कविता : मेमसाहब सुइटर बुन्दैछ

~श्यामल~Shyamal_1

म देखिरहेको छु
धेरैलाई जाडोले खाइरहेछ
र मेमसाहब
सुइटर बुन्दैछ ।

मेमसाहब बुन्दैछ
संविधानजस्तो सुइटर
प्रत्येक पटक संशोधन हुने
कानुन जस्तो सुइटर
कलात्मक र मिहीन
माकुराको जालोजस्तो सुइटरु
माझीको कम्मरमा झुण्डिने
पेरुङ्गगोजस्तो सुइटर
मेमसाहब सुइटर बुन्दैछ ।

सुइटर हो कि षडयन्त्र हो
षडयन्त्र हो कि प्रजातन्त्र हो
जे होस् जे सुकै होस्
कुनै निश्चित संख्यामा नभएका
आफ्ना पतिदेवहरूलाई
एउटा एउटा मोह बुन्दैछ मेमसाहब
मेमसाहब सुइटर बुन्दैछ ।

मेमसाहब सुइटर बुन्दैछ
र शब्दकोषबाट टिपेर यहाँ भनिन्छ पर्व-पर्वमा
आदर्श पिताकी महान् सुपुत्री हो मेमसाहब
बाबुसाहेबकी आदर्श पत्नी हो मेमसाहब
राष्ट्रकी सुयोग्य नारी हो मेमसाहब
हो, महान् हो मेमसाहब
जसका हातहरू प्रायः बुद्धका हातझैं देखिन्छन्
प्रायः समाजसेवीका हातझैँ देखिन्छन्
यिनै हुन् हातहरू
जो सुइटर बुन्छन्
र भनिन्छ
सार्है् सुन्दर बुट्टाहरू भर्न सकिन्छ सुइटरमा
जस्तै बुट्टा भए पनि
मेमसाहब सुइटर बुन्दैछ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.