~दुर्गाप्रसाद ग्वालटारे~
कतिपय नेपाली उखान-टुक्का सुन्दा कन्सिरी तातेर आउँछ मेरो। त्यसमध्येकै एउटा हो- “उल्फाको धन, फुपूको सराद्दे” ।
मलाई सबभन्दा बढी मन पर्ने र मलाई सबभन्दा बढ्ता मायाँ गर्ने मान्छे मेरी फुपू नै हुनुहुन्छ । मैले थाहा पाएदेखि नैं उहाँ हामीसंगै हुनुहुन्छ । अलि बुझ्ने भएपछि थाहा भयो कि उहाँ “बाल-बिधुवा” हुनुहुँदो रहेछ ।
गएको दुई बर्षदेखि फुपू थलिनुभो । हात-खुट्टाका जोर्नी कक्र्याक्-कुक्रुक् भएर सास्ती पाइरहनु भएको छ । घरकी जहानले सक्दो सेकताप गर्दै आएकिछिन् ।
अरू बर्षझैं यसपालि पनि दशैं आयो । बाहिरफेर चहलपहल बढ्यो । तर उहाँले के पो गर्नु ! बार्दलीमा बसेर रमिता हेर्नु बाहेक ।
म अफिसबाट थकित भएर घर आइपुगेँ । “एक्सर्साइज गर्नुभो त दिदी ?” सधैंजस्तो आज पनि सोधें । मेरो प्रश्नको जवाफ दिनुको सट्टा उल्टै प्रश्न पो गर्नुभयो- “दशैं पेस्की आयो त बाबू ?”
अहो, मैले त सोध्नै पो बिर्सिएँछु । सोधेँ- “केही किन्नु पर्नेछ दिदी ?”
उहाँ घोरिनुभो । बोल्नु भएन ।
“गुन्यूँ चोलो केही थप्ने कि ?” सोधें । मलाई थाहा थियो, उहाँलाई उपहार प्राप्त कपडा खातका खात छन् ।
जवाफ आएन ।
फेरि सोचें, ट्वाइलेटसम्म जान गाह्रो पर्न थालेको छ । सायद कमोडयुक्त कुर्सी भन्न खोज्नुभएको होला ।
त्यो पनि हैन रहेछ ।
नयाँ बिछ्यौना ? हैन रहेछ ।
सजिलो बैसाखी ? हैन रहेछ ।
जत्ति सोध्छु, केही पनि हैन । मैले असाध्यै जिद्दी गरेपछि उहाँले चोरीऔँलाको जुरुक्क उठेको हड्डी सुम्सुम्याउँदै भन्नुभयो- “रहर लागेको थियो बाबु, यसो सुनपानी छर्किन पाइन्थ्यो !”
*** *** ***
२०७४ असोज १०
कौसलटार, भक्तपुर ।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )