~राजेन्द्र थापा~
आँसु पुछेपछि रुमालमा, आँसु अड्केको हो जिन्दगी,
चैते खरबारीमा ठूटोले, आगो भड्केको हो जिन्दगी ।
के गर्ने, कसरी गर्ने, नजान्दा’नि गरिए जस्तो,
पैलो मायाको कलेजो झैँ, बेताल धड्केको हो जिन्दगी ।
दोधारे तरबार हो माया, उल्टिने प्रहार हो माया,
बुझ्दै नबुझी आफैँतिर, गोली छड्केको हो जिन्दगी ।
मायाले दिएन मलाई मर्नै, न त दियो जिउन नै,
सुकेको खोलीको थोरै पानीमा, माछी तड्पेको हो जिन्दगी ।
सके सम्म सहेपछि मात्रै, सहनै नसकेपछि मात्रै,
आत्मघाती मानव बम झैँ, आफैँ पड्केको हो जिन्दगी ।