~वलराम तिमल्सिना~
जव देख्छु फहराएको यो राष्ट्रिय झण्डा !
अनिष्टको आशङ्काले मनै हुन्छ ठण्डा !
मेरो देश
यही झण्डा फहराउँदै बेचियो
यही झण्डा फहराउँदै लुटियो
यही झण्डा बोक्नेले हो –
सत्र सालमा प्रजातन्त्र मार हानेको
यही झण्डा बोक्नेले हो –
छिन्ताङ्गमा गोली हानेको !
आजादलाई ज्युँदै जलाउँनेहरू
यही झण्डा बोकेर आगो झोस्दै थिए
सैतीस सालमा झेली गर्नेहरू
यही झण्डा नै बोक्दै थिए !
सवै प्रतिविद्रोह र प्रतिगमन
यही झण्डाको छहारीमा भएका थिए !
सवै जोरजुलुम र नरसङ्हार
यही झण्डाधारीबाट भएका थिए !
त्यसैले होला-
जव जव फहराउँछ यो राष्ट्रिय झण्डा
प्रतिगमनको संत्रासले मनै हुन्छ ठण्डा !
माथि यही झण्डा फहराएको हुन्थ्यो
तल कोशी बेचिदै थियो
गण्डकी बेचिदै थियो
महाकाली बेचिदै थियो
प्रकृति उद्दम र स्वाभिमान बेचिदै थियो
हरेक युगमा उठेका आवाजहरू
यही झण्डाले दवाउँथ्यो
हरेक समय मान्छेका अनुहारहरू
यही झण्डाले चपाउँथ्यो
झण्डा बोकी बोकी गरिए
सवै “राष्ट्रिय” अपराधहरू !
त्यसैले होला –
जव जव ल्याङ्ल्याङ गर्छ यो पुरानो झण्डा
पुरानै झझल्को दोहोरिन्छ मनै हुन्छ ठण्डा !
आज पनि जव कोही हिड्छ
बोकेर त्यही पुरानो झण्डा
मनमा चिसो पस्न थाल्छ –
झुपडीले पाएको निम्छरो भाग
कुन दिन खोसिने पो हो कि
निम्छराहरूले पाएको अलिकति आकास
फेरी लुटिने पो हो कि
वा कतै बचेका कूलकुले खोल्सीहरू
अनायास मेरो भन्ने हो छिमेकीले
गर्न केही वाँकि राखेको छैन यो झण्डाले
त्यसैले हुनु पर्छ सायद-
जव कोही हिनहिनाउँछ बोकेर यो झण्डा
मायाँ लाग्छ देशको र मनै हुन्छ ठण्डा !
अझ जव त्यही झण्डा बोकेर
निस्किन्छन आधुनिक कमरेडहरू
मलाई तिनीहरूको अनुहार
ठ्याक्कै श्रीपेचधारीको लाग्छ
टाउकोमा टोपी नभएको भए
र श्रीपेच भैदिएको भए
यी कमरेड काटीकुटी महाराज बन्ने थिए !
यस्तो भैदिएपछि –
जव ” कमरेड” बोक्न थाल्छन् यो निरङ्कुश झण्डा !
काटीकुटी झल्को आउँछ पञ्चायती पण्डा !
“कमरेड”हरूको हालत देखी मनै हुन्छ ठण्डा !
सत्र सालमा पञ्चायत आयो
यो झण्डा सुतेर बस्यो
सैतीस सालमा धाँधली भयो
यो झण्डाले ठीक छ भन्यो
वाउन्नमा जनताले विद्रोह गरे
यो झण्डाले आतङ्कवाद देख्यो
दरवारमा राजपरिवार चिलिम फर्किए
यो झण्डा टुकुचामा मुन्टो जोतेर बस्यो
कुनै युध्द कुनै विद्रोह
कुनै सङ्घर्ष कुनै आन्दोलन
अहँ कैले आएन सडकमा मैदानमा
वरु बसिरह्यो – महाराजको लगौंटी भएर
महाराज लखेटिए
तर यो झण्डा फुर्ती उस्तै छ
अझ पट्याएर कमरेडहरूलाई
फाँ फाँ फुँ फुँ पो गर्दै छ
थुक्क गणतन्त्र तैले
एउटा आफ्नै झण्डा पनि बनाइनस हैन ?
अहिले पनि –
जव जव फिरफिर गर्छ प्रतिगामी झण्डा
लाग्छ केटाकेटीहरू उडाउँदै छन् चङ्गा !
याद आउँछ दुर्दिनको र मनै हुन्छ ठण्डा !
कमरेडहरू लाग्न थाल्छ पञ्चायती पण्डा !