कविता : कविताको सर्वेक्षण

~विमल निभा~Bimal Niva

भलादमीहरु प्रेमगीत गाउनमा
सिपालु छन्
मन्त्रीहरु मोडर्न आर्टमा सिद्धहस्त
नृशास्त्रीहरुका कुकुरको जात
सबभन्दा उच्च
विद्यार्थीहरुलाई आफ्ना पे्रमिकाको
ब्रेसियरको नम्बर
कण्ठस्थ
छोरीको गतिशील जवानीमा
चिन्तित छ बुद्धिजीवी
सर्पाकार मुद्रामा छन् सभ्य र सुशील
पुरुषहरु
र नेताहरुको औसत आयु
सबभन्दा उच्च छ यहाँ
पुलिसहरु फ्यान्टासी कथाका नायक
उद्योगपतिहरु भ्रूणहत्यामा
सफल छन्
र साहित्यको समालोचक
ब्ल्याकबेल्ट
सफल षड्यन्त्रकारीहरु
शुभकामना बाँडिरहेका छन्
जिनियसहरु गुप्तचरी गरिहेका छन्
ठेकेदारी गरिरहेका छन् श्वेत सुँगुरहरु
र इतिहासकारहरु भविष्यवाणी
दार्शनिकहरु मन्दिरका मैथुनरत
बुट्टा हेर्नमा तल्लीन छन्
एक सय एक प्रेतात्माहरु प्लान्चेटमा
देश विकासको विषयमा
निर्णय दिइरहेका छन्
नपुंसकताको क्याप्सुल बाँडिरहेका छन्
धीर गम्भीर ईश्वरहरु
चाप्लुसीको मञ्जनले
गिजा साफ गरिरहेका छन्
सुप्रसिद्ध विदूषकहरु
एकादेशका …. वस्तादहरु
इतिहासको आँकडा सम्झेर
गौरवान्वित छन्
साहसिक योद्धाहरु लुकी–लुकी
सेवन गरिरहेका छन्
विदेशी टनिक
टेलिफोनमा प्रेमालाप गरिरहेका छन्
देशभक्त स्मगलरका ज्वाइँहरु
ऐयास भद्र महिलाको वजन
धमाधम वृद्धि भइरहेछ
चुरोटमा ह्यासिस मिसाएर
धुवाँ उडाइरहेका छन्
योजनाकारहरु
श्रीमतीको प्रेमीको बिजनेस पार्टनर भएको छ
ख्यातनाम मनीषी
कन्सेसन रेटको हवाईफेयरमा
विदेश भ्रमणमा गएका छन्
तथाकथित पत्रकारहरु
एकेडेमिसियन बजेट र गजेट छाप्ने
प्रेसको मालिक
तरुण र तरुणीहरु रिहर्सल गरिरहेका छन्
पुरस्कार पाउने टेकनिकका
र अक्षुण्ण चाकरीबाजहरु
गाईजात्राको दिन
आफ्नो मालिकलाई
व्यङ्ग्य गरिरहेका छन्
राजधानीको साततले घरमा
स्मगलिङको घिउ र चामलले
कोटिहोम भइरहेछ
भिडिओमा ब्लू फिल्म हेरी–हेरी
रमाइरहेका छन्
राष्ट्रिय गीतका रचनाकार
र समलिङ्गीहरु खटिएका छन्
नियोजित भाषण गर्न
चारै दिशातिर
न्यायाधीशहरु पाँचतारे होटल
चलाइरहेका छन्
ग्लिसिरिनयुक्त साबुनको प्रचारक भएका छन्
धुरन्धर आन्दोलनकर्ताहरु
डाक्टरहरु औषधिमा आँसु मिक्सचर गरेर
नयाँ प्रयोग गरिरहेका छन्
र निरन्तर चुइङ्गम चपाइरहेका छन्
वृद्ध बालकहरु
र वयोवृद्ध गिद्ध
पाखण्डी अभिनेताहरु शेयर बिक्री
गरिरहेका छन्
वासनारत छन् लघु राजनीतिज्ञहरु
रक्तचाप उच्च छ श्रीमान् उपकुलपतिको
र पुरस्कृत खेलाडीहरु
भजन गाइरहेका छन्

(२०४१)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.