~छविलाल कोपिला~
अचेल किन हो खै !
हामी भ्रममा छौं या शब्दकोष
यहाँ त हरेक पाइलाहरुमा
शब्दहरु झूठ बोल्न थालेछन् ।
‘ब्वाँसा’हरु साच्चिकै जंगलतिर हुनुपर्ने
‘ब्वाँसा’हरु गुफाभित्र हुनुपर्ने
तर, उनीहरु जंगलतिर छैनन्
गुफाभित्र पनि छैनन्
‘ब्वाँसा’हरु त अचेल
मञ्चमा उभिएर
‘समावेशीकरण’को ढ्वाङ्ग फुक्दै
‘वर्गीयता’को रातो तूल बिछ्याएर
बोल्नेहरुलाई
‘सम्प्रदायिकता’को बिल्ला भिराएर
आफू भने ‘अति–जातिवाद’ लाद्दै
तुलामा विभेद गरिरहेछन् ।
र, यतिबेला उनीहरु
क्रान्तिको आवरणभित्र
‘सुख’, ‘सयल’ र ‘बिलासिता’को धागो काट्दै
‘सम्भ्रान्त’हरुको सुइरोले
नयाँ ‘सामन्तवाद’को जाल बुनिरहेछन् ।
अनि, उनै ‘ब्वाँसा’हरु
आकाशमा स्वतन्त्र उड्नेहरुका
आकाशमै पखेटा काटिरहेछन्
धर्तीमा हिड्नेहरुका निमित्त
धर्तीमा धराप थापिरहेछन्
र, हजारौं मनहरुको
निर्मम हत्या गरिरहेछन् ।
उसैगरी ‘बाँदर’हरु बाँदर जस्ता छैनन्
भोका–नाङ्गा पनि छैनन्
उनीहरु त अचेल
कसैको भात र नून चपाएर
‘सिंहासन’मा विराजमान छन् ।
र, कालो पर्दा्भित्रबाट
‘धम्की’, ‘भय’ र ‘त्रास’का भाषा बोलिरहेछन्
नैतिकताहरु पैतलामुनि च्यापेर
फेरि पनि मान्छेहरुलाई
फोहर हिलो छ्याप्दै
‘कमारा’ र ‘कमारी’ बनाउन खोजिरहेछन्
अनि, ‘दासता’को जञ्जीरमा कसिरहन
मान्छेहरुलाई नदी किनारमा
बालुवाको घर बनाउन उत्प्रेरित गर्दै
आफू भने टाँरीमा बसेर
पक्की महल ठड्याइरहेछन् ।
पीडामा
जमीनभन्दा मुनिसम्म झुक्ने ‘बाँदर’हरु
यतिबेला ‘हनुमान’हरुका बुई चढेर
आफ्नो उचाईको ‘अहंकार’ गरिरहेछन्
र, मान्छेहरुका ‘हैसियत’ नाप्न
उचाईमा फित्ता लगाइरहेछन् ।
त्यसैगरी हजारौं जनहरुको
रहरका धुमिल मनसागरमा उभिएर
फेरि पनि
आश्वासनका रंगीन कथा लेखिरहेछन्
र, भ्रमका असंख्य अक्षरहरुले
मानवीय कागजमा
कालो मनोविज्ञान छापिरहेछन् ।
यी भ्रम बोकेका असंख्य झूठहरुले
केही समयको यो जुगमा
‘हुस्सु’ र ‘कुहिरो’ बनेर
‘पूर्णिमा’मा ग्रहण लगाइरहन सक्छन्
मनभरी सजाएका सपनाहरुमा
त्रासको भूत बनेर
तर्साइरहन सक्छन् ।
तर, तिमी बाँदरहरु हो,
तिमी ब्वाँसाहरु हो,
याद गर !
तिमीले ओढेका नक्कली आवरणहरु
र सँधै रनभुल्लमा पारिरहने
‘हुस्सु’ र ‘कुहिरो’ फारेर
एक दिन
पूर्णिमाले जून उदाएरै छोड्छ,
र, मनभरिका सपनाहरु
पाखाभरि राताम्मै फुलेरै छोड्छन् ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)