~शशीकला थापा सुब्बा~
मैले सुने यसपालि
पहेलै भएर सुन्तलामा फल्यौ रे
मकैको जमरामा निस्क्यौ रे
धानको बालामा लहरायौ रे
खै मलाई धिक्कारयौ भन्ने
कतैबाट सुनिन
खै मलाई सरापेयौ भन्ने
कहीबाट आएन
तिमी विकट पहराहरुमा
मृत्युसंग लुकामारी गर्दै गर्दा
मा मलमलमा बस्ने रहर बोकेर
बिदेसिने तरखरमा थिए
त्यसैले तिम्रो पुकारहरु
नसुनेको हुनुपर्छ
मुटुछुने तिम्रो चित्कारहरुको
अनुभव नभएको हुनुपर्छ
अंह मैले थाहा पाइन
मेरो बिदाइमा तिमी रोएको
कसैले भनेनन् मलाई
तिमीले मलाई रोक्ने कोशिस गरेको
आज तिम्रो त्याग र बलिदानले
सिचेको धर्ती छाडिसकेको छु
तिमीले दिएको
रगतको रिन देखि
टाउको जोगाएर
भागिसकेको छु
तर मलाई तिम्रो मौन अभिव्यक्ति
ढिलो बुझेकोमा
औडाहा भएको छ
मूल्याङ्कनको तराजुमा
आफू हलुको भएपछि
कर्त्यब्यानिष्ठ तिमीदेखी
डाहा लागेकोछ
त्यसैले त यसपालिको चैतमा
तिमी गुरास भएर हास्दा
मलाई पोलेको छ
फेरी पनि तिमी चुप लाग्दा
मलाई घोचेको छ
आजभोली त मलाई
यस्तो लाग्न थालेको छ
म जिउदो हुनुको पिडा बोकेर
ओझेलमा परेको बेला
तिमी सहिदको उपनाम पाएर
देशको कुनाकुनामा
विस्तार भएको छौ
आफ्नो स्वरूपदेखि संतुस्त तिमी
मेरो क्रीतिम सास फेराइको उपहास गर्दै
इतिहासका पानाहरूमा हासिरहेको छौ
नोट -ज-जसले देशको निमित्त आफ्नो ज्यानको आहुति दिए उनै ज्ञात अज्ञात महान सहिदहरुलाई समर्पण.
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)