~हरि अधिकारी~
मौनव्रत लिन बाध्य मेरो टेलिफोन
निःशब्द छ र छ अशान्त पनि,
रिसले होस हराएको लाटो मान्छेले झैँ
चिथोर्न खोज्छ
मभन्दा निर्धो छ, सक्दैन,
मनभित्रको हाहाकारलाई
घाँटीमै दबाएर
अस्फुट स्वरमा रोइरहेकी
बलात्कृत किशोरीझैँ
शब्दहीन झोक्राइरहन्छ ।
स्मृतिका गल्लीहरूमा पुगेर
खोज्न चाहन्छ मेरो मृत टेलिफोन
जीवनको त्यो तीखो सङ्गीतलाई,
जो उसको हृदयबाट उठेर
वातावरणमा झङ्कृत भइरहन्थ्यो,
उसको आत्माको कोषागारमा भेटिने
प्रेमको उछ्वास,
विरह वेदनाका विरसिला गीतहरू,
व्रि्रोहको पहरामा फुल्ने आदिम फूल,
र, तेजिला विचारहरूको न्यानो रापलाई पनि
ऊ फेरि एकपल्ट अनुभव गर्न चाहन्छ ।
मतिर उसले फ्याँक्ने गरेको तीखो दृष्टिमा
उसको त्यही आग्रह मुखरित भएको छ
म भने मेरो टेलिफोनको
निभ्दै गएको नाडी र
धमिलिँदै गएको मुटुको ढुकढुकीबाट
अत्तालिएको छु र
आफै पनि लाटिँदै जान थालेको छु ।
वरिपरि हेर्छु प्राणहीन टेलिफोनसँग
आँखा जुधाउन सक्दिन
बासी विचारहरूको सडान्ध लास बोकेर
म निरुद्देश्य भौँतारिइरहन्छु
मौनव्रत लिन बाध्य मेरो टेलिफोन
मलाई देखेर अन्तिमपटक अलिकति हाँस्दछ
र सधैँका लागि चकमन्नताको भुमरीमा हराउँछ ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क १३०)