~राजव~
चाल्र्सटाउन हेल्थ केयर सेन्टरको डेस्कमा लगभग चालीस पार देखिने खैरेनी काम गर्दै थिई । निकै मोटी ऊ कुर्सीमा पूरै कोच्चिएकी थिई । म डेस्कमा उभिन आएको देखेपछि उसले आफ्ना नीला आँखा मतिर उचाल्दै सोधेकी थिई,
“मे आई हेल्प यू ?”
“ओ यस ।” भन्दै मैले उसलाई आफ्नो उपस्थितिको पत्र र मेडिकल बीमाको कार्ड खल्तीबाट झ्किेर दिएको थिएँ । मैले दिएको पत्र र बीमाको कार्ड लिएपछि ऊ कम्प्युटरको मोनिटरमा फर्की । ती पत्र र कार्ड हेर्दै ऊ किबोर्ड चलाउन थाली । उसले त्यसमा मेरो नाम, जन्ममिति र इन्स्योरेन्स नम्बर टाइप गरी शायद । त्यत्ति गरेर माउस नचाउँदै एकछिन ऊ मोनिटरमा घोरिई । त्यसपछि ‘अलराइट’ भन्दै ऊ मतिर फर्की र भनी,
“अल सेट… यू फाइन… दे विल कल यू… टेक योर सीट ।”
“ओके, थ्यान्क्यू ।” मुखबाट यत्ति निकालेर म लवीको कुर्सीहरूतिर फर्किएँ । र, म्याग्जिन होल्डरबाट एउटा पत्रिका थुतेर त्यताका तीन चार खाली कुर्सीमध्ये आफूलाई ठीक लागेको एउटामा बसें ।
वरिपरिका कुर्सीमा अरू दश पन्ध्र जना महिला, पुरुष प्रतीक्षामा छन् । म लवीबाट बाहिर लन देखिने दिशातर्फको कुर्सीमा बसेको थिएँ । बाहिर मध्य जुलाइको घाम निर्वाध चर्किरहेको थियो । आकाशको रूप बादलले कतै बिगारेको थिएन । बाह्र बजिसकेको समय हो । वातावरण चर्को गर्माउने ताप अझ् चढ्दैथियो । लनका मसिना हरिया घाँस, फूलका पात र पत्तीहरू हल्का नाचिरहेका थिए । लनतिर घुर्न छोडेर म म्यागजिनका पानाहरू पल्टाउन थालेको थिएँ । डाक्टरका मेडिकल असिस्टेन्टहरू बाहिर निस्किएर लवीमा पर्खिरहेका बिरामीका नाम ‘मिस्टर मर्फी’, ‘मिसेस तानिया’, ‘मिस्टर लोएड’ भन्दै डाक्न आइरहेका थिए । म आफ्नो नाम डाकेको सुन्न नछुटोस् भन्नेमा सतर्क थिएँ । त्यसको लागि म वेला वेला पत्रिकाका पानाहरू हेर्न छोडेर मेडिकल असिस्टेन्टहरू निस्कने ढोकातिर चियाउँथें ।
मैले लगभग पौने घण्टा कुर्नु प¥यो ।
“मिस्टर माधव ।”
“म यहाँ छु” भन्दै म जर्याकजुरुक उठें ।
मलाई डाक्ने मेडिकल असिस्टेन्ट निग्रो केटी ढोका खोलेर मतिर मुस्काइरहेकी थिई । निश्चित हुन उसले मलाई सोधी,
“आर यू माधव ?”
“यस ।”
“कम इन ।”
भित्र बूढो मलाई बाटो छोडिदिन लट्ठी टेक्दै छेउ लागेर उभिइरहेको रहेछ । ऊ चिने झैँ मलाई घुर्दै मुस्काइरहेको थियो । तर, अगाडि बढ्ने हतारोमा मैले ऊतिर चासो दिइनँ । बूढोले काली केटीलाई सोधेको थियो,
“हाउ आर यू यङ्ग लेडी ?”
“भेरी गुड, एण्ड यु पापा ?”
“गुड, गुड ।” बूढोले कालीलाई भन्दैथियो ।
त्यतिन्जेलमा म डाक्टर जेम्स मोरगनको कोठामा पसिसकेको थिएँ । बाहिर निस्कँदा दुई बजिसकेको थियो । बूढो ढोकाको ठीक अगाडिको सेतो कुर्सीमा लट्ठीको ह्यान्डिलमाथि खप्टिएका आफ्ना दुवै हातमा चिउँडो अड्याएर कसैको प्रतीक्षामा झ्ैं ढोकातिर घुरेर बसिरहेको थियो । ढोका बाहिर निस्कनासाथ मेरो आँखामा बूढोको यो मुद्रा झ्ल्केको थियो । तर, मलाई उसको ध्यान मतिर छ भन्ने लागेको थिएन । म डाक्टर मोरगनले टाइप गरेर दिएको चार प्रति कागज लिएर मेडिकल क्लर्कको डेस्क अगाडि उभिन गएँ । उसले दुई मिनेट कुराई । त्यसपछि उसले मैले दिएका कागजहरू फिर्ता गर्दै भनी,
“योर नेक्स्ट अप्वाईन्टमेन्ट उड बी अन सेप्टेम्बर सिक्स, ओके ?”
“ओके ।”
“देन, यू अलसेट नाउ ।”
म चल्तीको ‘थ्यान्क्यू’ भनेर बाहिर निस्कन मूलढोकातिर फर्कें । मेरो गतिविधि नियाल्दै बूढोले मलाई नै कुरिरहेको रहेछ । म बाहिर लम्कन थालेको देखेर बूढो हडबढाउँदै करायो,
“वेट… वेट !”
म हठात् पछाडि फर्किएँ । र, बूढोलाई लट्ठी टेक्दै सोफाबाट उठ्न चटपटाएको देखें । सोफाबाट उठेर आठ कदम परको मलाई भेट्न बूढोले लगभग दुई मिनेट लगायो । बूढोले मतिर लट्ठी लम्काएपछि बूढोलाई चिन्ने कोशिशमा थिएँ म । बूढो नजिक आउन्जेलसम्म म यही कोशिशमा थिएँ । आएर मेरो कुम समाउँदै बूढोले सोध्यो,
“नेपाली हैन ?”
“हो ।”
मेरो “हो ।” सुनेपछि आश्वस्त भएर बूढोले भन्यो,
“त्यसैले बोल्न मन लागेर… ।”
बूढोको यो भनाइ आत्मीय थियो । बाहिर सँगै निस्कने हिसाबले बूढोले भन्यो,
“ल हिंड्नोस् ।”
बूढोले आफ्नो देब्रे हात मेरो कुममा राखी नै रहेको थियो । हामी अस्पतालको लवीबाट बाहिर लनमा निस्किसकेका थियौं । अपरान्हको वेला थियो । अस्पतालको सुन्दर लनका फूलहरू र मुठारेर सम्म पारिएका हरिया घाँसहरूमा घामको रनक यथावत् जारी थियो । बूढोले आफ्नो खुइलिएको तालु क्यापले छोपेको थिएन । बूढोलाई घामको राम्रै दनक महसूस भएको हुनुपथ्र्यो । किनभने मेरो कुमबाट हात झ्किेर बूढोले आफ्नो तालु सुम्सुम्याइरहेको थियो । बूढोले मलाई सोध्यो,
“के तकलिफ छ तपाईंलाई ?”
“रेगुलर चेकअपमा आएको हुँ ।” भन्दै मैले बूढोसँग पनि सोधें,
“अनि यहाँलाई ?”
“ममाथि त धेरैले घोडा चढेका छन् ।” ठट्टाको पारामा भन्दै
बूढोले आफ्ना सबै शत्रुहरूको नाम लियो (ब्लड प्रेसर, सुगर, कोलस्ट्रोल, प्रस्टेट … ।
बूढो, बूढो मात्र हैन वृद्ध नै भइसकेको थियो । यतिन्जेलमा मैले उसको उमेरको अनुमान गरेको थिएँ । त्यसकारण आफ्नो अनुमानको सफलता बुझन बूढोलाई सोधें,
“कतिको हुनुभयो ?”
“त्यस्ता शत्रुहरू पछि लागेपछि उमेरको अर्थ के रह्यो र ?” बूढोले फेरि बाङ्गो जवाफ दियो । यति कुरा गर्दै बूढोकै सुस्त चालमा पुनः आफ्नो कुमको भर दिंदै म पार्किङमा रहेको बूढोको मर्सिडिजसम्म पुगेको थिएँ । नयाँ मोडलको चमकदार कालो मर्सिडिज कार देख्नेवित्तिकै मेरो मन बोलेको थियो– वाह् ! सम्पन्न रहेछ बूढो ।
बूढोले आफ्नो मर्सिडिज म्यापल वृक्षको छायाँमा रोकेको रहेछ । कारकै ढोकामा अडेसिएर बूढोले सोध्यो,
“नेपाल कहाँको तपाईं ?”
“काठमाडौं ।”
काठमाडौं सुनेर बूढो एकदम उत्सुक भयो ।
“काठमाडौं कहाँ ?”
“चाबहिल, अनि हजूर ?”
“डिल्लीबजार ।”
“ए… ।”
बूढोले फेरि मेरो कुम अँठ्यायो । र सोध्यो,
“कति भयो अमेरिका आउनुभएको ?”
“दश वर्ष ।”
“अनि सिलसिला ?”
“भन्नाले ?”
“के हिसाबले आउनुभयो यता ?”
“एच वान भिसामा आएको ।”
“कम्पनी ?”
“इन्टेल ।”
“ओ ! कम्प्युटर क्षेत्रको हुनुहुँदो रहेछ ।”
“अनि हजूर ?”
“म केही गदिनँ, यै अस्पताल धाउँछु, डाक्टरको अर्ति–उपदेश लिन्छु ।” मैले बूढो आफू चाहिं अमेरिका कहिले आयो भन्ने जान्न सोधेको, तर बूढोको मुखबाट यस्तो ठट्यौलो जवाफ निस्केपछि फेरि सोधें,
“हैन हजूर यता अमेरिकामा कहिले पाल्नुभयो भन्ने जान्न खोजेको ।”
“नाइनटिन सेभेन्टी थ्रीमा आएको हुँ । अब तपाईं नै हिसाब गर्नुस् ।”
मैले बूढोकै ढर्रामा सोधें,
“सिलसिला ?”
बूढोले फेरि घुमुर्किएको जवाफ दियो,
“लाहुरे हुने ।”
मलाई बूढोसँग कुरो गरेर पार नपाइने लाग्दैथियो । त्यसकारण उम्कन मैले आफ्नो कारको साँचो खल्तीबाट निकाल्दै भनें,
“हस त हजूर ।”
“कहाँ बस्नुहुन्छ ?”
“वाटर टाउन ।”
“हामी धेरै फरकमा रहेन छौं । आउनुस् न मकहाँ ।”
“हुन्छ नि !”
“कसरी हुन्छ नि ? ठेगाना नै सोध्नुभएको छैन ।”
“हजूर भनौं न ।”
“कलम कागज त लिनुस् ।” भन्दै बूढोले कारको ढोका खोल्यो, र भित्र ड्यासबोर्डको पकेटबाट बलपेन र कागजको टुक्रो निकालेर मलाई दियो । तयार हुँदै मैले भनें,
“हजूर भनौं ।”
“ल लेख्नुस्, ट्वेल्भ स्कूल स्ट्रीट नम्बर सिक्स लेक्सिङगटन एमए जिरो टु फोर सेभेन सिक्स ।”
मैले लेखें र बूढोलाई बलपेन फिर्ता गरें । बूढोले भन्यो,
“तपाईंको फोन नम्बर दिनुस् ।”
“सिक्स वान सिक्स नाइन वान टु फोर फोर सेभेन सेभेन ।”
बूढोले मैले भनेको यो नम्बर दोहोर्याई, तेहर्याई सोध्दै बिस्तारै लेख्यो । र, सोध्यो,
“पकेट फोन हैन त ?”
“हजूर ।”
“ल तपाईं पनि मेरो फोन टिप्नुस् ।” भन्दै बूढोले नम्बर भन्यो । र, मैले बूढोले भनेको नम्बर आफ्नो मोबाइलमा साँचें । बूढोले फेरि सम्झयो,
“मेरो चाहिं घरको हो नि !”
“हस् ।”
“ल आउनुस् है ? आउने दिन फोन गर्नुहोला । कहिलेकाहीं यो डाक्टरको मुख हेर्न मन लाग्छ र निस्कन्छु, नत्र घरमै हुन्छु । आउनुस् है ?”
“हस, अनि हजूरको नाम ?”
“भोलानाथ, …खनाल हुँ म, …नेपालमा मलाई बीपीबाबुलाई झैँ भोलाबाबु भन्थे, यहाँ त कुइरेहरू मलाई इनिसियलमा भीके भन्छन्, यताका नेपालीले तिनको सिको गरेर भीके बूढो भन्छन् … ।”
यसपछि पनि नामको निहुँमा भोला बूढो मलाई अझ् अल्मलाउने कोशिशमै थियो । तर, मैले उम्कने नमस्कार गरिहालें । बूढोले आफ्नो कारको पछाडिको ढोका खोलेर लट्ठी सीटमा फाल्यो ।
म आफ्नो कार सडकतिर सोझयाउन थाल्दा भोला बूढो ड्राइभर सीटमा बसेर सिटवेल्ट बाँध्दै थियो । बूढोलाई हेर्दै मैले हात उठाएँ । भोला बूढोले मेरो कारभित्र उचालिएको हात देख्यो र दाहिने हात हल्लायो ।
यो हातहल्लाइको तीन महीनापछि अर्थात् अक्टुबरको दोस्रो शनिबार मलाई एक अप्रत्याशित कल आयो, यिनै भोलानाथ बूढोको ।
“हलो तपाईं माधवबाबु हो ?”
“हो ।”
“ख्वै तपाईं त हराउनुभयो ?”
“मैले हजूरलाई सम्झ्रिहेको थिएँ ।” अलि लज्जित स्वरमा मैले भनें ।
तर भोला बूढोले व्यङ्ग्य दागेको थियो,
“सम्झेको यस्तै हुन्छ त ?”
“अलि व्यस्त थिएँ ।”
“हुनै प¥यो ।” यो पनि मलाई बूढोले व्यङ्ग्य कसेकै जस्तै लाग्यो । थप व्यङ्ग्यबाट बच्न मैले भनिहालें,
“भोलि आउँला नि हजूर, सन्डे पनि हो ।”
“ल भोलि हैन, पर्सि मन्डे आउनुस्, दशैंको टीका त्यही दिन हो थाहा छ कि छैन माधवबाबु ?”
“छ ।”
“हो त्यसैको लागि मैले तपाईंलाई फोन गरेको, मकहाँ आउनुस् पर्सि टीका लगाउन, तपाईंलाई निम्तो ।”
वास्तवमा अमेरिका आएदेखि अहिलेसम्म मलाई कसैले दशैंको टीकाको लागि डाकेको थिएन । त्यसकारण म भोला बूढोको अप्रत्याशित निम्ता सुनेर भावुक हुँदै अकमकिएको थिएँ । बूढोले यस्तो थपिहाल्यो,
“हेर्नुस् हरेक साल म आफ्ना नेपाली भाइबन्धुहरूलाई दशैंमा डाकेर टीका लगाइदिन्छु । मुश्किलले बाह्र तेह्र जना हुन्छन् । डाक्न त सय, पचासभन्दा बढीलाई डाक्छु तर आउने त्यति नै हुन्, कसलाई फुर्सत ? सब काम र दाममा कुदेका छन् ।”
भोला बूढोको यी कुरो सुनेर म भावुक बन्दो थिएँ । मैले केही भन्न पाएकै थिइनँ बूढो बोल्यो,
“आउनुहुन्छ ?”
मैले भन्नै पर्योो,
“आउँछु ।”
निश्चित हुन भोला बूढोले फेरि सोधेको थियो,
“आउनुहुन्छ ?”
“आउँछु ।”
यसपछि भोला बूढाले खुशीमा भनेको थियो,
“देन सी यु टीकाको दिन ।”
“हस् ।”
तर म त्यसरी “हस्”, “आउँछु” भन्दाभन्दै पनि भोला बूढोकहाँ टीका थाप्न गइनँ । किनभने अफिसबाट छुट्टी लिन सक्ने स्थितिमा म भइनँ । मेरो दिन छट्पटी र पछुतोमै बित्यो । तर, भोला बूढोले यही ठान्यो होला– कसलाई फुर्सत ? सब काम र दाममा कुदेका छन् ।
(स्रोत : हिमाल खबर ३ कात्तिक २०७०)