कविता : दशैँमा भेटौँ

~केदार शर्मा~

मिता,
मैले त कहिल्यै बिर्सिन सकिँन
तपाईँ र मलाई साथै राढीमाथि बसाएर
मितबा मितामाले निधारै ढाकेर
दुईहातले लगाइदिएको टीका
“छोरा, तेरो बाजेलाई जस्तो आउँदैन है हाम्लाई त देउताको भाषा
हाम्रै भाषामा आसिक दिन्छुङ –
दिइखाने भएस्, मागिखाने नभएस्
चिताएको पुगोस्- तर राम्रो चिताएस्”
“घरमा भन्दिन्न, खुसुक्क खाऊ!” – मझेरीमा, काँसको बटुकामा
मितदिदीले हाँस्दै, जम्लेहात गर्दै दिएको
सुँगुरको खारेको मासुको डरसरीको नौलो स्वाद
र मितामाका हातका ठूल्ठूला सेलरोटी र फिलुङ्गेको धूलो अचार
“यो पनि खान्छ कि? दे न” – मितबाले औँल्याएको डबको
“धत्, हल्लिँदै घर पुग्यो भने मार्छ त्यसको बाजेले”
र एउटा हाँसो – जसले सिलाएको थियो हामीलाई
फुटबलका छालाका टुक्राहरूलाई जसरी नै
र भरेर उत्साहको हावा
हामी मरुञ्जेल उफ्रिन्थ्यौँ इस्कुलको ‘गराउन’ मा
कहिले राई गाउँ र कहिले बाहुनगाउँ – सौ रुप्पे बाजी
कहिले माथ्लो गाउँ र तल्लो गाउँ – फुटबलकै बाजी
कहिले माघे र सुन्तले – शेखाशेख मात्र
अहिले पनि उफ्रन मन लाग्छ – बरु हाँसुन् हेर्नेहरू।

हुन त हिजोआज पनि उस्तै त हो
असोजका जुनसँगै बढने जमरा मात्र होइन
उमङ्ग पनि बढदै जान्छ – कसैले डालैले छोपे पनि
आकास उसरी नै उज्यालिन्छ
र दर्किइहाल्यो भने पनि
पानीले समेत सबैको गाली खान्छ- “दशैँको बेला पनि…”
पहिलो घाम देख्नासाथ पारिजात उसरी नै फुल्छ आँगनभर
केराका घरीहरू परालमा घुस्रन्छन्
र खिँइँदा बुङ्गाहरू चखिलिन्छन् भकिमिलाको चुकले।

मनाउँदिन भन्दैमा दशैँ कहाँ छेकिन्छ र आँगनमा आउनलाई
र मनमा छिर्नलाई
“टीका चैँ लाउन छाडियो…” भन्दै भए पनि
खानपिन चलेकै छ
पिङ मच्चिएकै छ
दुईचारहात म्यारिज – हारे पनि रमाइलो भएकै छ
मलाई थाहा छ मिता,
दशैँले तपाईँका घरको बाटो बिर्सेको हैन – न तपाईँले उसको अनुहार बिर्सेको हो
तर दशैँ तपाईँका घरमा भित्रिन नपाएकोले
म मात्र बाहिर परेको हैन,
हिजोआज त मितभेना पनि आउनुहुन्न क्यारे एकातिर पेरुङगोभरि सिसार
र अर्कोतिर रेडियो भिरेर
मितदाजु पनि जानुहुन्न क्यारे ससुराली
दिदीसित भेट नभएको पनि धेरै भयो
नियम मात्र हैन, नियमितताहरू पनि भत्किए
आफन्ती बाहेक अर्काको त केही थाहै पो हुन छाड्यो
‘मान्छेका भाषामा’ आसिक सुन्न पाइन छाड्यो
“हिन्दा ठेस नलागोस्, नुहाउँदा केस नझरोस्
दिइखाने भएस्, मागिखाने नभएस्”

कदाचित मलाई जसरी नै तपाईँलाई पनि न्यास्रो लागेको भए दशैँको
र अरूले के भन्लान् भन्ने मात्र पीर लागेको भए
हटाऊँ मिता, आँट गरेर हटाऊँ बेकारको तगारो
र हालौँ त्यो फडके फेरि
रमरउस पनि तेरो र मेरो हुन्छ?
आशिक र शुभकामना पनि उसको र हाम्रो हुन्छ?
घरमा नभए पिङ हालेका ठाउँमा भेटौँ
मैले केही बिराएको भए सिर उठाउनी लिएर आउँला
मितिनीले तानमा बुनेको एउटा टोपीको कपडा भए पुग्छ मलाई
मितामाले भन्नुहुन्थ्यो नि, “फर्सी टाउके काठालाई कम्ती ता सुहाउँदैन…”

मलाई मेरा छोराछोरीका निधारमा पनि
वल्लोछेउदेखि पल्लोछेउसम्म टीका हेर्न मन छ
तिनीहरूले पनि मैले पाएजस्तै आसिक पाउन् भन्ने लागेको छ
अखवारमा, आन्दोलनहरूमा होइन
सम्झनामा वा कवितामा समेत होइन
घरमा भेटौँ न मिता,
दशैँमा भेटौँ
बत्तीका अगाडि, राढीमाथि भेटौँ।

October 2, 2011

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.