~ललिता ‘दोषी’~
छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको
तिम्रै नामले पनि उठ्छ शिर देशको
नेपालीका गहभरि छ तिम्रै तस्बिर आज
धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज ।
नेपालीका धुकधुकीहरूमा तिमी सुस्तरी चल्मलाउँछौँ
रवि, शशी तिमी, तिमी किन पो बिलाउँछौँ
लाग्छ छहरा, पहरा आज तिम्रै गीत गाउँछन्
मोती दन्त देखाउँदै हिमाल मुस्काउँछन् ।
लक्ष्मी, लक्ष्मी भन्दै लाग्छ पहाड जुरमुराउँछ
थकित बटुवा पनि तिम्रै गीत गुनगुनाउँछ
मेरो लक्ष्मी पुनः जन्म भन्दै आमा कोक्याउँछिन्
तिम्रै सम्झना धर्ती लाग्छ गह रुझाउँछिन् ।
लहरा, पहरा, छहरा लाग्छ तिम्रै सम्झनामा टोलाउँछ
कुहूकुहूँ गर्दै कोइली लाग्छ तिमीलाई बोलाउँछ
मणिरत्न तिमी, हौ अजम्बरी फूल
भुल्ने छैन नेपालीले तिम्रो अमूल्य गुण ।
-बुद्धनगर, काठमाडौँ
(स्रोत : मधुपर्क २०६६ कात्तिक)