~टंक चौलागाई~
वादविवादको शीर्षक थियो, “बच्चा चाहिन्छ, बच्चा चाहिँदैन ।”
पक्ष–विपक्षमा थिए बूढाबूढी ।
वादविवाद शृंखलाको अर्काे चरण सुरु भयो । यो चरणलाई टुंग्याउँदा प्राचीले कमलसँग पहिलो पटक हार मानी । ऊ ‘बच्चा चाहिँदैन’ भन्ने पक्षमा वादविवादमा उत्रिँदा कमल निकै कठोर भएर जाइलाग्यो । प्राचीले आँसु झारेकी थिइन, किनभने ऊ आँसु बगाउने किसिमकी नारी हुँदै हैन । कमलले जितेकै दिन रित्तो भाँडोमा खुसी भर्ने अभिलाषासहित बच्चा उपलब्ध गराइदिने मान्छेलाई लक्ष्य बनाउँदै निस्किए, बूढाबूढी नै ।
कीराहरूले ताण्डव गरेको सागको पातजस्तो छिद्र सडकमा धूलो उडाउँदै आयो दुई इन्जिनधारी एउटा रातो गाडी । गाडीभित्र थिए हेडफोन भिरेर संगीतमा मग्न रोमान्टिक एउटी नारी अनि गाडी हाँक्दै गरेका गम्भीर पुरुष ।
किनारमा फोहोर खाँदै गरेको सुँगुर अनि सिनो लुछ्दै गरेका कागहरूको संगीतले विजय प्राप्त गरेको थियो । पुरुष व्यग्र देखिँदा नारी थिई शान्त रसमा । उनीहरूको पोशाक औपचारिक थिएन । पुरुषले आफ्ना दुई आँखालाई बाहिरतिर घिसार्दा नारी आफ्ना आँखा आईफोनमा नचाइरहेकी थिई । बाहिरको दुर्गन्धमाथि गाडीभित्रको सुगन्धले विजय हासिल गरेको थियो । भित्रको सुन्दरतालाई बाहिरको धूलोले छोप्दै थियो बिस्तारै ।
पुरुषले ब्रेकमा थिच्दासमेत ऊ संगीतमा मग्न थिई अनि खेलिरहेकी थिई आईप्याडमा उसलाई सबैभन्दा मन पर्ने खेल । गाडी रोकिसकेर भित्रैबाट बाहिर वारिपारि सबैतिर नियाल्यो पुरुषले । कोही पर्खिरहेको मान्छेलाई नदेखेपछि फोन डायल पर्यो। उनीहरू दुवैलाई कसैले पर्खिरहेको हुनुपर्ने हो, तर भयो उल्टो ।
“कमल सोच, फ्रड हुन सक्छ !” उसको संवाद सुनेको हो तर नसुनेझैं फोन डायल पर्यो । तीन घण्टीमा फोन उठेपछि उता पुरुष आवाज सुनियो । ह्याड्सफ्रिमै कुरा ग¥यो । उसले भएको त्यो कुराकानीमा चासो राखिन । फोनमा कुरा गर्ने त्यो व्यक्तिलाई आफ्नो गाडी भएतिर बोलायो, “जयन्द्रजी, तपाईंले भनेकै ठाउँमा रातो टक्सन लेखेको गाडी छ, हामी पर्खिरहेका छौँ ।”
हो, उनीहरू पर्खिरहेका थिए । एकैछिनमा त्यो मान्छे गाडीनजिकै आएर फोनको घण्टी बजाएपछि कमलले चिन्यो । गाडीको ढोका खोलेर बाहिर निस्किनुअघि भन्यो, “प्राची, ऊ.. मान्छे त्यही रहेछ !”
गाडीको ढोका ढ्याम्म लगाएर त्यो मानिसतिर कदम बढायो कमलले । ढोका खोल्दा एक मुठी गन्ध भित्र पस्यो । नाक बिगार्दै प्राचीले गाडीभित्रैबाट तिखो दृष्टि प्रहार गरी नौलो मानिसतिर । हेडफोनमा रन्किएको अंग्रेजी संगीतले विश्राम पाएन । हात मिलाइसकेपछि कमलले त्यो मानिसलाई आफ्नो गाडीतिर ल्यायो । दुवैजनाले ढोका खोल्दा बाहिरको दुई मुठी गन्ध गाडीभित्र पस्यो ।
प्राचीले बल्ल आफूलाई सम्हाल्न भ्याई । उनीहरू गाडीभित्र बसिनसक्दै पहिला उसले सुनिरहेको हेडफोन बिसाई, अघिदेखि छातीलाई अर्धनग्न पारेर झोल्लिरहेको टिसर्ट मिलाई अनि गुप्तांग च्यापिरहेको जिन्सको हाफ पाइन्ट सजिलो हुनेगरी अलि तल सारी । निकै बाठा कानले मात्र स्वाद पाउनेगरी हेडफोन रन्किरहेको थियो ।
“म तेज शर्मा । खुमलटारमा बालगृह चलाउँछु । फोनमा पनि भनेकै थिएँ ।” आफ्नो परिचय दिँदा उसको ध्यान कमलले भन्दा प्राचीको शरीरले बढ्ता तानेको गाडीभित्रको शिशाले जनाउ दिइरहेको थियो ।
“बच्चा नलिई आउनुभएछ,” कमलको स्वरमा उत्साह थिएन ।
“बच्चा छ, आइहाल्छ । ढुक्क हुनुस् । उसको बाउआमा कोही छैनन्, सानैदेखि मैले हुर्काएको हुँ ।”
“यो कुरा फोनमा भनिसक्नुभएको हैन ? ठीक छ, हामीलाई त्यस्तै बच्चा चाहिने हो । आउँदा बच्चा ल्याउनुपथ्र्याे ।” प्राचीको मीठो बोली हो यो । आईप्याडमा जारी थियो उसको खेल ।
“पहिला सर्तबमोजिमको १ लाख दिनुभयो भने बच्चामा समस्या छैन,” तेजले भन्यो ।
“पहिले बच्चा अगाडि नदेखाई पैसा दिन सक्दिनँ । बोल्न सक्छ कि सक्दैन, आँखा देख्छ कि देख्दैन, कान सुन्छ कि सुन्दैन, बच्चा सद्दे हो कि हैन, थाहा नपाई कसरी पैसा दिने ? यी हेर्नुस्, क्यास बोकेर आएको छु ।” कमलले न्यायाधीशझैँ आफ्नो निर्णय सुनाउँदै दुई मुठा पैसा पनि देखायो, जुन हरक्षण उसको गाडीमा भइरहन्थ्यो ।
“पैसा देऊ कमल, यति त विश्वास गर्नुपर्छ मान्छेलाई,” प्राचीले खेललाई एकछिन रोकेर कमलको प्रतिक्रिया बुझी ।
“तिमी बीचमा नबोल,” मान्छेले बाटो काट्दा अपर्झट बे्रक थिचेझैँ कमलले प्राचीलाई चोर औँला ठड्यायो ।
“ठिकै छ, पर्सि बिहान ६ बजे बालकुमारीमा भेटौँ । म बच्चालाई लिएर आउँछु,” उसको आश्वासनपछि खुसी भर्न गएका ती श्रीमान्–श्रीमती रित्तो भाँडो लिएर विष्णुमतीको तिखो दुर्गन्धसँगै घर फर्किए ।
फर्किंदा प्राचीले तेजको पक्ष लिएको हुनाले लोग्ने–स्वास्नीबीच भनाभनको नयाँ शृंखला सुरु भयो । बच्चाकै विषयमा भएको हुनाले यसलाई उपशृंखला भन्दा पनि फरक नपर्ला । हरेक शृंखलामा प्राचीले राम्रो पारी खेल्थी ।
पर्सिपल्ट उनीहरू गाडी लिएर त्यो मान्छेले दिएको ठेगानामा पुग्दा होशियारीलाई प्रमुख हतियार बनाएका थिए ।
“बच्चा त बिहानै ट्युसन जाँदोरहेछ, हेर्नुस् न । सबै आमाहरूले हेर्छन्, मलाई थाहै हुँदैन,” त्यो दिन तेज शर्माले पैसा फुत्काउन नयाँ जुक्ति लगायो ।
“पहिला पैसा पाए बच्चा ल्याइदिन्छु ।” तेजले परमेश्वरलाई बीचमा ल्याएर उभ्याउँदा पनि उनीहरूको मन जितेन । उनीहरू झन् अविश्वासको मार्गतिर बढे । उसबाट बच्चा पाइने आशालाई त्यही गाडीबाट निस्किने धूवाँसँग मिसाएर सदाको लागि उडाए ।
प्राचीले धेरै सम्झाएपछि त्यस रात दुवैले बच्चासँग खेल्ने अभिलाषालाई वाइनमा मिसाएर पिए । कमलले धेरै गिलास रित्याउँदा पनि मनको कुण्ठा रित्तिएन । प्राची हलुकासँग कमलका अंगअंग चुमिरहेकी थिई ।
“बच्चाको सपना हामीले भन्दा बढी बुबाआमाले देख्नुभएको छ,” कमलको कुण्ठा बोल्यो ।
“टे«निङ लिन आउने असाध्यै शालिन केटी छे । मैले जे भन्यो, त्यही गर्छे । सौता हाल, म झन् खुसी हुन्छु । उसलाई बहिनी बनाएर पाल्छु । मेरो बानी तिमीलाई थाहा छ कमल, म मरुभूमिमा पनि उस्तै रमाउन सक्ने केटी हुँ,” प्राचीले म्युट गरेको टिभीको भोल्युम अलिकति बढाई ।
“मैले तिमीलाई पढेको छु नानु ।”
प्राचीको मोबाइलमा फोन आयो कुनै केटाको ।
उसले श्रीमान्कै अँगालोमा त्यो केटासँग कुरा गरी । उनीहरूका लागि यो सामान्य हो । प्राची लामो कुरा गर्ने मुडमा नभएपछि फोन राख्दै भनी, “म हब्बीसँग छु, गुडनाइट ।”
“बाबा, केटाहरू किन मरिहत्ते गर्छन्, मलाई थाहै छैन । यो पनि मसँग मोटिभेसनको ट्रेनिङ लिन आएको मध्ये एउटा हो ।” यसको जवाफमा कमलले केही नभन्नुको कारण एक, प्राचीको जीवनका अक्षर–अक्षरको ऊ विद्यार्थी हो र दुई, ऊ यतिबेला ठ्याक्कै बच्चा कल्पिँदै वात्सल्य प्रेममा नुहाइरहेको थियो ।
ऊ धेरैको दैनिकीलाई रोमाञ्चक बनाउन लागी । शिक्षाविद्को रूपमा कहलिएकी थिई । बच्चाको सपना फुलाउन नपाए पनि कमल आफ्नो पुख्र्याैली व्यवसायलाई निरन्तरता दिन थाल्यो ।
एक साँझ प्राची खाना पकाउँदै थिई । कमलले घरमा आउनेबित्तिकै फ्रिजको जुसको चुस्की लिँदै भन्यो, “नानु, मलाई हाइड्रोपावरको ५ सय कित्ता सेयर प¥यो ।”
गालामा म्वाइँ खायो । यहाँनेर प्राचीले दिने प्रतिक्रिया उसलाई थाहा भएर पनि सुनायो । अरु कसलाई सुनाओस् आफ्नी श्रीमतीलाई नसुनाएर ! म्वाइँलाई उसैगरी फिर्ता गर्दै ऊ मुस्कुराई । दुइटा आँखा तन्काउँदा निधार मज्जाले चाउरी प¥यो ।
“बाबा, यो सब छोड न यार, कसको लागि कमाउने ? के कमाउने ? किन कमाउने ? कमाएर के गर्ने ? बाँचुन्जेल मस्तीले बाँचौँ । कमाउनुको सिमाना देखेका छौ ?” प्राचीको यो संवाद प्रतिक्रियाविहीन भएर आफ्नै कानमा ठोक्किन्छ भन्ने उसलाई थाहा थियो । किनकि कमल आफ्नो कोठामा पुगिसकेको थियो ।
“यो संसारमा पैसा भए सबैथोक,” लगाएको कोट खोलेर ह्यांगरमा झुन्ड्याउँदै गरेको कमलको संवाद अनि हात बीचैमा रोकियो । उसले कोट खाटमा फाल्यो । गएर पुतलीझैँ रमाइरहेकी श्रीमतीको घाँटीमा चुम्यो, निधारमा चुम्यो अनि छातीमा चुम्यो ।
प्राची यस्तो कृत्यको जवाफ फर्काउन खप्पिस थिई । चौबर वेगमा जवाफ आउला भनेर कमल सजग थियो । दुवैजना सन्तुष्ट भए ।
खाना खाइसकेपछि कमल आफ्नो पालो पूरा गर्न भाँडा माझ्दैथियो । प्राची खाटमा पल्टिसकेकी थिई । कमल आएर टिभी हेर्न थाल्दा प्राचीका आँखा लोलाइसकेका थिए । आफ्नो काम आफैं गर्न जान्नुपर्छ, यो उनीहरू दुवैको पक्का अडान थियो ।
“ए बाबा ! साँची मैले भन्नै बिर्सेकी, युरोप टुर इज कन्फर्म, त्यहाँको युनिभर्सिटीमा मिटिङ छ । तिमी पनि जाने ? दुवैजना जाऊँ न प्लिज ।” कमलले आफ्नो व्यावसायिक व्यस्तताको खाता पल्टाउँदा प्राचीलाई निन्द्राले छपक्कै छोप्यो, ऊ निदाई ।
कमलले प्राचीलाई एयरपोर्टसम्म पुर्यायो । बिदा हुँदा गालामा म्वाइँ नखाए पनि प्रेम घट्ने थिएन । उसले प्राचीबिनाको दैनिकी पनि सहज बनायो । चराजस्तै चिर्बिराइरहने श्रीमती नभएपछि उसलाई घर सुनसान लाग्यो । तैपनि उसले एक रात बाहिर खाना खाएन ।
प्राचीसँग स्काइपमा कुरा गर्दै खाना पकाउँदा उसले देख्थ्यो ऊ विदेशीमाझ रमाएकी । अझ रमाउँदै उसले भनी, “बाबा, त्यो स्लिमचाहिँ रसियन हो, त्यो अग्लो क्या ! ऊ मलाई अनम्यारिड भन्छ ।” श्रीमतीको कुराले ऊ निराश हुँदैन ।
“यु आर ब्युटीफुल रे !” लामो हाँसो हाँस्दा त्यो रेस्टुराँमा भएका केही विदेशीले उसलाई हेरे ।
“बाबा ऊ तिमीलाई पनि हेरिरहेको छ ।” उसले अंग्रेजीमा सबैलाई सुनाई, “उही हो मेरो श्रीमान्, मलाई कस्तो मिस गर्दैछ… विचरा !”
कमल प्राचीको कुरा सुनेर गम्भीर भयो । रमाउनुपर्ने कारण केही थिएन । खाना पकाएर, खाएर सुत्ने बेलासम्मको कुराकानी टुंगिने बेलामा कमलले भन्यो, “नानु छिटो आऊ है, आई रियल्ली मिस यु ।”
काम सकिएपछि प्राची भ्रमण छोट्याएर फर्की, किनभने उनीहरू धेरै समय छुट्टिएर बस्न सक्दैनन् ।
“थाहा छ बाबा, मैले तिमीलाई निकै मिस गरेँ,” उसले कमललाई प्यान्ट, टिसर्ट, जुत्ता ल्याइदिएकी थिई । क्यामराको सौखिन कमललाई राम्रो क्यामेरा ल्याइदिएकी रहिछे । आफूलाई केही किनिन । श्रीमान्को लागि किनमेल गर्दागर्दै पैसा सकिएको उसलाई पत्तै भएन । कमललाई उपहार टक्र्याउँदा ऊ असाध्यै रमाई ।
“कस्ती छ्यौ तिमी ! पहिला आफ्नो लागि किनमेल गर्नुपर्दैन ?”
“कम अन बाबा, लिभ इट ! मेरो लागि पहिला तिमी ।” कुराकानी गर्दा खाटमा पल्टिएका उनीहरू प्रेमका अवयवहरू पढ्न थालिसकेका थिए ।
सबैजना पार्टी प्यासेलमा भेला भए एकदिन । रोशनीको छोराको पास्नी रहेछ । चर्काे हिन्दी पपगीत रन्किरहेको थियो । पछिल्लो छिमलका पाहुनाहरू त्यही गीतमा आफ्नो कम्मर हल्लाइरहेका थिए । एकछिन प्राची पनि नाची, उता कमल रोशनीको छोरालाई काखमा राख्दै तरह–तरहसँग फोटो खिचिरहेको थियो । प्राचीका साथीहरू देख्दा लाग्थ्यो, कुनै सुन्दरी प्रतियोगितामा भाग लिइरहेका हुन् । औपचारिक कार्यक्रम सकिएपछि कमलसँग अनुमति लिएर वाइन पिउन थाली । कमललाई पनि पिउन निकै आग्रह गरी । कमल प्रायः पिउँदैन । ऊ सामान्य भोजनमा रमायो । पिउन थालेपछि श्रीमतीको सुरक्षामा लाग्नु उसको प्रमुख कर्तव्य हुन्थ्यो । पिउँदापिउँदै उसले खाना खान बिर्सिई । पिउन बढी भएको हेक्का ऊ आफैँ राख्थी । मानौं, डिग्री लिएर हिँडेकी छे । सबैसँग बिदा मागेपछि कमलले डोर्याउँदै गाडीमा राख्यो ।
“बाबा, जहिले गम्भीर किन हुनु ? रमाउने बेला रमाउनुपर्छ । काम गर्ने बेलामा काम गर्नुपर्छ । मस्ती गर्ने बेलामा मस्ती गर्नुपर्छ । आखिर मरेर केही लानु छ ?” पछाडि बसेकी प्राची एकोहोरो बोल्दाबोल्दै निदाई । कमलले नै बोकेर बिछ्यौनामा पुर्यायो । कपडा पनि उसले आफैंले खोल्न सकिन ।
त्यो दिनभर कमल आफ्नै काममा व्यस्त भयो । विषेश दिन हो भनेर उसले हेक्का नै राखेन ।
प्राचीले कोठा झिलिमिली सजाएर सुमधुर अंग्रेजी गीत बजाएकी थिई । आफैँले मीठामीठा परिकार ल्याएकी थिई र एउटा केक पनि । तर, कमल घर आइनपुगेपछि उसले फोन नै गर्नुपर्यो ।
फोन गरेको केही समयपछि पछुताउँदै कमल आइपुग्यो, “सरी नानु, त्यो हाउजिङको मिटिङले ढिला भयो ।”
त्यो विषेश दिन यस कारण बन्यो कि उनीहरू छैटौं म्यारिज एनिभर्सरी मनाउँदै थिए । उनीहरूले मध्यरातसम्म आफू–आफूमै निकै रमाइलो गरे ।
खाटमा सुस्ताउँदा प्राचीले भनी, “बाबा, तिमी अर्काे बिहे गर, यो तिम्रो आवश्यकता हो । गड प्रमिस ! म योभन्दा खुसी अरु केही कुरामा पनि हुन्नँ । तिमीले बच्चा नखेलाएको देख्दा मेरो मन रुन्छ । तिम्रो जीवनको खुसी बच्चामा अड्किएको छ ।”
एकदिन दुवैजना फिल्म हेर्न जाँदै थिए । सडकमा भीषण जाम भयो । त्यही मौकामा एउटा माग्ने आएर गाडीमा ढकढक गर्यो । प्राचीले आफ्नो झोला खोतली, खुद्रा पैसा रहेनछ । कमललाई जति अनुरोध गर्दा पनि पैसा निकाल्नै मानेन । उल्टो माग्नेलाई गाली गर्यो । दयालाग्दो माग्ने थिएन । प्राचीले आफूपट्टिको शिशा खोलेर माग्नेलाई ५ सयको नोट दिई । कमलका आँखा रिसले गोलभेंडाजस्ता भए ।
“बाबा, म कमाउँछु, तिमी कमाउँछौ । घरको ठाउँमा घर छ, गाडीको ठाउँमा गाडी छ । पासपोर्टमा युरोपको भिसा छ । केको चिन्ता ?”
“ल्याएर सडकमा सबै बाँडिदिऊँ त ? हुन्छ ? खानु, रमाउनु, मस्ती गर्नुमात्रै जीवन हैन । समाजको लागि, राष्ट्रको लागि योगदान दिनुपर्दैन ? पैसा भएपछि सबैथोक गर्न सकिन्छ ?”
गाडी बिस्तारै अगाडि बढिरहेको थियो । ऊ अगाडिको सिटबाट ड्राइभरको सिटतिर तन्किई । कमलको गालामा दुवै हातले समाएर म्वाइँ खाई । कमलको रिसको पारो स्वात्तै घट्यो । यतिमै सकियो, धन्न ! वादविवादको अर्काे चरणले गति लिन पाएन ।
बिदाको दिन कमल घरमै बसेर समाचार पढिरहेको थियो । जुन समाचारले ऊ एकोहोरो भएको हो, त्यो समाचार प्राचीले अघि नै पढिसकेकी थिई । श्रीमान्को भावुक अनुहार देखेर ऊ पर बसेर मुस्कुराइरहेकी थिई ।
आइतबार बिहानै धोबीखोला किनारमा सालनालसहितकै बच्चा फालेको समाचार पढेपछि श्रीमान् रोइरहेको थियो । ढोकामा उभिएकी प्राची हाँसिरहेकी थिई । उसले हाँस्दै सादा कागज ल्याई । तल एक छेउमा हस्ताक्षर गरी अनि भनी, “लेख, म तिमीलाई डिभोर्स दिन तयार छु ।”
कमलले पत्रिका अर्काेतिर पन्छायो र प्राचीको हात समायो, तर सेतो कागज समाएन ।
“मलाई बच्चा चाहिँदैन, तिमीलाई चाहिन्छ । अर्की ल्याऊ न, मलाई केही फरक पर्दैन । म आफ्नै बहिनीसरह उसको सेवा गर्छु । कि मलाई डिभोर्स देऊ । म तिमीसँग पनि खुसी थिएँ, एक्लै पनि खुसी रहन्छु । कम अन बाबा ! टेक इट इजी । म त हरेक पल सम्भावना नै सम्भावनाले भरिएको देख्छु, तिमी खालीमात्रै देख्छौ । तिमीलाई यस्तो देखेपछि मेरो घाउमा कहिल्यै खाटा बस्दैन ।”
० ० ०
उनीहरू एमए एउटै कलेजमा पढ्थे । सेक्सन एउटै, बस्ने बेन्च एउटै, क्यान्टिनमा चना खाने प्लेट एउटै, चिया मगाउँथे एक कप अनि खान्थे आधा–आधा । हुँदाहुँदा किताबकापी राख्ने झोला पनि एउटै । प्रेम हुर्किँदै जाँदा उनीहरू दुई जीव एकै हुँदै थिए । कलेज छुट्टी भएपछि उनीहरू बाहिर निस्किए । प्राची पहेँलो स्कुटीमा थिई, कमल मारुती कारमा थियो । ती दुवै सवारी एउटा क्याफेअगाडि रोकिए । हरेक दिन उनीहरू त्यहाँ नपुगी आ–आफ्ना घर लाग्दैनथे । कमल त्यहाँबाट सिधै अफिस जान्थ्यो । प्राची घरको बाटो समाउँथी ।
“भोलि घरमै भेटौँ ल,” क्याफेमा गाडीबाट ओर्लेर गाडी लक गर्न रिमोर्ट थिच्दै कमलले भन्यो । टेबलमा बसिसकेकी प्राची सबै समेटेर पछाडि फूलजस्तो बनाई पोको पारेको कपालको गुच्छा सुँघ्दैथिई, जुन उसको सधैंको बानी हो । ऊ सधैं आफ्नो कपाल त्यसरी नै फूलको थुँगाजस्तो पोको पार्थी र सेतो गर्धनमा लक्र्याउँदा लाग्थ्यो, पहरामा फुलेको सुनाखरी हो । कपाल पोको पार्ने पस्मिनाको रुमालमात्र फेरिरहन्थी, सेतो, पहेँलो, पिंक, निलो, हरियो अनि कहिले क्रिमी । उसको यो पनि परिचय हो । तर, उसले कालो र गाढा रातो रंग कहिल्यै लगाइन । लुगामा पनि ऊ यिनै रंगहरूलाई प्राथमिकतामा राख्थी । आज लगाएकी थिई सेतो कुर्थामा निलो सुरुवाल ।
केही परिकार प्राचीले मगाई, कमलले केही थप्यो । परिकारले अघाएपछि प्रेमको भोक बढाउँदै उनीहरू त्यहाँबाट निस्किए ।
भोलिपल्ट ऊमात्रै नभई अरु धेरै पाहुनाहरू जम्मा भएका थिए कमलको घरमा । कमलका बुबाआमा पनि थिए । जन्मदिनको संगीत मधुर बजिरहेको थियो । प्राचीलाई थाहा थियो कमलको जन्मदिन भनेर । केक काटेर सबैभन्दा पहिला उसले प्राचीलाई ख्वायो अनि प्राचीले उसलाई ख्वाई । प्राचीले कमलको नाम लेखेको सुनको लकेट लगाइदिँदा सबैले थपडी मारे । बेलाबेलामा आफन्तहरू डाकेर यसरी भोज गर्ने अवसर खोज्नु उनीहरूको खानदानी परिचय हो ।
उपस्थित सबैको हातमा केक पुगेपछि भोजको कार्यक्रम सुरु भयो । पिउनेहरू र नपिउनेहरू छुट्टिएर पंक्तिबद्ध भए । रातितिर पाहुनाहरूलाई बिदा गर्दा प्राचीले त्यहीँ बस्न मन गरी । तर, कमल आफैँले उसलाई घर पुर्याउनका लागि गाडीमा बसाल्यो ।
“कहाँबाट जम्मा गर्यौ त्यत्रो पैसा ? मलाई तिमी भए पुग्छ, उपहार चाहिँदैन,” कमलले गुडिसकेको गाडी रोक्नलाई अलि शान्त ठाउँ रोज्यो । प्राचीलाई आफ्नै सिटमा तानेर लामो समय प्रेम क्रिडामा रमाए उनीहरू । प्रेमको गतिले आधा राजमार्ग समाएपछि उनीहरू सम्हालिए । कमलले प्राचीलाई घर पुर्याएर फर्कियो ।
“तिमी भोलि यो ड्रेस लगाएर आऊ है,” एकदिन कमलले प्राचीलाई पिंक कलरको लेहेँगा उपहार दियो । भोलिपल्ट पिकनिकका लागि सबैजना तयार भइसक्दा प्राची र कमलले आफ्नो सवारी साधनलाई क्याम्पसको ओडारमा राखे । सबैजना गाडीमा चडे ।
आकर्षणको केन्द्रबिन्दु थिई प्राची । महँगो लुगा, गहना लगाएकी, त्योभन्दा आकर्षक उसको सौन्दर्य थियो । बाहिरी सुन्दरताभन्दा माथि थियो उसको मिलनसार चुलबुले बानी र कुनै न कुनै बहानामा निस्किरहने बोली । सबैले जानेको कुरा, कमल क्यामराको सौखिन हो । उसको क्यामरा चलाउने तरिकाले बताउँथ्यो, प्राचीकै लागि ऊ सधैं क्यामरा बोकेर हिँड्छ र जिन्दगीभर प्राचीकै क्यामराम्यान बनिरहन्छ ।
प्राचीको व्यवहार सबैसँग समान थियो । गुडेको गाडीभित्र सबैभन्दा चर्काे स्वर उसैको थियो । रातो–रातो अनुहारमा सेता दाँत टल्काएर निस्फिक्री हाँसिरहेकी थिई । कहिले ऊ कमलसँग बस्थी, कहिले अरु केटाहरूसँग बस्थी । एकैछिनमा केटीहरूसँग बस्न पुग्थी । जहाँ पुग्थी, रमाइलो बनाउँथी माहोल । “प्राची, तिमी मसँग नबस, कमलले आँखा तर्यो,” आफूसँगै बसेकी प्राचीलाई विवेकले भनेको थियो । कमल मुसुक्क हाँसेको थियो ।
“उसलाई केही भएको छैन, बरु तिमीलाई लाज लाग्यो भन न,” प्राचीले विवेकको कपाल सुमसुम्याउँदा साँच्चै विवेक लाजले भुतुक्कै भयो ।
गीत गाउन सुरु त गरे तर प्राचीलाई जित्ने कोही भएन । अंग्रेजी, हिन्दी, नेपाली उसलाई सबै किसिमका धेरैजसो गीत कण्ठस्थ । पिकनिकस्थल बलथली पुगेर सबैजना आ–आफ्नो धूनमा लागे । बलथली पुर्याउने योजना नै प्राचीको हो ।
कमल र प्राचीले एउटा रुखमुनि बसी प्रेमको विजारोपण गरे । बिजमा पानी हाल्न वर्षा छेउमै बसेकी थिई । एकै ठाउँमा बसिरहने उसको स्वाभाव भए पो !
“प्रवेश, आऊ डान्स गरौं । कमललाई नाच्न आउने हैन,” पर केटीहरूसँग मस्किरहेको प्रवेशलाई बोलाई । प्रवेशमात्रै हो केटीहरूलाई उनीहरूको स्वाभावअनुसार रिझाउन जान्ने ।
“खासमा मलाई तिम्रो यही बानी मन पर्छ,” कमल उसको चुलबुलेपनप्रति असाध्यै आकर्षित थियो । आकर्षित कमलमात्रै हैन, अरु थुप्रै थिए ।
“तैँले सप्पैलाई क्या मोटिभेट गर्छेस् यार, तेरो यो बानी क्या मन पर्छ मलाई,” मीराले स्पिकर बोक्न सघाउँदै भनी ।
प्रवेशसँग नाच सुरु गर्नुअघि उसले कमलको गालामा एक स्वादिलो म्वाइँ खाई । एकैछिनमा प्राचीले सबैलाई नाचतर्फ आकर्षित गरी । सबैजना नाचिरहेका बेला प्राची हराई । तर, कता गई ?
नाचिरहेका कसैले खोजेनन् । कमलले पनि खोजेन, किनकि उसलाई थाहा थियो ।
“पिकनिकमा पिएन भने के पिकनिक ?” प्राचीले वाइन लिएर आएपछि नाच रोकियो, गीतमात्रै बजिरहेको थियो । वाइन कसैले पिए, कसैले पिएनन् । कमलले पिएन, विवेकले पिएन । सबैभन्दा धेरै प्राचीले पिई ।
खानपिन सुरु भयो । प्राची सबैलाई उपदेश दिइरहँदा मातलाग्दो थियो स्वर, मातलाग्दो थियो शारीरिक ढंग । सबैजना थाक्दा प्राची थाकिन । फर्किने बेलासम्म कमलले खुब स्याहार गर्यो । छुट्ने बेला प्राचीले सबैलाई किस गरी । कमलले उसलाई घर पुर्याएर आयो । स्कुटी कलेजमै थियो ।
लामो समयको तयारीपछि प्राचीले एजुकेसनल, मोटिभेसनल ट्रेनिङ दिने एजुकेसन कन्सल्ट्यान्सी खोली दरबारमार्गमा । कमलले पनि लगानी गरिदियो । एजुकेसन एक्सपर्ट तयार गर्ने, विद्यार्थी विदेश पठाउने, कन्सल्ट्यान्सीको मुख्य काम थियो ।
एक शुक्रबार उनीहरू लब स्टोरी भएको फिल्म हेर्न गए, जुन फिल्म रिलिजकै दिन हेर्ने प्राचीकै योजना हो । कमल फिल्मका लागि भन्दा पनि प्राचीको लागि गयो ।
धन्न ! कमललाई फिल्मले भन्दा पनि प्राचीको कुराले निदाउनबाट जोगायो । दुई पटक बाहिर निस्कियो । फिल्म हेर्दाहेर्दै उनीहरू अघाए प्रेमले पनि, परिकारले पनि । सुत्नलाई कमलकै घरमा गए ।
आफ्नो काम सुरु गरेपछि बिहे गर्ने प्राचीको परिवारले आश्वासन पाएको थियो । त्यहीअनुरूप उनीहरूको बिहे गर्ने तयारी भयो । खासमा उनीहरूको बिहे समाजलाई औपचारिक जवाफमात्रै थियो । श्रीमान्–श्रीमतीको सम्बन्धको रेखामा उनीहरू निकै अगाडिदेखि जेलिएका थिए ।
निकै धुमधामका साथ उनीहरूले बिहे गरे । मन्त्रीसम्म उपस्थित भएको उनीहरूको विवाह सहरको भव्य विवाहमा गनियो । कमलका बुबा सहरका प्रतिष्ठित व्यक्ति हुन् । कमल त्यही प्रतिष्ठाले जीवन बिताइरहेको थियो । विवाहपछि लाजिम्पाटको घर कमलको भागमा छोडेर उसका बुबाआमा धापासी सरे ।
प्रेमको राजमार्गलाई स्थायी बनाउन हनिमुनका लागि सिंगापुर, थाइल्यान्ड, दुबई पुगे उनीहरू । हनिमुन चरणमा उसले जीवनको नयाँ परिभाषा संग्रह गरी । कमलको प्रेमसँगै किसिम–किसिमका रक्सी पिई ।
“सबैभन्दा ठूलो कमाइ यही हो कमल । जति सक्यो, घुम्नुपर्छ, जति सक्यो, रमाउनुपर्छ, जति सक्यो, जिउनुपर्छ ।” समुद्रमा सयर गरिरहँदा प्राचीले भनी ।
“त्योभन्दा बाहेक अरु पनि छ जिन्दगी,” थाहा थियो उसलाई जित्न सक्दिन, तैपनि कमलले यति भए पनि भन्यो ।
केही समयको सयरपछि प्रेम चरीहरू उडेर आफ्नै गुँडमा फर्किए । बिहेअघिदेखि नै सुरु भएको प्राचीको कोख भरिँदै थियो । बुझेर कमल प्रेमको मात्रा बढाउन थालेको थियो । उनीहरू आ–आफ्ना दैनिकीमा व्यस्त रहन्थे । कमलको कमाइ राम्रो थियो । तर, उसको कमाइ कहाँ पुग्थ्यो कसैलाई थाहा नहुने । बुहारीको हेरविचारका लागि कमलका बुबाआमा लाजिम्पाट नै आएर बसे ।
“नानु, मैले एउटा बैंकमा लगानी गरेँ है,” एकदिन कमलले भन्दा प्राचीले खासै गतिलो प्रतिक्रिया दिइन ।
एक रात कमलले खुला रहेको प्राचीको नाइट ड्रेसभित्र देख्यो, सगरमाथाजस्तो पेट । बन्द नगरी कमलले पेटमा कान थापेर गर्भभित्रको बच्चासँग कुरा गर्यो । कमललाई छोरो चाहिने, प्राचीलाई छोरी चाहिने आफूजस्तै ।
“छोरी भएर जन्मिनु भनेको संसारलाई वशमा राख्नु हो ।” उपदेशको चरणमा प्राचीले सबैभन्दा धेरै दोहोर्याउने संवाद हो यो ।
कमलले निकैबेर बढेको सेतो सगरमाथा प्रेमले स्पर्श गर्दै राति अबेरसम्म मनोवाद मञ्चन गरिरह्यो ।
महिना लागेको हुनाले कमल प्राचीलाई आराम गराउन चाहन्थ्यो । प्राची आराम गरेर बस्ने वर्गकी केटी नै थिइन । उसको चाला बुझेका बुबाआमा दुवैले सम्झाएर थाके ।
“अघिल्लो दिनसम्म काम गरिरहन्छु,” प्राची छरिती देखिन्थी ।
उसको काम गर्ने गतिमा कुनै फरक परेन । उसको उत्साह कति पनि घटेन । उसबाट ज्ञान आर्जन गर्नेहरू कति पनि कम भएनन् । काम, माम र नामको सन्तुलन मिलाउन ऊ निकै खप्पिस थिई ।
शुक्रबार उनीहरूको भ्रमणको लागि बनेको दिन हो । यो पटक दोलालघाट जाने इच्छा प्राचीले नै गरी ।
साँझ उतै बस्ने योजनाका साथ उनीहरू दोलालघाट पुगे । प्राचीले वाइन पिई । कमल रमायोमात्रै ।
“नानु, मैले एउटा स्कुलमा लगानी गरेँ,” कमलले दोलालघाटमा सुनायो ।
“लगानी, पैसाभन्दा नयाँ कुरा गर न कमल । आफू खुसी हुनुपर्यो, आफू स्वस्थ हुनुपर्यो । पैसा आफ्नै वरिपरि घुमिरहेको छ ।”
“हामीले आफ्नो भविष्यको लागि कमाउनुपर्छ । मेरो पुख्र्यौली सम्पत्ति नभइदिएको भए हामी यस्तो मस्तीको जीवन जिउन कहाँ सक्थ्यौँ ?”
“यो सबै नभए पनि हामी सुखी हुन सक्थ्यौँ बुझ्यौ कमल । सुख भनेको सम्पत्ति हैन, खुसी हो,” प्राची सम्झाइरहेकी थिई ।
कमल पनि सम्झाइरहेको थियो । २४ घण्टा दोलालघाटमा बिताएर उनीहरू बिस्तारै घर फर्किने तयारीमा लागे ।
पाँचखाल आइपुग्न लाग्दा कमल गाडी रोकेर फोनमा कुरा गरिरहेको थियो । प्राची हेडफोन भिरेर मस्त गीत सुनिरहेकी थिई । त्यही बेला अनियन्त्रित हुँदै आएको बस रोकेर राखेको गाडी पछाडि बज्रियो ।
उनीहरू दुवैलाई धुलिखेल अस्पतालमा पुर्याइयो । कमलको हातमा चोट थियो । चोट नलागे पनि सबैलाई प्राचीको चिन्ता लाग्यो । केही समयमा सबैजना अस्पतालमा जोडिए । प्राचीको गुप्तांगबाट रक्तश्राव भयो । अपरेसन गर्दा बच्चा मृत रहेछ ।
डाक्टरहरूको रिपोर्टले बतायो, “प्राचीले कहिल्यै बच्चा जन्माउन सक्दिन ।”
(स्रोत : बाह्रखरी डट कम)