामा केवल उदाउँदो सूर्यको पूजा र सम्मान गर्दैनन् अपितु अस्ताउँदो सूर्यलाई पनि उचित तथा समान पूजा र सम्मान गर्दछन् । वस्तुत: हिन्दू धर्ममा गरिने कुनै पनि व्रत, पूजामा कुनै अखण्ड देवतालाई साक्षी राख्नुपर्ने अवधारणा रहेको छ । बलिरहेको दियो वा प्रज्वलित अग्निमा आहूति गरेर तिनीहरूलाई साक्षी मानिएको हुन्छ । छठ व्रतमा भने नदी वा पोखरीको घाटमा सिरसोप्ता बनाएर पूजा गर्नुपर्ने भएकोले त्यस्ता सामग्री उपलब्ध न भएकोले नै अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने चलन चलेको हो कि जस्तो लाग्दछ ।
छठको पहिलो दिन नुहाएर खाने विधि हुन्छ, जसलाई भोजपुरी भाषामा ु‘नहाए–खाएके’ भन्दछन् । यस दिन बर्तालुले बिहानै नित्य क्रियापश्चात् नुहाएर पवित्र भई शुद्ध सात्विक भोजन ग्रहण गर्दछन् । भोजनमा लसुन, प्याज वर्जित हुन्छ । भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य हुन्छ भने दाल रहरी वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य हुन्छ । कार्तिक महिनाको शुक्ल पञ्चमीको दिन दिउँसोभरि निराहार बसेर बेलुकीपख नव निर्मित माटाको चोखो चुल्होमा आँपको काठको दाउरा बालेर अगहनी चामलमा गुड हाली ‘रसियाव’ तथा चोखो पारिएको गहुँको पीठोको रोटी पकाइन्छ । यस प्रकारले तयार पारिएको रसियाव रोटीलाई अक्षता, सिन्दूरले पूजा गरी बर्तालु स्वयंले पनि नाकदेखि पूर्ण सिउँदोभरि सिन्दूर लगाएर (भोजपुरी भाषामा मा· बहोरल) अग्नि तथा गाईलाई अग्रासन दिई ग्रहण गर्दछन् । कार्तिक महिनाको शुक्ल षष्ठीको दिन बर्तालु पूर्णरूपेण निराहार बसी साँझपख छठीघाटमा गई ‘सिरसोप्ता’ माताको पूजाआजा गरी अस्ताउन लागेको सूर्यलाई पश्चिमाभिमुख भई अघ्र्य दिई पुन: सिरसोप्तालाई पूजा गरेर घर फर्किन्छन् । भाकल पुगेकाहरू रात्रिमा आआफ्नो घरको आ·नमा कोसी भर्ने गरेका पाइन्छन् ।
कोसीमा सात वा नौवटा उखु टुप्पातिरबाट एकै ठाउँमा बाँधेर जरोलाई सात वा नौ ठाउँमा सधवा पुरुषहरूले फैलाएर प्रत्येक जरामा समान सङ्ख्यामा माटाको ‘ढकना’मा ठेकुवा, अदुवा, केरा, पानीमा फुलाएको मटर, फर्सीको चानो, ल्वाङ, सुकमेल, सुपारी, मुला, निबुआ, अरिपन तथा माटोको दियो बालेर राखिन्छ । केन्द्रमा माटोको कलशमा पनि सोही सामानहरू राखिन्छ । उखुको टुप्पा बाँधिएको ठाउँमा पनि तिनै सामग्रीहरू बाँधेर चँदुवा झुन्ड्याइन्छ । कोसीको वरिपरि बसेर बर्तालु महिलाका साथै घरका अन्य महिलाहरू पनि छठीमाताका विभिन्न गीतहरू गाउँछन् । यस प्रकारका धार्मिक गीतको कार्यक्रम प्राय: रात्रिको तेस्रो प्रहरसम्म चलिरहन्छ । रात्रिको तेस्रो प्रहरमैं बर्तालुले नित्यक्रियाबाट निवृत्त भइ कोसीका साथ फेरि छठीघाट कुर्न जान्छन् । बिहानको समयमा सिरसोप्ता माताको पुन: पूजा हुन्छ, छठीमाताका गीतहरू गाइन्छ । त्यसपछि सूर्योदय हुनु भन्दा केही प्रहर अगावै सम्पूर्ण बर्तालुहरू नदी वा पोखरीको पानीमा पूर्वाभिमुख भएर उदाउँदो सूर्यलाई बिहानको अघ्र्य दिन लहरै उभिन्छन् । सूर्योदयको साइतमा अघ्र्य दिई बर्तालुहरू घर फर्किन्छन् । यस क्रममा बाटामा भेटिने आफूभन्दा श्रेष्ठ मान्यजन, गाई, इनार वा धारालाई ढोगी, पूजा गरी घरमा आई छोराबुहारी तथा नातिनातिनीहरूलाई छठीमाताको प्रसादस्वरूप टीका लगाई दिई छठपूजाको उद्यापन भएर समाप्त हुन्छ ।
छठ कसको पूजा हो भन्नेतिर विचार गर्दा के निक्र्योलमा पुग्न सकिन्छ भने वस्तुत: छठ पूजा विशुद्ध प्रकृति र पुरुषको पूजा हो । भारतको बिहार तथा उत्तरप्रदेशमा छठलाई ‘डालाछठ’ वा ‘सूर्यषष्ठी’ भन्दछन । नेपालमा भने छठलाई बालदाछठ भनिन्छ किनकि श्रीमद्देवी भागवतमा यो नै नाम उल्लेख रहेको छ । झट्ट हेर्दा छठ सूर्यको पूजाझैं देखिए पनि वास्तवमा छठपूजा मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो, जसलाई पुराणहरूमा माया, सिद्धयोगिनी, स्वयं मुक्त तथा मुक्तिदायिनी, सारा, शारदा र षठी देवीको रूपमा उल्लेख गरिएको पाइन्छ ।
शक्ते: षष्ठांशरूपायै सिद्धाए च नमो नम: ।
मायायै सिद्धयोगिन्यै षष्ठीदेव्यै नमो नम: ।
( ब्रह्मवैवर्त महापुराण, प्रकृति खण्ड, षष्ठी स्तोत्रं) ।
षष्ठी देवी को हुन् त भन्दा सोही पुराणमा उल्लेख भए अनुसार उनी शिव पार्वतीका पुत्र देव सेनानायक कार्तिकेय वा स्कन्दकी धर्मपत्नी हुन्–प्रत्यक्षायै च भक्तानां षष्ठी देव्यै नमो नम: । पूज्यायै स्कन्दकान्तायै सर्वेषां सर्व कर्मसु ।। आफ्ना भक्तहरूलाई प्रत्यक्ष दर्शन दिने तथा सबैबाट सम्पूर्ण कार्यहरूमा पूजा प्राप्त गर्ने अधिकारिणी स्वामी कार्तिकेयकी प्राणप्रिया षष्ठी देवीलाई बारम्बार नमस्कार छ । षष्ठी माताको पूजा गर्नाले सम्पूर्ण पाप विलीन हुनुको साथै महाबन्ध्याले पनि यिनको कृपाबाट सन्तान प्रसव गर्ने योग्यता प्राप्त गर्न सफल हुन्छन् । माता षष्ठी देवीको कृपाबाट गुणी , विद्वान्, यशस्वी, दीर्घायु तथा श्रेष्ठ पुत्रकी जननी बन्न सम्भव हुन्छ ।
सर्व पापाद्विनिर्मुक्ता महावन्ध्या प्रसूयते ।
वीरपुत्रं च गुणिनं विद्यावन्तं यशस्विनम् ।
सुचिरायुष्मन्तमेव षष्ठीमातृप्रसादत: ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)