~रवि प्राञ्जल~
निसासेर भित्र भित्रै बन्द मेरो शहर ।
एकलास सन्नाटामा मन्द मेरो शहर ।
भेटिँदैन मन्दिरमा धूपको सुगन्ध,
बनेको छ बारुदको गन्द मेरो शहर ।
फूलहरू झरेका छन् मधुमास भित्र,
पतझर र बसन्तको द्वन्द्व मेरो शहर ।
छटपटेर भित्रभित्र रुन्छ गल्लीगल्ली,
नसुनिने स्वरभित्र बुलन्द मेरो शहर ।
बेधडक धडकिएन मुटु अझै मेरो,
मेरो आफ्नै गजलझैँ बेछन्द मेरो शहर ।
2047 सालमा पहिलो पटक ललिजन रावलको सम्पादनमा प्रकाशित ‘समकालीन नेपाली गजल’भित्र संकलित गजल
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)