~उमाशङ्कर द्विवेदी~
एउटा राजाको अत्यन्त सुखदायी शयनागार थियो । त्यस शयनागारमा आरामदायक ओछ्यान थियो । त्यस ओछ्यानमा अत्यन्त सुकिलो तथा सफा तन्ना ओछ्याइएको थियो । त्यस तन्नाको सन्धि (जोड)मा मन्दविसर्पिणी नाम गरेको एउटा जुम्रा बस्दथियो । राजाको स्वादिलो रक्तपान गरेर उसको समय आनन्दपूर्वक बितिरहेको थियो ।
एक दिन कतैबाट डुल्दाडुल्दै अग्निमुख नाम गरेको एउटा उडुस त्यस शयनागारमा आयो । त्यसलाई देखेर त्यहाँ रहेको जुम्राले भन्यो–अरे अग्निमुख, तिमी यहाँ कताबाट आइपुग्यौ ? यहाँ कसैले तिमीलाइ देख्नुभन्दा पहिले नै यहाँबाट भाग, नत्र भने तिम्रो ज्यान बाँच्ने छैन ।
उडुसले भन्यो–हेर, घरमा आएको कुनै अतिथिसित यस्तो कुरा गर्नुहुँदैन । त्यो अतिथि दुष्ट नै किन नहोस, उसलाई भगाउनु उचित हुँदैन । मैले आजसम्म अनेक प्रकारका मानिसहरूको विविध स्वाद भएको रक्तको आस्वादन गरिसकेको छु । ती रक्तहरू मानिसहरूको आहार दोषको कारण तिखो, तीतो, कषाय तथा अमिलो थिए । आजसम्म मैले मीठो स्वादको रगत खान पाएको छैन । यदि तपाईं कृपा गरेर मलाई यहाँ बस्न दिने हो भने विविध प्रकारका व्यञ्जन, अन्न, पेय पदार्थ, चोष्य पदार्थ तथा अवलेह पदार्थ खाएका राजाको शरीरमा जुन मधुर रगत बनेको छ त्यसलाई स्वादपूर्वक खाएर म आफ्नो जिह्वा तृप्त पार्न चाहन्छु । शास्त्रमा पनि भनिएको छ–
रड्ढस्य नृपतेर्वापि जिह्वासौख्यं समं स्मृतम् ।
तन्मात्रं च स्मृतं सारं यदर्थं यतते नर: ।।
जिह्वाको स्वाद लिनु राजा र रड्ढ दुवैको समान इच्छा हुन्छ । दुवैका समान चाहना हुन्छ । मानिसले सम्पूर्ण उद्योग यसैको निम्ति गर्दछ । अत: जब म अभ्यागतको रूपमा तपाईंको घरमा आएर भोजन माग्दैछु, यस्तो अवस्थामा तपाईं एक्लैले राजाको मधुर रगतको आस्वादन गर्नु तपाईंका लागि कहाँसम्म उचित छ ? उडुसको यस प्रकारको आग्रह सुनेर जुम्राले भन्यो–अरे उडुस, म त राजा सुतिसकेपछि उनको रगतको स्वाद लिन्छु । तिमी त नामले नै अग्निमुख हौ तथा स्वभावले चकचके हौ । यदि तिमीलाई पनि रगतको स्वाद लिन इच्छा छ भने पर्ख अनि मौका हेरेर रक्तपान गर । उडुसले भन्यो–बेस, म त्यस्तै गर्ने छु । जबसम्म तपाईंले राजाको रगत खाइसक्नुहुन्न म रगत खाने छैन । यस प्रकारले ती दुवै कुरा गर्दै थिए, यतिकैमा राजा आफ्नो ओछ्यानमा आएर सुते । राजालाई सुतेको देखेर उडुसले आफ्नो जिह्वा चापल्य र उत्कण्ठाको कारण निद्रा नलागेका राजालाई गएर टोक्यो । सियोले जस्तै तीक्ष्ण घोचाइ भएको उडुसको दंशले राजा ओछ्यानबाट व्याकुल भएर उठी बसे । राजाले अ·रक्षकलाई आदेश दिए–हेर, हेर तन्नामा जुम्रा वा उडुस रहेछ, जसले मलाई भर्खरै टोक्यो । त्यसलाई फेला पारेर अहिले मार । राजाको आदेश पाएर अ·रक्षकहरूले तत्काल तन्ना उठाएर हेर्न थाले । यसै बीच उडुस त्यहाँबाट भागेर पल·को काठको जोर्नीमा लुक्न पुग्यो । अ·रक्षकहरूले तन्नाको संधिस्थलमा जुम्रालाई फेला पारेर तत्कालै मारिदिए । त्यसैले भनिएको छ–
न ह्यविज्ञातशीलस्य प्रदातव्य: प्रतिश्रय: ।
मत्कुणस्य च दोषेण हता मन्दविसर्पिणी ।।
जुन मानिसको स्वभाव र गुणबारे जानकारी हुँदैन त्यसलाइ आश्रय दिनुहुँदैन, किनकि उडुसलाई आश्रय दिएकै कारण जुम्राको दोषको कारणले जुम्रा मारिनु पर्यो ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)