~उमाशङ्कर द्विवेदी~
वनको एउटा कुनामा एउटा शिकारी बस्दथ्यो । एक दिन शिकारको लागि ऊ वनमा निस्केको थियो । हिंड्दै जाँदा उसले अत्यन्त विशाल तथा कालो वर्णको एउटा बँदेल फेला पार्यो । सामुन्ने त्यस्तो अदभूत शिकार देखेर शिकारीले तत्कालै धनुषको डोरी कानसम्म तानेर तीखो वाणले त्यसमाथि प्रहार गर्यो । निशाना अचूक थियो । वाण सोझै बँदेलको जीउमा गएर लाग्यो । वाणको आघातले रन्थनिएर बँदेलले पनि आफ्नो अद्र्धचन्द्रकार भयानक दार्हा प्रहार गरेर शिकारीको आन्द्राभुँडी झारेर मारिदियो । शिकारीलाई मारेपछि वाणको आघातको कारण बँदेल पनि धराशायी भएर प्राण त्याग गर्यो ।
यसै बीच कतैबाट भोकले अत्यन्त पीडित एउटा स्याल त्यस ठाउँमा आइपुग्यो । मृत बँदेल र शिकारीको लाश आफ्नो अगाडि पाएर स्यालले मनमनै सोच्न थाल्यो–विधाता आज मेरो अनुकूल रहेछन् । त्यसै कारण आज मैले यति धेरै शिकार अनायास प्राप्त गरें । यसलाइ यत्नपूर्वक जोगाएर विस्तारै खानु बेस हुनेछ, जसले गर्दा धेरै दिनसम्म मेरो आहार चलिरहोस् । शास्त्रहरूमा लेखिएको पनि छ–
शनै: शनैश्च भोक्तव्यं वित्तमुपार्जितम् ।
रसायनमिव प्राज्ञैर्हेलया न कदाचन ।।
अर्थात् आफूले उपार्जित गरेको धनको उपभोग रसायनझैं गर्नु पर्दछ । धनको उपभोगमा कहिले पनि शीघ्रता गर्नुहुँदैन । अत: म यस प्रकारले खानेछु जसले धेरै दिनसम्म मेरो जीविका चलिरहोस् । सबभन्दा पहिले यस धनुषको दुवै किनारमा बाँधिएको छालाको डोरी खान शुरु गर्छु । यस प्रकारले सोचविचार गरेर स्यालले धनुषको डोरी काटेर चपाउने प्रयास गर्न थाल्यो । स्यालले धनुषको डोरी टोक्दा डोरी एक्कासि चुँडियो र तन्केको धनुष झटका दिएर स्यालको तालु छेडियो । तालु छेडेर टाउकोमाथि सिंग उम्रेझैं देखियो । स्याल त्यहींं ठहरै भयो । त्यसैले भनिएको छ–
अतितृष्णा न कर्तव्या तृष्णां नैव परित्यजेत्।
अतितृष्णाभिभूतस्य शिखा भवति मस्तके।।
अर्थात् अति लोभ गर्नुहुँदैन, न लोभको परित्याग नै उचित हुन्छ । धेरै लोभ गर्नाले टाउकोमा सिंग उम्रन सक्दछ ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)