~भेषराज रिजाल~
बस्तीमा गोधुली भित्रिइसक्दा पनि
आमा बाबु घर नर्फकँदा
वनतिर जाने बाटो पछ्याउँदै
डराईडराई थुम्कातिर दौडँदा
पर क्षितिजका डाँडाकाँडाहरू पनि
मसँगै उफ्रीउफ्री दौडे जस्तो लाग्थ्यो
मैले बोलाउँदा पुगेर थुम्कामा
कहाली लाग्ने ठूलो भीरको
पहराले पनि बोलाउँथ्यो –
“आमा….आमा….आमा….
बा ….बा ….बा …”
आमा बा सँगसँगै घर फर्कंदा
गोठका भैँसी बाख्रा पाठा
सबैले स्वागत गर्थे –
“आईं ….आईं ….आईं ….
म्याँ ….म्याँ ….म्याँ ….”
सम्झेर बाल्यकालका ती सुखद दिनहरू
बितिरहेछ वर्तमान पनि खुसीखुसी !
चरी छोपेर ल्याइदिन
अनुनय विनय गरेपछि
बालमनोविज्ञान बुझ्ने मेरी आमाले
ल्याइदिएको चिटिक्कको सानो चरी
खेलाउने तीव्र इच्छा भए पनि
“यसका आमा बाबु रोएका होलान्
छोडिदिउँ है” भनेर आमाले फकाउँदा
खुसीसाथ छोडिदिएथेँ त्यो फिस्टे चरी
अचेल कतै हिँड्दाडुल्दा
भुर्रभुर्र उड्ने फिस्टाहरू देख्दा
“त्यसकै सन्तान त होलान् नि यी”
भन्ने मिठो कल्पनाले
मन फुरुङ्ग फुरुङ्ग भैरहन्छ !
सम्झेर बाल्यकालका ती सुखद दिनहरू
बितिरहेछ वर्तमान पनि खुसीखुसी !
बाली रूँघ्दा ओखलढुङ्गामा
भदौरे घाममा डुल्दा
लागेर प्यास
कपासे वन भन्दा तल देखिने
बढारे र जरुवा खोलाको सङ्लो पानी
खोलै सुकाएर पिउँ जस्तो लाग्थ्यो
भोकाएर भरे घर फर्कंदा
“भोकाएको भोके कमारो
उसकी दिदीले कोदो रोपेर पाकेपछि
रोटी बनाउञ्जेलसम्म
पर्खेर बस्थ्यो रे !”
भन्ने बाको कथाले
झन् भोक जगाउँथ्यो
सम्झेर बाल्यकालका ती सुखद दिनहरू
बितिरहेछ वर्तमान पनि खुसीखुसी !
आकास निचोरेर उत्साहले
लोटामा भर्न खोज्थेँ
क्षितिज समातेर उमङ्गले
पोल्टामा छोप्न खोज्थेँ
डाँडा काटेर पैतालाले
खोल्सा सम्याउन खोज्थेँ
ती सबै छोडेर एकछिन
पालीको भाटामा पिङ खेल्थेँ
सम्झेर बाल्यकालका ती सुखद दिनहरू
बितिरहेछ वर्तमान पनि खुसीखुसी !
खेतमा पानी लगाउन जाँदा
कुलामा निबुवा भोगटे बगाउँदा
घाँस दाउरा काट्न वनमा जाँदा
खोलामा गई पौडी खेल्दा
हिउँदमा गाईवस्तु खेतमा चराउँदा
खेतका गरा कान्ला कुद्दा हाम्फाल्दा
सोत्तर ओसार्न जाँदा
निर्धक्क अबेरसम्म वनमै रमाउँदा
काफल ऐँसेलु खान जाँदा
बाटो बिराएर वनमै हराउँदा
स्कूलबाट फर्केर घर आउँदा
बाटामै डण्डिबियो कपर्दी खेल्दा
बाल्यकाल मसँगै थियो
अनन्त उत्साह उमङ्ग थियो
सम्झेर बाल्यकालका ती सुखद दिनहरू
बितिरहेछ वर्तमान पनि खुसीखुसी !
रचना समय र स्थान : २०६३ पुस २२, दाङ, घोराही
प्रकाशित : प्रगतिशील लेखक संघ, दाङ शाखाको वार्षिक मुखपत्र बहिङ्गा, अङ्क ६, २०६५
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )