~शर्मिला खड्का दाहाल~
ऊ मेरो पात्र, मसँग विद्रोही बन्दै प्रश्न गर्छ, “तिमीहरू साहित्यकार नयाँ युग र नयाँ चेतनाका अधिकर्ता । नयाँ प्रयोग र नयाँ धाराका भाषण गर्र्छौ, के हाम्रो समाजले सबै विचारलाई आत्मसात् गरेको छ – तिमीहरू समाज डोर्याउने सपना देख्छौ अनि विपनामा शब्दका विगुल फुक्छौ । खोइ डोर्यायौ समाज – नत्र भने बारुद गोलीको मात्र कुरा गरेर समाजलाई जङ्गल मुक्ति र आन्दोलनको भयावह विपत्तिबाट प्रेम र आदर्शको परिकल्पनामा किन तान्न सक्दैनौ तिमीहरू – तिमीहरू समाजका दास हौ । त्यसैले समाजका विक़तिहरूलाई जलाएर खरानी पार्नुको सट्टामा धुपौरे बनी बालिरहन्छौ ।”
ऊ अर्थात् मेरो पात्र, ऊ कसैलाई प्रेम गर्छ । उसको विरह र बिलौनाले भरिएको प्रेमकथालाई आज म साहित्यिक कथाजालमा बुनेर आफ्नो साहित्यिकधर्मिता पूरा गर्न गइरहेको छु । उसको प्रेमलाई समाजले र्समर्थन पनि गरेन अनि स्वीकार पनि गरेन । आदर्शताले भरिएको उसको प्रेम सामाजिक विकृति र विसङ्गतिले पिल्सिएको थियो । त्यसैले उसको प्रेमलाई समाजले कुनै मूल्य र मान्यता दिएन । उसको प्रेमको पक्षधर समाजमा नभएका होइनन् तर तिनीहरू शक्तिहीन, निमुखा र लाचार थिए । त्यसैले उनीहरूले उसको पक्षमा कुनै ठोस पाइला चलाउन सकेनन् ।
ऊ आफ्नी प्रेमिकालाई हृदयदेखि नै चाहन्छ । उसको प्रेम हिमालको कञ्चन हिउँ जस्तै शुद्ध र स्वच्छ थियो । उसको प्रेम उषाको क्षितिजझैँ मनमोहक थियो । उनीहरूको प्रेम उषाको आदित्य लालिमासँगै लुकामारी खेल्दै यौवनको खुड्किलोमा चढ्दै गएको थियो । वनपाखा, डाँडाकाँडा, भञ्ज्याङ्ग चौतारामा सबैतिर उनीहरूको प्रेम सुवासित भइरहन्थ्यो । झरनाको ध्वनीसँगै र सल्लाको सुसेलीसँगै वयेली खेल्दै माधुर्य संगीत छर्दै वनपाखा चर्न पुग्दथ्यो । खोलाको कलकल ध्वनिले उनीहरूको प्रेममा संगीत भथ्र्यो । तर उनीहरूको सपना वास्तविक हुन पाएन । कल्पनाले एकीकार लिन सकेन । उनीहरूका प्रेमका विरोधीहरूले षडयन्त्र रचे अनि निर्ममतापुवक उनीहरूको प्रेमको हत्या गरिदिए । यस्तो दर्दनाक स्थितिमा उसका विरह र वेदना छालहरू किनारा खोज्दै मेरा संवेदनशील पोल्टामा ठोक्किन आइपुग्छन् अनि पोखिन्छन् यसरी ः- तिम्रो साहित्यले घाउलाई खोतलेर अझ गाढा घाउ बनाइदिन्छ तर त्यसलाई निको पार्ने र निको पार्न लगाउने क्षमता तिमीहरूमा छैन । तिमीहरूले प्रेम र खुसीलाई बिर्सिसक्यौ । त्यसैले मेरी प्रेमिका शान्ति हराउँदा मेरो भावनाको उपहास मात्र गर्यौ । किनभने मेरा भावनामा संवेदनशील भएर यो समाजको विरुद्ध एक जुट भई मेरो प्रेमलाई सफल बनाउन सकेनौँ । यो निष्ठुरी समाजले मेरो प्रेमको घाँटी निमोठी हत्या गरिदियो । मेरो प्रेमका खलनायक यही समाजमा ब्याप्त छन् । खै तिमीहरूले चिनेर बुझेर पनि आवाज उठाउन सक्यौ – खोइ, मेरो अधिकार स्वतन्त्र विचारको संरक्षण गर्यौ – तिमीहरू स्वतन्त्र विचारका पुजारीहरू मेरो शान्ति, मेरो ढुकढुकीलाई कसैले अपहरण गरेर लाँदा मूकदर्शक भएर हेरिरह्यौ । म निष्प्राण भएर बाँच्न बाध्य छु । तिमीलाई थाहा नै छ । म र मेरी प्रेमिका शान्ति कसरी प्रेमिल संसारमा रमाउन पुग्थ्यौँ । हामी दुइले एक पल पनि नछुट्टनिे प्रण गरेका थियौँ । केही समय अलग भएर बस्नुपर्दा हामी पानी विनाको माछाझैँ तड्पिन्थ्यौँ । अनि तुरुन्त सर्म्पर्कमा आउन चिठ्ठी, फोन वा च्याटिङ्गको उपभोग गर्दथ्यौँ । एक आपसमा भावना, अनुभूति नपोखी हामी कुनै क्षण बस्न सक्दैनथ्यौँ । हाम्रो मायाको थुंगा मालामा परिणत हुन नपाउँदै धुजाधुजा पारिदियो परिवेश र परिस्थितिले । मधुर मिलनको परिकल्पनामा बाँचेको हाम्रो प्रेमको मुना फस्टाउन नपाउँदै निमोठियो अनि किल्चियो ।
तिमीहरू साँच्चै समाज डोर्याउन सक्छौ भने अब बन्दुक र गोलीहरूका होइन प्रेमको विगुल फुक अनि सबैजना रमाऊन प्रेममा । मैले जस्तो अधुरो प्रेममा मर्माहत भएर कसैले बाँच्नु नपरोस् । अनि मान्दछु म तिम्रो अगुवाइलाई ।
ऊ अर्थात् मेरो पात्र, साँच्चै नै शान्तिको लागि जन्मेको थियो । अनि शान्ति उसको लागि जन्मेकी थिई । उनीहरूको सम्बन्ध जूनसँग जुनेली, आकाशसँग क्षितिज, उषासँग किरण, घामसँग छाँयाझैँ अकाट्य थियो । उनीहरू एकअर्काका लागि बनेका थिए । तर समाज परिस्थिति र परिवेशको निर्मोही हातले उनीहरूलाई अलग बनाइदियो । मेरो पात्र मलाई पनि खलनायक बनाउन पुग्दछ । म साहित्यकार भएको नाताले उसको भावना नबुझेको होइन । मैले उसको प्रेम समाजका अगाडि नराखेको होइन । तर के गर्नु समाज परिवर्तन हुन पनि त समय लाग्छ । औषधि खाने बित्तिकै विमार निको हुने पनि होइन नि त्यसको लागि पनि समय चाहिन्छ । तर ऊ आफ्नो अपहरित प्रेमिका विना एक पल पनि बाँच्न नसक्ने अभीष्ट व्यक्त गर्दछ । हो समाज परिवर्तनशील छ, म मान्दछु । मानव विकासको अभ्युदय देखि नै समाज परिवर्तित र विकसित हुँदै आएको छ । यही परिवर्तन हुने क्रममा समाज विभिन्न धारमा बगिरहन्छ । त्यस्तै धारलाई आधार मानी साहित्यले साहित्यरस बगाइरहन्छ । अहिले समाज व्यक्ति स्वतन्त्रताको हकमा अघि बढिरहेछ । वादहरूको साँढे जुधाइमा धेरै बाच्छाबाच्छीहरूको बाँच्ने अधिकार खोसिँदैछ । विचारहरू बाझिरहेछन् । समाजमा अनिश्चितताको कालो बादल मडारिरहेछ । यस्तो विचार, क्रान्ति र युद्धको मन्थनले कुन किसिमको बौद्धिक धारणाको उत्पत्ति हुन्छ भन्नेकुरा कसैले सोच्न सकेको छैन । यहाँ प्रत्येक व्यक्ति अन्यौल, त्रास र अभावको गुजुल्टोमा अल्झेर लडिरहेछन् । यस्तो अवास्थामा मेरो पात्रको प्रेमविलौना मुनासिब छ । यहाँ मेरा पात्रजस्ता धेरै पात्रहरू छन्, जसले अर्धमुर्छित अवस्थामा बाँच्नु परिरहेछ । तिनीहरूले शरणार्थी, अपहेलित र विक्षिप्त अवस्थामा जिन्दगीको गति नापिरहनु परेको छ । हाम्रो समाज एउटा कथाकारको अधुरो कथा भएको छ । जहाँ पात्रहरू निर्दिष्ट बाटो हिँड्न सकेका छैनन् । जहाँ मेरो पात्रझैँ धेरै पात्रहरूको अतृप्त चाहनाहरू मेघ गर्जेझैँ गर्जिराखेका छन् ।
म मेरो पात्रप्रति सहानुभूति जनाउंछु । तर ऊ त्यो सहानुभूतिलाई आत्मसम्मान प्रति चोटिलो प्रहार ठान्दछ । उसलाई म बुझाउन खोज्दछु । म पनि ऊजस्तै कुनै शान्तिलाई प्रेम गर्छु अनि पूजा गर्छु तर समाजमा उत्पन्न हुने विभिन्न व्यवधान र परिस्थितिले हाम्रो प्रेमलाई नराम्रो गरी निमोठ्न खोज्दछ । म पनि ऊजस्तै आ प्रेममा आएको अकल्पनीय कुठाराघातबाट विचलित हुन पुग्दछु । स्वतन्त्रताको पक्षधर हुँदाहुँदै पनि म नैतिक वकालत गर्न सकिरहेको छैन । मलाई थाहा छ कसैको सम्झनामा मुटु दुख्दा कस्तो हुन्छ भनेर । त्यसैले म मेरो पात्रप्रति अत्यन्त भावुक हुन पुग्दछु ।
समाज परिवर्तनको क्रममा म, मेरो पात्रजस्ता धेरै प्रेमीहरूको प्रेम पेण्डोराको बक्सामा बन्द भएका छन् । हाम्रा खुसी र चाहनाहरू खलनायकत्वको भूमिकामा रूपान्तर भइरहेका छन् । त्यसैले हामीले प्रत्येक पल बाँच्दै मर्दै गर्नु परिरहेछ । हामी यस्तो समय पर्खिबसेका छौँ जब हामीभित्रको खलनायकत्वको भूमिका समाप्त हुनेछ । अनि प्रभावकारी नायकत्वको भूमिकामा प्रेम, खुसी र चाहनाहरू स्वतन्त्र धरातलमा विचरण गरिरहेका हुनेछन् । त्यस समयमा म, मेरो पात्र जस्ता धेरै पात्रहरू आफ्नो प्रेमको सुमधुर मिलनमा हराउनेछन् । अनि आफ्ना उद्देश्य पूरा भई निर्दिष्ट बाटोमा हिँड्नेछ । अनि मेरो यो अकथाले कथाको रूप लिनेछ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)