कथा : मलेसियन सपना

~सुन्दर मानन्धर~Sundar Manandhar

सपना नदेख्नू भन्छन् तर मैले दिउसै सपना देखेँ– सपना देख्दा मेरा आँखाहरु ट्वाल्ल थिए, मनहरु निर्गूढ……..।

सपनाको हुरीले हुत्याएर पुर्यायो मलाई मलेसिया ।
सपनाको आँधीले लत्याएर ल्यायो मलाई नेपाल ।
म अझैँ पनि सपनाबीच रल्लिएको रल्लिएै छु ।

उफ् ! सपना, तेरो विश्वासघातले मेरा सपनाहरु उजाड भए, मेरा परिवारका सपनाहरु कोशीको बाढीभन्दा बढ्ता उजाड भएका छन् ।

कहिलेकाँही म सपना बिर्साउन यो देशलाई मुखभरी थुक्छु, थुकभित्र मेरो देशको देह हराउँछ, थुकको जीवन बाँचेका रहेछौँ हामीहरु !

कति सस्तो हो नेपालीहरुको थुके जीवन ! जहाँ पनि सजिलै बेचिइने–बाँचिइने ।

मेरो श्रम र आँसु यो देशले बेच्यो, म बेचिइएँ……..।

+ + +

नौ महिना नौ दिनमा सपनाहरु तुहाएर गोधूलि पहरमा घरको दैलोमा खुट्टा राखेँ ।

मान्छेहरुले भने– नौ दिन, नौ महिना भनेको अपसगुन हो, यसले पिर्छ, राम्रो गर्दैन ।

म सारा सपनाहरु खरानी बनाएर फर्केकालाई नौ महिना, नौ दिनको के अर्थ ! त्यही भएर जानीजानी यो साइत जुराएको थिएँ । आफैले ।

यहाँभन्दा कति पिर्नु ! कति थिच्नु ! कति……….!

+ + +

“महिनाको पन्ध्र सय रिङ्गेट, खान–बस्न फ्रि ! जाने हो मलेसिया ?”

“कति लाग्छ ?”

“जम्मा दुई लाख ।”

“यत्रो रकम कहाँबाट जम्मा पार्नु ?”

“चार महिनामा कमाइहाल्छौ नि ।”

सपना देखायो दलाले । गजबको सपना !

यता महिनाको पाँच हजार कमाउन नसम्नेलाई त्यही काम मलेसियामा गर्दा पचास हजार कमाउन सक्छौ भनिदिँदा मेरा दुइटै खुट्टाहरु भुइँमा रहेनन् ।

आकासिएँ म र ऋण खोजेर पुगेँ मलेसियाको सेरेमान भन्ने ठाउँमा सपना देखिरहेँ– थोत्रो घर नयाँ बनेको ! श्रीमतीका दुःखहरु अन्त्य भएको ! छोराछोरीले पेटभरी खान र भनेजस्तो लाउन पाएको ! चाउरी परेको आमाको अनुहारमा खुसीहरु छाएको !
एउटा दलाले पोखराबाट बेच्यो मलाई, अर्काे दलाले काठमाण्डौँबाट बेच्यो मलाई, काठमाण्डौको मेनपावरले मलेसियाको नेपाली दलाललाई बेच्यो मलाई, नेपाली दलालले एकजना मलेसियनलाई बेच्यो मलाई…..।

म बजारमा राखिएका वस्तुभन्दा धेरैपटक मान्छेहरुमाँझ बेचिइएँ ।

यो कुरा मैले नौ महिना, नौ दिनपछि सपना बिग्रेर घर फर्कदा जब दैलाको ठेलामा पाइला राखेँ तब चाल पाएँ ।

+ + +

मजस्तै सपनाहरु बुनेर मलेसिया पुगेका मेची–महाकालीका दाजुभाइहरु भेटेँ त्यहाँ । एउटै उद्देश्य, एउटै कथाव्यथाका सहपाठी हामीहरु नेपाली भएका नाताले कति कति आत्मीय बन्यौँ । नेपालमा भएका भए शायद बोलचालै हुँदैनथ्यो, विदेशी भूमीमा नेपाली भनेपछि आफ्नै भाइ, आफ्नै दाइ, आफ्नै नातागोताजस्ता लाग्ने ।

म काम गर्ने भन्ने कम्पनीको बोस पुरानो भारतीय रहेछ– तामिल । हेर्दै डरलाग्दो, कालो धुर्मुस । निकै पुस्ताअघि भारतको तामिलनाडुबाट मलेसियाको सरकारले त्यहाँका तामिलहरुलाई मलेसिया लगेको रे !
ती तामिलहरुमध्ये कतिपयले धर्म परिवर्तन गरी मुस्लिम बनेका रहेछन् ।

बोस तामिल मुस्लिम थियो । सुरक्षा गार्ड सप्लाइ गर्दाे रहेछ । माग अनुसार ठाउँ ठाउँमा कन्ट्याक्ट गर्ने र त्यहाँ हामीजस्ता सुरक्षा गार्डहरु पठाइदो रहेछ ।

उसको घर नजिकै कामदारहरु बस्नका लागि छात्रवासजस्तै ठूलो लामो घर बनाइएको रहेछ । दलालले भनेअनुसार त्यहाँ खानको सुविधा थिएन, बस्नका लागि भने अनिवार्य आवास भएकाले पैसा नलाग्दो रहेछ ।

त्यो आवास त्यति सफा र सुरक्षित थिएन । सुत्नका लागि लहरै भुइँमा ओछ्यान लगाएर सुत्नुपथ्र्याे, शौचालय, पानीको राम्रो व्यवस्था थिएन । बेला बेलामा स्थानीय मलेहरु चोर पस्थ्यो । कतिपय साथीहरुले घर पठाउन भनेर लुकाएर राखेको पैसा छिनका छिन गायब हुन्थ्यो ।

“खान फ्रि छ भनेको थियो त नेपालमा ।”

“कहाँ हुन्छ फ्रि !” बोसको सुपरभाइजर नेपालीले भन्यो ।

“सम्झौतामा त्यो कुरा उल्लेखै छैन । त्यसो त नेपालका दलाललेहरुले तिमीलाई देखाउने कतिपय डकुमेन्टहरु नक्कली हुन्छन् ।” उसले थप्यो ।

“त्यसो भए तलब कति नि त ?”

“चौध सय रिङ्गेट, दुई सय लेवी काटेर बाहृ सय पाउँछौ ।”

“नेपालमा त पच्चिस सय रिङ्गेट भनेको थियो त, लेवी फ्रि ।”

“नेपालमा त जे पनि भन्छ हुन्छ । यहाँ आएपछि बल्ल कुरा पक्का हुन्छ ।”

लल्याकलुलुक भएँ म, बोल्नै सकिन ।

यो विश्वास भन्ने चीज–शब्द के हो ? बुझ्नै सकिन ।

“थुक्क ! दलालहरु ।” फोन गरेँ ।

दलालहरुले फोन राखिदिए नेपालमा । उनीहरु केही बोलेनन् । दुनियाँको पसिना र रगतमा मस्ती गर्न पल्केका दलेहरु फोनदेखि तर्किए ।

काम पनि केके गरेर खानुपर्ने हो मान्छेले– यो दलाल भन्ने पनि पेशा नै रहेछ शायद । शायद नेपालमा सबैभन्दा बढी सप्रेको पेशा !

मानौँ– हामी यिनै दलालहरुलाई पोस्नका लागि विदेश गएका छौँ, हामी गरिब भएर यिनीहरुलाई धनी बनाइरहेछौँ, हाम्रो भाग्य यिनै दलालहरुलाई सुम्पिरहेछौँ । र, त हामी गरिब भइरहेछौँ ।
यिनीहरु हाम्रो पसिनामा पौडिरहेछन् । हाम्रो रगतमा आहाल खेलिरहेछन् ।

+ + +

मेरा काम शुरु भयो– एउटा अनकण्टार ठाउँ, वरिपरि रबरघारीहरु, बाटाको छेउमा बन्दै गरेको ठूलो कम्प्लेक्स– कुरेर बस्ने डिउटी ।

आठ घण्टा डिउटी भनेको, बाहृ घण्टा लगायो काममा ।

मेरो कामै कुर्ने, सुरक्षा गार्डको अरु काम के नै हुन्थ्यो र ! कुरिरहेँँ निरन्तर ।

त्यो ठूलो कम्प्लेक्सको रेखदेख गर्नु, अरुको नजरबाट त्यहाँको सामान बचाउनु, विना अनुमति त्यहाँ अन्य मानिसलाई पस्न नदिनु…..।

एक सिफ्टमा दुई जनाले कुर्नु पथ्र्याे त्यति ठूलो दस तले कम्प्लेक्स ।

तीन महिना त्यहाँ काम गरेपछि त्यो कम्प्लेक्सको सम्झौता पूरा भएछ– बोसको । त्यसपछि उसले घरमै डिउटी लगायो ।

फाट्टफुट्ट बस्तीहरु भएको स्थानमा बोसको दुई तले बङ्गला थियो एउटा भव्य बङ्गला । चारैतिर कम्पाउन्ड गरेको, ठूलो गेट, गेटदेखि घर र मोटर ग्यारेजसम्म मार्बल बिच्छाएको, बगैँचामा रङ्गीविरङ्गी फूलहरु, सानो पोखरीमा अनेक थरी माछाहरु…….।
तर त्यो बोसको मन भने बगैँचाका रङ्गीविरङ्गी फूलहरुको जस्तो थिएन, ऊ अत्यन्त कठोर मनको थियो ।

मानौँ उसका हेराइहरुले नेपाली बगैँचाका फूलहरुलाई बोटबाटै झारिदिन्छ, मानौँ उसका आवाजहरुले नेपाली बगैँचाका फूलहरुलाई बाटमै मारिदिन्छ ।
मरेतुल्य बनायो बोसले मलाई ।

त्यो बोसका घरमा खाना कहिल्यै पाक्दैनथ्यो । स्वास्नी मलेसियन मुस्लिम थिई । बडो कर्कशा स्वभावकी, त्यहीँको स्थानीय विद्यालयमा पढाउन जान्थी र साँझ घाम अस्ताएपछि मात्र घर आउथी । छोराछोरीहरु क्वालालाम्पुरतिरै बस्थे, कहिलेकाहीँ मात्र घरमा आउँथे ।
त्यत्रो घरमा हामी सुरक्षागार्डका निमित्त एउटा शौचालयसम्म थिएन । शौचालय प्रयोग गर्न पाँच मिनेट परको सार्वजनिक स्थलमा जानुपथ्र्याे । त्यहाँ पुगेर फर्कदा बाहृपन्ध्र मिनेट लाग्थ्यो ।

त्यो बोस बडो हरामी खालको थियो । राती अबेरसम्म सुत्दैनथ्यो, कहिले चुरोट तान्दै बार्दलीमा निस्कन्थ्यो र हकाथ्र्याे त कहिले तल बगैँचामा ओर्लेर फूलहरुलाई चुरोटले पोल्थ्यो, त्यसो गर्दा उसका हातले समाएको चुरोट निभ्थ्यो । पुनः उसले अर्काे चुरोट सल्काउँथ्यो ।
कहिलेकाहीँ मलाई निद्राले झुमल्थ्यो, तन्द्रामा हुन्थेँ, घर परिवारका सपनाहरुमा हराउँथे । विरानो ठाउँमा आँसुका थोपाहरु खस्थे ।

मेरा आँसुका थोपाहरुलाई त्यहाँको माटाले धिक्कारेझैँ लाग्थ्यो । सुन्थेँ म– जा आफ्नै माटामा, किन पराइभूमिमा आँसु चुहाउछस् !

भित्रभित्रै भक्कानिन्थेँ म । आँसुका भुल्काहरु राक्किन्थे ।

तन्द्रामा हराइरहदा बोसको दुष्टि कहिलेकाहीँ ममाथि हुन्थ्यो । उसको कुटिल हेराइमा म निदाइरहेको हुन्थेँ । उसको आवाजले झस्काउँथ्यो मलाई ।

भोलिपल्ट पचास रिङ्गेट जरिवाना र एक हप्ता डिउटीबाट हटाएको खबर सुनाउथ्यो उसले । यसैगरी हरेक दिन एकपटक साँझ सिसि टिभीको निरीक्षण गथ्र्याे र शौचालय गएको पन्ध्र मिनेट समयको पनि पचास रिङ्गेटका हिसाबले जरिवाना गथ्र्याे ।
महिनाको पचास हजारको सपना देखेको म, अब बोसको बन्धकी परेको थिएँ । पचास हजारको सपना पन्ध्र हजारमा सीमित भयो । बोसले पन्ध्र हजारभन्दा बढी कमाउनै दिएन, विभिन्न बहाना बनाएर रिङ्गेट कटाउँथ्यो ।

म तन्द्रामा सपना देखिरहने, उसले पचास रिङ्गेट र एक हप्ते डिउटी आउट गरिरहने, यसो गर्दा मेरो जागिर माइनसमा जान थाल्यो ।

बोसको बन्धकी फुकुवा भएपछि एकछिन बस्नै मन लागेन । के बस्नु त्यो जाबो नाथे देशमा, माइनसे जीवन बाँचेर ।

फेरि ऋण बोकेर घर फर्केँ ।

+ + +

पहिलो दलाललाई भेटेँ र सारा हालखबर सुनाएँ । उसले दोस्रो दलाललाई देखाएर पन्छियो ।

एवम् रितले दलाल दलाल हुँदै त्यही बोसलाई देखायो ।

+ + +

म सोझो मान्छे हजुर– कहाँ जाऊँ उजुरी गर्न ?
के म नेपाली हुँ ? के मैले न्याय पाउँछु ?
के ती दलालहरु सधैँ ठाँटसित बाँचिरहन पाउँछन् ?
के मैले मेरा र परिवारका सपनाहरु फिर्ता पाउँछु ?

+ + +

म लेखक अवाक् भएँ– तिम्रो कथा लेखेर यो देशलाई सुनाउँछु– ढकाल दाइ ।

+ + +

सायद कसैले सुन्यो कि ? ढकाल दाइको कथा !

सायद माटाले सुन्यो होला ? ! ?

बाटुलेचौर–१६,पोखरा

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.