~लक्ष्मण नेवटिया~
बुबा तपाईंले म बेपत्ता छोरालाई
खोज्दै इन्तु न किन्तु भएको कति भयो?
मृतकको पीडा एकबारी-
बेपत्ताको पीडा आजीवन मर्मान्तकारी”
एकछिन सुत्न नपाइ रातभरि
आँसु बगाएको कति भयो?
ढोकाबाट आवाज आएको सुन्दै
खोल्न दगुरेको कति भयो?
आँखा भएर पनि जानी जानी
गान्धारी हुन रुचाएका लाई,
मेरो बेपत्ता छोरा खोजी देऊ भनेर
चिच्याउँदै धाएको कति भयो?
कतै केही नलागे पछि सडकको डिलमा
अनसन बसेको कति भयो?
प्राण प्यारो छोरो
आज आउँछ कि भोलि आउँछ पर्खदा पर्खदै
झुप्प सेताम्य दाह्री-जुँगा नकाटेको कति भयो?
म बेपत्तालाई खोज्दा खोज्दै
तपाईं नै बेपत्ता भएको बुबा कति भयो?
मेरो अवस्था कस्तो छ बुझ्न,
निवेदन हाल्नु भयो जताततै।
कति तड्पिनु भयो तपाईं
पानी बिनाको माछा झैं।
खोज्दैछौं पत्ता लाउँदैछौ
लेखिन्छ मात्र विज्ञप्ति मै।
मुटु भएको छ छिया छिया,
विश्वास बाँचेन कतै केही,
जीवित छ कि? छैन कि??
आशंकाको सियो प्रतिक्षण घोपे कै,
हरे!बेपत्ता सन्तानको पीडा
आमाबाबुलाई सताउँछ
बाँसुरिएको घाउमा नुन भै ।
जति गरे पनि चीत्कार, हारगुहार
उनको कानमा खाँदिएको छ ठेडी –
यो चाहिं अति भयो!!
म बेपत्तालाई खोज्दा खोज्दै,
तपाईं नै बेपत्ता भएको बुबा कति भयो??
–लक्ष्मण नेवटिया, बिराटनगर
( ३० अगस्त-विश्व बेपत्ता विरुद्धको दिवसको सन्दर्भमा)
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )