~राधेश्याम लेकाली~
बस्तीभन्दा पर कतै
षड्यन्त्र र जालझेलमा
मौसम रोकिएको छ
र वर बस्तीमा
न सृष्टि ।
न प्रेम ।।
न शान्ति ।।।
यसैले, बोधिसत्वमा हिंसा रोपेर
गुलाब हाँस्दैन
परदेशको खोलमा
आकाशमा बाज उडाएर
निर्भय अस्तित्व रहँदैन
मान्छे, मात्र मान्छे हो
जीवनभन्दा परको रङ्गमा रङ्गिँदा
मान्छेलाई आफ्नै अनुहार सुहाउँदैन
मान्छेले मान्छेलाई नै नचिन्ने बस्तीमा
न सृष्टिको अर्थ।
न प्रेमको अर्थ।।
न शान्तिको अर्थ।।।
फेरि आँखामा आत्मीय पीडाको आँसु
र ओठमा मुस्कान पनि
एकसाथ सुहाएजस्तो लाग्दैन
क्षमा र प्रार्थनाको आडमा
कुटिलताको रङ्ग
प्रकृतिको एक झर बर्सातमै
अस्तित्वमा रहन्न
बरु, निर्धक्क वर्तमानलाई
प्रकृतिको मौलिक रङ्गमा रङ्गिन देऊ
विद्रोहको सचेतन सुन्दरतामा
अलिकति सम्झौताको सुगन्ध भरिदेऊ
हो, बस्तीभन्दा पर कतै
षड्यन्त्र र जालझेलमा
मौसम रोकिएकोछ
र वर बस्तीमा
न सृष्टि ।
न प्रेम ।।
न शान्ति ।।।