समीक्षा : युग बुझेका साझा कवि भूपि

~विश्वविमोहन श्रेष्ठ~

भूपिका कविता लेखन र आनीबानीबारे धेरै कुरा आइसकेका छन्। वैयक्तिक जीवनका केही मुख्य कुरा भने अँझै बाहिर आउन पाएका छैनन्। झन्डै एक दशकको निकटतामा रहँदा मैले धेरै बुझ्ने अवसर पाएँ। युवा पुस्ताका कविसँग सम्पर्कमा रहन सधैं उत्साहित र उनीहरूको लेखनमा उत्साह बढाउन सधैं अभिप्रेरित गरिरहनुहुन्थ्यो। विशेषतः तीसको दशकपछिका कविहरूमा उहाँको ठूलो प्रभाव परेको छ, जसमध्ये म पनि एक हुँ।

अहिलेको साहित्यिक माहोलमा पुस्ताको ग्याप कताकता खट्किन्छ। कतिपय अग्रजहरू त नयाँसँग संगतै नगर्ने र नयाँले अग्रजलाई वास्ता नगर्ने प्रवृत्ति छ। यस सवालमा भने उहाँ ठूलो छाती भएको कवि हो। अग्रज, अनुज सबैसँग सम्पर्कमै रहेर कवितामाथि छलफल गर्ने उहाँको बानी थियो। व्यक्तित्व शालीन, भद्र र सरल भए पनि वैयक्तिक जीवनमा उहाँ निकै सौखिन हुनुहुन्थ्यो। कम्युनिज्मको दृष्टिकोणले भन्ने हो भने त ‘सामन्ती’झैं लाग्ने! एकताका उहाँले नै स्वीकार गर्नुभएको कुरा हो यो।

उहाँ तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (एकेडेमी)मा सदस्य भएर जानुभयो। त्यस बेला म पनि भरखर–भरखर जस्तो काठमाडौं आएकाले उहाँलाई भेट्न पुगिरहन्थेँ। त्यहाँका कर्मचारीहरूमा एक जना निकै भद्र र प्राज्ञिक हुनुहुन्थ्यो– रामशरण दर्नाल। भूपि दाइले उहाँमार्फत हामीजस्ता कविहरूलाई डाक्नुहुन्थ्यो। त्यो प्रेरणाले नयाँ कविहरूलाई लेख्नका लागि ठूलो हौसला मिल्थ्यो।

साहित्यिक गतिविधिका लागि त्यो बेला राजधानीमा निकै सक्रिय संस्था थियो— साहित्यिक पत्रकार संघ। म पनि त्यस संस्थासँग आबद्ध थिएँ। सोही संस्थाले ०३८मा पद्मकन्या क्याम्पसमा कवि गोष्ठीको कार्यक्रम तय गर्यो।। भूपि, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक क्षेत्रप्रताप अधिकारी, वासुदेव त्रिपाठी लगायत त्यहीँ हुनुहुन्थ्यो। कविता सुनिसकेपछि त्रिपाठीले अधिकारीलाई भन्नुभयो, ‘नयाँ पुस्ताका कविहरूको लेखनशैली एकदमै राम्रो रहेछ। अध्ययनले, लेखनको उर्वरताले निकै माथि। साझाले यीमध्येका पाँच–सात जनाको कविता संग्रह निकाल्नुपर्योए।’

त्यसै सिलसिलामा केही दिनपछि भूपिले मेरो कविता संग्रहबारे सोध्नुभयो। मागेर हेर्नुभयो। त्यो संग्रह एकेडेमीबाटै निकाल्न पहल गर्ने उहाँको आश्वासनले म प्रभावित भएँ। मेरो प्रतिनिधि कविता ‘म भात जोडूँ कि कविता लेखूँ’कै नामबाट संग्रह पेस गरेँ। झन्डै चार–पाँच वर्षपछि ०४४ सालमा मात्रै त्यो छापियो, ‘विश्वविमोहनका केही कविता’ नामबाट। पछि पो थाहा पाएँ, प्रकाशनका लागि विशेषज्ञहरूको टोलीमा भूपि पनि एक जना हुनुहुँदो रहेछ। उहाँको जोडले मात्र मेरो संग्रह प्रकाशन हुन सकेको रहेछ। नत्र संग्रहको नाम र कवितामाथि धेरैले विरोध गरेका रहेछन्।

त्यसबीचमा उहाँको घर नक्साल–नागपोखरी आउजाऊ निकै बढ्यो। हाम्रो सम्बन्ध पारिवारिक जत्तिकै बनिसकेको थियो। भूपि दाइसँग मेरो पहिलो भेटचाहिँ ०३६ सालको जनआन्दोलनपछि भएको हो। त्यस बेला नै उहाँ भन्नुहुन्थ्यो, ‘अवसर पाएँ भने राम्रो कामका लागि एकेडेमी जान सक्छु।’

पञ्चायतको पक्ष र गुमनाम मृत्यु

धनकुटाको कवि गोष्ठीपछि एकेडेमीमा काम गर्न इच्छुक भएको र यसकै लागि राजासँग विन्ती बिसाएको जुन कुरा छ, त्यसलाई फरक तरिकाले हेर्न सकिन्छ। यसै विषयलाई लिएर धेरैले उहाँमाथि निरन्तर खोइरो खनेकै हुन्। जीवनको उत्तरार्द्धमा थुप्रो आलोचना पनि झेल्नुभयो। पहिलेको निरंकुश पञ्चायतीकालमा उहाँ सदस्य बन्नुभएको सही हो तर अहिलेको गणतन्त्रात्मक स्वतन्त्रतामा एकेडेमी गएका प्राज्ञहरूले चाहिँ के गरिरहेका छन्, र कसरी चलिरहेको छ एकेडेमी? उहाँका आलोचकहरूले यसको जवाफ दिन सक्छन्? तत्कालीन सरकारले भूपिबाट साहित्य सेवाका लागि सहयोग चाह्यो, उहाँले पनि भाषिक, सांस्कृतिक योगदान गर्ने चाहना राख्नुभयो। कुरा त्यत्ति न हो।

बाहिर बसेर यस्तो गरेन, उस्तो गरेन भन्ने चलन छ, तर संस्थामा एक्लै गर्न सकिन्न। त्यो त टीमवर्कमा भर पर्ने कुरा हो। संरक्षक नै राजा भएको बेलाको एकेडेमी कस्तो थियो होला? त्यस बेला उहाँ एकेडमीमा छँदाको योगदान कस्तो रह्यो भन्नुभन्दा पनि गणतन्त्रपपछिको एकेडेमी के गर्दैछ? तुलना गर्न जरुरी छ। जनताको सरकार भएको बेला यिनीहरूले चाहिँ केही गर्न नसक्ने त्यो बेलाचाहिँ यो गरेन, त्यो भएन भन्न मिल्छ र!

त्यसपछि पनि उहाँबाट ‘सर्पहरूको खोजीमा’ जस्तो शक्तिशाली कविता जन्मिएको छ। एकेडेमीको प्रभाव र पञ्चायती रङ त त्यसमा पाइँदैन।

उहाँको निधनपछि विभिन्न साहित्यिक संघसंस्थाले पुरस्कार स्थापना गर्ने, उहाँको नामका केही गतिविधि गरेका छन् तर राज्यतहबाट उपयुक्त काम हुन सकेको छैन। अहिलेको एकेडेमीमा भूपिबाटै कविता लेख्न सिकेका र प्रभावित भएकाहरू पुगेका छन्। साहित्यका केही मानकहरू पनि होलान् तर उनीहरूबाट भूपिका नाममा केही योजना, कार्यक्रम बन्न नसक्नु दुःखद पक्ष हो।

उहाँको निधनको सन्दर्भमा दुःखान्त केही कुरा छन्। त्यस बेलाका चर्चित, ख्यातिप्राप्त प्रतिनिधि कविको मृत्यु गुमनामजत्तिकै हुन पुग्यो। कुनै होहल्ला नै भएन। धेरैले काजकिरिया सकिएपछि मात्रै त्यो दुःखद खबर सुन्न पाए। मण्डले भएको र पञ्चायतमा बिक्यो भन्ने आरोप र अफवाहकै कारण आफन्तहरूलाई मात्र जानकारी गराइयो, एकेडेमीमा उहाँको शव राखिएन। तर, ती कठोर आरोपका बीचबाट पनि उठेका कविको चर्चा आजसम्म त्यत्तिकै भएको त होइन। न उहाँलाई सरकार वा कुनै दलले माथि उठाएको हो, न त कुनै वर्ग, जाति वा सम्प्रदायले नै च्यापेको थियो! जनताबाट अनुमोदित कवि भएकैले मृत्युको यति लामो समयसम्म पनि भूपि बाँचिरहनुभएको छ।

व्यवस्थित यात्रा

उहाँसँग थुप्रै साहित्यिक कार्यक्रममा धेरै ठाउँ पुग्ने अवसर मिल्यो मलाई। इलाम, झापा, धनकुटा, पोखरा, पाल्पा आदि ठाउँ घुम्दाका रमाइला स्मृति मसँग छन्। यात्रामा निस्कँदा उहाँसँग दुई ट्यांका त कपडाले भरिभराउ हुन्थ्यो, जहाँ इस्त्री गरिएका सुकिला कपडा हुन्थे। आज लगाएको कपडा भोलि नलगाउने। एकदमै टिपटप भएर हिँड्ने र व्यवस्थित जीवनशैली अपनाउनुहुन्थ्यो।

उहाँको यात्रामात्र होइन दैनिक कामको व्यवस्थित तालिका हुन्थ्यो। कुन समय उठ्ने, कहाँ जाने, कति बेला खाने, भेटघाटको कार्यक्रममा समयबद्ध हुनुहुन्थ्यो। भाउजू पनि कवितामा रुचि राख्ने स्वभावको हुनुहुन्थ्यो। सुगरको बिरामी भूपिको स्वास्थ्य व्यवस्थित गर्नमा भाउजूको भूमिका महŒवपूर्ण छ। यात्रामा जाँदा सबै व्यवस्था उहाँले नै मिलाइदिनुहुन्थ्यो।

०४६ सालअघि ३०/३१ देखि राजा वीरेन्द्र विकास क्षेत्रहरूको भ्रमणमा निस्कनुहुन्थ्यो। त्यहाँ भइरहेका साहित्यिक, सांस्कृतिक गतिविधिबारे चासो र जिज्ञासा राख्नुहुन्थ्यो। यस्तैमा पोखरामा भूपिको अगुवाइमा ०४१ सालमा कार्यक्रम हुने भयो। क्षेत्रस्तरीय त्यस्ता कार्यक्रममा अग्रज कवि–लेखकहरूले मात्र सहभागी हुने अवसर पाउँथे। त्यसपटक राष्ट्रिय स्तरमा ख्याति कमाएका केही अग्रजहरू सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, मोहन कोइराला लगायत युवापुस्ताका केही कविलाई पनि समावेश गर्नुपर्छ भनेर भूपिले नै जोड गर्नुभएछ। म, हेम हमाल आदि युवा कविहरूलाई निम्तो गर्नुभयो। त्यो उहाँको नयाँ लेखकप्रतिको स्नेह र प्रेम नै थियो।

अहिलेका कविहरूमा मानसम्मानको लालच देखिन्छ। दुई–चार कविता लेख्दैमा अरूलाई नगन्ने र अहम्ले ढक्क फुल्ने प्रवृत्ति छ। यस्ता सवालमा भूपिबाट सिक्ने कुरा धेरै छन्।

०४० सालतिरको अर्को प्रसंग सम्झन्छु। हामी विराटनगर यात्रामा थियौं, साथमा एकेडेमीका तत्कालीन सदस्य सचिव विजय मल्ल पनि हुनुहुन्थ्यो। फागुन ७ गते सबैले दौरा–सुरुवाल, टोपी लगाएर जुलुसमा हिँड्नुपर्थ्यो। प्रजातन्त्र दिवसको अवसरमा बाहिर जुलुस सुरु भइसकेको थियो। हामी सहभागी हुने–नहुने कुरा चल्यो। तर, भूपि जान मान्नुभएन। भन्नुभयो, ‘हामीलाई जुलुसमा जानका लागि औपचारिक निम्तो कतैबाट आएकै छैन, किन जाने?’ प्रतिष्ठानको सदस्य भइसकेको मान्छे त्यस्ता कार्यक्रममा सरिक हुनु स्वाभाविक थियो तर उहाँ जानुभएन। धेरै मान्छे आफ्नो नाम भजाउनका लागि त्यहाँ जान पनि सक्थे तर उहाँको स्वाभिमानले जान दिएन।

कविताप्रति नै विश्वस्त भइसकेपछि जुनसुकै आरोप वा बाधाले रोक्न सक्दो रहेनछ। पोखरामा भएको एउटा कार्यक्रमको सन्दर्भले यसलाई पुष्टि गर्छ। साहित्यिक पत्रकार संघले पोखरामा आयोजना गरेको कवि गोष्ठीका लागि हामी पुगेका थियौं। अघिल्लो दिन खबर आयो, ‘सिडिओले कार्यक्रमबारे सोधपुछ गर्दैछ। कविता सेन्सर गर्ने कुरा पनि गर्दैछ। भोलि अप्ठ्यारो पो पर्ने हो कि!’

त्यहाँ केदारमान व्यथित पनि हुनुहुन्थ्यो। भूपू गृहमन्त्री भइसकेका उहाँ कड्किनुभयो, ‘त्यो सिडिओलाई म गृहमन्त्री भएको थाहा छैन कि क्या हो?’

भूपिले थप्नुभयो, ‘त्यसो भए कार्यक्रम सिडिओ अफिसमै गरौं। सिडिओको पाइन कतिरहेछ, हेरिहालौं न त।’

उहाँ समयचेतसँगसँगै जटिल परिस्थितिलाई कसरी सहज बनाउने भन्नेमा खप्पिस हुनुहुन्थ्यो। सँगसँगै निडरता, प्रतिबद्धता र कविताप्रतिको विश्वासले नै उहाँमा यस्तो आँट सहजै आएको हुनुपर्छ।

कविताको प्रभाव

जसरी गोपालप्रसाद रिमालले गद्य कविताको सुरुवात गर्नुभयो, त्यसको विस्तारमा भूपिको भूमिका उल्लेख्य छ। रिमालभन्दा बढी प्रभाव र निरन्तरता त भूपिको नै देखिन्छ। रिमालले छोटो समयमात्र लेख्नुभयो तर शक्तिशाली लेख्नुभयो। भूपिले भने लामो समय कवितामै साधना गर्नुभयो। वैचारिक रूपमा पनि उहाँ सक्रिय रहनुभयो।

‘नयाँ झ्याउरे’, ‘निर्झर’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्ता कृतिहरू आए पनि बढी चर्चा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’कै रह्यो। कविता शक्तिशाली र कालजयी हुनुमा समयलाई यसरी टिप्नुपर्दो रहेछ, जसलाई लेख्नेमा मात्र होइन पाठकमा पनि तरंगित बनाओस्। कवितालाई कसरी जीवन्त बनाउन सकिन्छ भनेर उहाँ नयाँ तर सामान्य विम्बको खोजीमा लागिरहनुहुन्थ्यो।

तीस र चालीसको दशकमा त भूपिको प्रभाव स्पष्ट रूपमै देखापरेको हो। उहाँको शब्द संरचना, विम्बको प्रभावमात्रै होइन वाचनकलाबाट पनि त्यस बेलाका कविमा ठूलो प्रभाव देखिन्थ्यो। वाचनशैली पनि प्रभावशाली थियो। उहाँ राम्रो गीतकार भएर पनि कवित्वले गीतलाई ओझेलमा पार्यो । मुक्तक पनि चोटिला र व्यंग्यात्मक लेख्नुहुन्थ्यो। शब्द उच्चारण र हाउभाउबाट प्रभावित हुने धेरै थिए। उहाँका असंख्य फ्यानहरूमा महिलाहरूकै संख्या उल्लेख्य थियो, जुन कुरा आफैं स्वीकार्नुहुन्थ्यो। यस मानेमा उहाँको स्वभाव पनि रसिक थियो।

अहिलेका राम्रा कविमा पनि भूपिको प्रभाव पाइन्छ। तिनलाई सोध्दा बढीजसोले भूपिको नाम छुटाउँदैनन्। गद्य कवितामा शब्दको अनुप्रास र विम्बको तेज प्रवाहबाट धेरैले प्रभाव ग्रहण गरेका छन्। मेरा समकालीन सबैमा त्यो प्रभाव देख्छु। गद्य कविता लेख्दा म अनुप्रासको खोजी गर्छु, लय, गति जोड्न खोज्छु; त्यही क्रममा उहाँको प्रभावको बोध हुन्छ मलाई।

‘मैनबत्तीको शिखा’ मेरो सबैभन्दा प्रिय कविता हो। जीवनलाई जगत्सँग जोडेर विचार र भावको गहिरो समन्वय छ यस कवितामा। अहिलेका संघीयताका हिमायतीहरूलाई कविता उपयोगी हुने खालको बनेको छ।

एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प
ढलिरहेछ अश्रुधार।
मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गी पतिको।

मेरो चोक, घन्टाघरजस्ता कविता पनि उत्तिकै प्रभावशाली छन्। छोटा कवितामा पनि शक्तिशाली प्रभाव देखिन्छ। कविता लामो भएर मात्र हुँदैन, छोटोमा पनि धेरै भन्न सकिन्छ भन्ने उहाँबाट सिक्न सकिन्छ।

नेपाली साहित्यलाई उहाँका केही कृतिले पहिचान र विशिष्टता दुवै दियो। त्यो बेला धेरै कवि थिए, थुप्रै कविता लेखिए तर त्यो एलिट वर्गका लागि, बुद्धिविलासका लागि बन्यो। उहाँको कविताको विशिष्टता भने आम सर्वसाधारणसम्म पुग्ने खालको थियो। जनजीविकाका कुरामात्र होइन राजनीतिको दुराग्रहलाई पनि सरस शैलीमा उहाँले लेख्नुभयो। कविता पनि गीतजस्तो साधारण मान्छेसम्म पुग्ने र मुखमा झुन्डिरहने हुन्छ भन्ने त उहाँका कविताबाटै थाहा भइहाल्छ।

कवितामात्र होइन कवि स्वयं पनि स्वाभिमानमा अडिग हुनुपर्छ भन्ने मान्यता थियो उहाँको। त्यस बेला कवि झुत्रेझाम्रे भएर र झोला बोकेर हिँड्नेमात्र होइन, सुकिलो र आत्मनिर्भर हुनुपर्छ अनिमात्र सामाजिक मर्यादा र पहिचान पाइन्छ भन्ने ठान्नुहुन्थ्यो।

२०१७ पछि प्रयोगवादी धारका कविता बढी लेखियो। मोहन कोइराला वा ईश्वरबल्लभका कवितामा पनि परिवर्तनको छनक पाइन्छ तर ती अति बौद्धिक तहका छन्। तिनले आम जनमानसलाई छुन सक्दैनन्। त्यही कालखण्डमा सोही स्वरलाई भूपिले सरल शैलीमा सबैले बु‰न सक्नेगरी लेख्नुभयो। तत्कालीन व्यवस्था र सत्तालाई सरल कविताले पनि ठोक्न सकिन्छ भन्ने प्रयोग उहाँले गर्नुभयो। शब्द प्रयोगमा पनि शिष्टता छ, सचेत र कोमलता छ। घन्टाघर, लाहुरे, हिमाल, मैनबत्तीजस्ता सामान्य विम्बमा सशक्त कविता सिर्जना गर्नुभयो।

सनातनी कविता लेखनको यात्रा छोडेर नयाँ ट्रेन्ड स्थापना गर्न उहाँको ठूलो योगदान रह्यो। कुनै जात, धर्म, सम्प्रदाय र क्षेत्र विशेषका मात्र लेखक होइनन्, भूपि। अहिले कविहरूमा छोइछिटो गर्ने प्रवृत्ति देखिन्छ। उहाँ त्योभन्दा निकै माथि हुनुहुन्थ्यो, र त सबैका साझा कवि बन्नुभयो।

त्यस बेला पनि वैचारिक धरातलकै आधारमा गुटको चर्चा सुन्ने गरिन्थ्यो। तर उहाँमा त्यस्तो देखिएन। नयाँ सडकमा दुइटा रेस्टुरेन्ट थिए। भनिन्थ्यो— एउटामा मोहन कोइरालाको समूह बस्थ्यो, अर्कोमा भूपिको। भन्नेहरूले उनीहरूको वैचारिक भिन्नता र फरक गुटको रूपमा पनि व्याख्या गरे तर मलाई लाग्छ— त्यो आफ्नो आर्थिक हैसियतको कडी पनि थियो कि! हुन त अहिले पनि एकसे एक विचार र समूहका कविहरू पनि देखिरहेकै छौं। त्यो बेलादेखि नै जुनसुकै विचारधाराका साहित्यकार भए पनि साँझ परेपछि सामूहिक रूपमा पिपलबोटमा भेला हुने चलन बसिसकेको थियो।

खराब बानी

उहाँको सबैभन्दा खराब बानी नै ‘पिउने’ हो। यति असाध्य पिउने कि परिवार र साथीभाइले पनि रोक्न सकेनन्। पछिल्लो समय साहित्यिक पत्रकार संघको कार्यक्रमबाट फर्किंदा उहाँको स्वास्थ्य अवस्था खस्किइसकेको थियो। त्यसपछि गल्दै जानुभएका उहाँलाई बचाउन सकिएन।

रक्सीलाई व्यवस्थित गर्न सक्नुभएको भए, पछिल्लो समयमा मुलुकमा आएको राजनीतिक परिवर्तनलाई सहजताका साथ लिएको भए र अल्पायु नभएको भए नेपाली साहित्यले उहाँबाट अँझ धेरै लाभ लिन सक्थ्यो। रक्सी खाएकोमाभन्दा पनि आफ्नो स्वास्थ्यको ख्याल नगरेकोमा मलाई बढी दुःख लागेको छ।

राजासँग झुकेर व्यवस्थाको पक्षमा लागेको गलत आरोप बढी लगाइने गरिन्छ उहाँलाई। तर आरोप लगाउनेहरूले बु‰नुपर्छ कि सिर्जना पहिलो सर्त हो, समाजमा पर्ने प्रभाव दोस्रो। मानिसहरू पिउने बानी, रोमान्टिकतामाथि किन बढी खोजीनीति गर्छन्, मैले बु‰न सकेको छैन। के उद्योगपति, राजनीतिज्ञहरू पिउँदैनन्? उनीहरूका त्यस्ता व्यक्तिगत आचरणमाथि कसले लेखेको छ? तर कवि कलाकारका व्यक्तिगत जीवनमाथि चियो गर्ने प्रवृत्ति पहिले धेरै थियो। भूपिको व्यक्तिगत जीवनको चासो लिने र त्यसैलाई समाएर बदनाम गराउने प्रयास निकै भए। सम्झँदा निकै दुःख लाग्छ।

पहिलेका कविको पेसा नै कविता लेख्नु हुन्थ्यो, ऊमाथि प्रहार बढी गरिन्थ्यो। अहिले कविका अन्य पेसा–व्यवसाय पनि छन्। लेखनलाई निरन्तरता दिन थालियो, खानका लागि कवितै लेख्नुपर्छ भन्ने अवस्था अब रहेन। त्यसैले वैयक्तिक जीवनमाथि औंला ठड्याउन कम भएको छ। तेजोबध गर्ने प्रवृत्ति पहिलेजस्तो देखिन्न।

कविको व्यक्तिगत जीवन र व्यवहारभन्दा उसको लेखन कति प्रभावशाली छ त्यो मूल्यांकन गरिनुपर्छ। के भूपिको रोमान्टिक जीवनशैली, रक्सी सेवन गर्ने बानीकै कारण अहिलेसम्म चर्चा भइरहेको हो त? त्यो त उहाँको लेखन र कविताको शक्तिले बचाइराखेको हो नि।

समाजमा रक्सी खाने धेरै हुन्छन्, प्राकृतिक रूपमा विपरीतलिंगी हुनुको बोधले महिलामाथि हेर्ने नजरमा हरेकको केही कमजोरी हुन सक्लान्। तर, यति धेरै हातै धोएर खोजी गरिनुहुन्न ताकि त्यसले कसैको व्यक्तिगत जीवन वा लेखनकर्म नै बर्वाद नहोस्।

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.