~पदम गौतम~
गुड्दै गरेको रेलले
छाड्दै जान्छ टाढा देखिने बस्तीहरू
उड्दै गरेको जहाजबाट
धमिला देखिन्छन् शहरका दृश्यसमेत
बिस्तारै हराउँदै जान्छन् सबै सबै
र, अदृश्य हुन्छन् आँखाबाट।
तिम्रो सम्झनाले झरेको आँसु
खाटा बनेर बस्छ भित्री मनमा
र, घोच्छ बेला बेला सियोले जस्तै
बानी पर्छ घोचाइको
र अभ्यस्त बन्छ मान्छे
उही पीडामा रमाउन।
थाहा छैन मलाई
त्यहाँ के के हुन्छ तिमीसँग
ककसले के के भन्छन् खै
म नहुनुको समयमा
मसँग चाहिँ यति बेला
साथमा छ आफ्नै छायाँ
बाँकी छ आँखामा अलिकति
छायाँ हेर्ने उज्यालो
साँच्चि प्रिया,
जब यो निरंकुश सहरमा
जीवनको अँध्यारो घोप्टिँदै जान्छ
आफ्नै छायाँ पनि धूमिल हुँदै जान्छ
र, विस्तारै छाड्छ मलाई
एक्लो, एक्लो र नितान्त एक्लो।
-२०७२ चैत्र २८ आईतवार
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)