कथा : अपुरो चित्र

~खगेन्द्र पन्धाक लिम्बू~Khagendra Prandhak Limbu

अण्डामानको सङ्लो पानीलाई पानीजहाजको धक्काले सेताम्मे फिँज उठाउँदा यता उनको धक्काले मेरो मनोछाल पनि उसोरी नै छचल्काएको थियो ।

पर सामुद्रिक सतहमा लजालु घामको चुम्बनसँगै उनले पनि चुम्बनको प्रस्ताव सारिन्, मैले नकारें । लाजले म त्यै लज्जालु घामजस्तो बनेको थिएँ ।

म साहै्र सामान्य ठिटो । चित्रकलाको सौखले तानेर इसान (पूर्व)को गाउँबाट बैंककसम्म पु¥याएको थियो । फेरि ग्राहकको खोजले पर्यटकीय क्षेत्र पत्तायासम्म छोडेको थियो । ल्याण्डस्केपको सिलसिलामा रङ्ग–ब्रस–प्लेट–स्ट्याण्ड आदि चित्रकलाका सामानहरुको भारीसँग पत्ताया पारी कोकलान टापुमा पुगेको थिएँ ।

उत्तरी सामुद्रिक किनारामा नरिवलको फेदमा अडेस लागेर युगौंदेखि सामुद्रिक छालहरुले एकोहोरो पिटिरहेका निर्दोष चट्टानहरुको अमूर्त सौन्दर्य उतार्न बसेको थिएँ !

‘हामीलाई निर्वाध बग्न दे !’ –समुद्रको निहुँ यही थियो ।

‘अचलता हाम्रो नश्ल हो, प्रकृतिमा हामीले पाएको स्थानमा हामीलाई सुरक्षित बस्न दे !’ –चट्टानको कट्टरता भने यस्तो थियो ! मैले यही विरोधाभाषलाई सुसंगतिमा निर्णयसहित चित्रकारिताबाट पोख्न लालायित थिएँ ।

‘मेरो पनि चित्र कोरिदिनुस् न !’ –मलाई लिओनार्दो दा भिन्ची बनाएर कोही आधुनिक मोनालिसा सजियो मेरो अगाडि ।

‘अहँ, म सुन्दर–सुन्दरीहरुको चित्र बनाउँदिन ।’ हुन पनि अरुका सुन्दर अनुहार जस्ताको तस्तै उतार्नमा मलाई रति आनन्द आउँदैनथ्यो । चित्रकलालाई रङ्गकला मात्र भनेर म सन्तुष्ट हुन नसक्ने मान्छे ! रङ्ग सौन्दर्य, विचार र दर्शन सौन्दर्यमा सम्मिलन नभएसम्म म चित्रकारिताको अर्थ छैन भन्ने चित्रकार ।

‘किन ? पैसा तिर्न सक्दैन भनेर हो कि ?’ अलि फुइँ लाइन !

‘अरे महाशय ! कलालाई पैसाले किन्ने हिम्मत गर्नुभयो ?’ हुन त पैसाकै निमित्त पनि मैले चित्रकारितालाई बढाइरहेको थिएँ । किसान एक्ली आमाले दुःख गरेर लालनपालन गर्दै हुर्काएर–पढाएर मैले सिकेको चित्रकला पैसाको निमित्त अनुत्पादक साबित भएको खण्डमा आमाको मन रुवाउनुबाहेक अरु केही अर्थ लाग्दैनथ्यो ।

‘बरु ! मुवा थाइ (थाइ किकबक्सिङ) खेलेको भए बेस हुन्थ्यो, मेरो दूधको पौष्टिकताको अर्थ हुन्थ्यो ।’ आमाले केही समयअघि यसरी नै मेरो पेशाप्रति खेद पोख्नुभएको तीतो याद ताजै थियो ।

‘हुन्छ, कति दिनुहुन्छ ?’ मैले नि च्याँखे थापें ।

‘मेरो जीवन नै दिन्छु । जीवनभन्दा पनि महँगो छ चित्रकारिता ?’

‘अवश्य !’

‘उसो भए जीवनसँग के थपेर दिउँ ? मलाई मेरो चित्र चाहियो ।’ जिद्दी कसिन् ।

‘ऊ त्यो कुरुप चट्टानझैं बनेर छालहरु छेकेर युगौंयुग बस्नुस् ! म तपाईंको चित्र कोर्न तयार छु ।’

यसरी हाम्रो सामिप्यताको निर्माण भएको थियो ।

‘हुन्छ, म त्यहीं जाउँ त चट्टान भएर हजुरको निमित्त युगौंयुग बस्न ?’ –होइन यी कस्ती पगली हुन् ? कुनै औपचारिक चिनाजानी छैन यस्तो ! म बिलखबन्दमा परें ।

‘मेरो निमित्त होइन, तपाईंको आफ्नो मुहारचित्रको निमित्त !’ म पनि उस्तै अलि अप्ठेरो काव्यात्मक पाराले गएँ ।

‘हेर्नुस्, तपाईंलाई अनौठो लाग्यो होला मेरो आचरण देखेर । म बुझ्छु– चित्रकारिता नबुझे पनि म मान्छेहरुका मन बुझ्छु । आफ्नो काम गर्नुस् । माफ गर्नुहोला, मैले भुलाएँ !’

‘ठीकै छ !’ यति भनेर मैले प्यालेटमा चक्कुले रङ्ग संयोजन गर्न थालें । छेउमै टुसुक्क बसेर हेरिरहिन् । मैले पनि बेला–बेला उनलाई चोरी नजरले हेरें । उनले मेरो चित्र होइन, मेरो अनुहारमा एकोहोरो हेरिरहेको देखें हरेक पल्ट ।

‘तपाईंको बारेमा केही भन्नुहुन्छ कि ?’ क्यानभासमा ब्रुस घोट्दै कुरो बढाएँ ।

‘नाखो न राच्छा सीमा निवासी म एक सामान्य केटी हुँ । आफूलाई हराएर आफैंलाई खोज्दाखोज्दै यहाँ आइपुगें !’ उनको यस्तै बोल्ने शैलीले मलाई झनै आश्चर्यचकित पार्दै गयो । अलि पारो पनि चढायो ।

‘आफूलाई खोज्नेले किन मेरो मुखमा हेरेर बस्नुभा’को त ?’

‘रहस्य छ त्यो पनि भनुँला । मेरो चित्र उतार्नुभयो भने मैले आफूलाई भेट्न सजिलो हुन्थ्यो कि भनेर !’

‘सम्झिनुस्, यै निरीह उभिएका चट्टानका चित्र नै तपाईंको हुनेछ !’

‘सायद, त्यै पत्थरजस्तो अडिग रहनाले ममाथि एकोहोरो अन्याय भएको होला !’ उनको कुरा सुनेर कि म आफैं पागल हुन लागेको थिएँ कि ती केटी नै पागल हुन् ! म द्विविधिामा परें ।

‘मलाई डिस्टर्ब नगर्नुहोला, यो चित्र बनेन भने आजको मेरो दिन खेर जान्छ । कलाकारहरुले सिर्जना गर्न सकेनन् भने भोकै मर्छन् ।’ मैले ती केटीबाट मुक्ति पाउने जुक्ति रचें ।

‘त्यै त मेरो अनुहार चित्र कोर्नुस्, म दाम दिन्छु भनेकै हो !’ उही प्रसंग दोधो¥याइन् ।

‘यो दुनियाँ बाहिर रुपरङ्गको खेती गर्छ तर भावनाहरु मरेका छन् । जलप लगाइएको टहकमा मूल्य निर्धारण गर्छन्, अनि त आन्तरिक महत्व र अस्तित्वको मृत्यु भएको छ ।’ मैले यति बोल्नैपर्ने सम्झिएँ ।

‘मलाई तपाईंको विचार मनप¥यो । म अब जिद्दी गर्दिन । आफ्नो काम गर्नुस्, म हेरिबस्छु !’ यति भनेर चुप लागिन् । म पनि निकैबेर उनलाई वास्तै नगरी आफ्नो रङ्गमा डुबिरहे ।

घामले समुद्रको सतह टेक्न लागिरहेको थियो । चित्रपूर्ण भैसकेको थिएन । अझै तिनी मेरो छेउमा टुसुक्क बसेर एकोहोरो मलाई हेर्दै थिइन् ।

मैले तिनका बारेमा अनेक कुरा सोच्दै ब्रस घोटिरहें । समयले बिदा मागेकोले आफ्नो वासस्थान फर्कनुपर्ने भयो । मैले सामानहरु थन्क्याउनुपर्ने भयो ।

‘आहा, त्यो सामुन्नेको यथार्थ दृश्यभन्दा पनि यो चित्र बहुत सुन्दर भयो ! साँच्चै महान कलाकार हुनुहुँदोरहेछ ।’ उनले मेरो प्रशंसा गरिन् ।

‘के सुन्दर लाग्यो यसमा ?’

‘यसमा मेरैप्रति विम्ब आयो ! घमण्डी र रिसाहा छालहरुलाई कस्तो शान्त चट्टानहरुले चुपचाप प्रतिवाद गरिरहेका ! तपाईंले ठिकै भन्नुभएछ, त्यो चट्टानमै हुँ । मैले पनि त्यसरी नै वर्षौंंदेखि सामाजिक विसंगति, अपमान, अन्याय र अपराधका छालहरु सामना गरेर बसेकी छु । म त्यै ढुङ्गो जसरी कुटिएकी छु– पिटिएकी छु । तर मेरो पक्षमा कसैले केही देखेनन्–बोलेनन् !’ अलि रुञ्चे आवाज थियो ।

‘वास्तविकता भन्न मिल्छ कि ?’ झनै चासो बढेर गयो ।

‘मेरो बुबा एक सामान्य गाउँले किसान थिएँ । घरको छाना छाउँदै गर्दा गोली ठोकियो र लागूपदार्थ कारोबारको अभियोग लाएर स्पष्टीकरण दिइयो । मलाई थाहा छ– म स्वयम् उहाँको छोरी हुनाले म नै उहाँको निमित्त एउटा प्रत्यक्ष प्रमाण हुँ कि उहाँलाई त्यस्तो कारोबारबारे थाहा पनि थिएन । खेतीपातीले जीविका नचलेर उहाँ कन्स्ट्रक्सनमा पनि काम गर्नुहुन्थ्यो । सिमेन्टले खाएर उहाँका छाला सकिएका थिए । म पनि उहाँसँगै काम गर्थें सधैं ।

यसको न्यायनिसाफको निमित्त मैले बहुत कोसिस गरें, तर मेरो केही लागेन । मेरो कुरा कसैले सुनेनन् । ‘यी ढुंगाहरुले जस्तै आफूले सुरक्षित आफ्नो ठाउँमा बाँच्न पाउनुपर्छ’ भन्ने मेरो पनि अभिमत हो र अहिले पनि त्यसको न्यायनिसाफ केलाउन म कानूनमा विद्यावारिधि गर्दैछु । सत्य त्यै चट्टान रहेछ, त्यसलाई हजारौं अभिमानी छालहरुले पिटेर–कुटेर कहिल्यै अन्त्य हुन्न, जसरी म नै एउटा सत्य हुँ कि मेरो बुबाको कुनै गल्ती थिएन म तपाईंको दर्शनबाट प्रभावित भएँ ।’ मैले ज्यादा केही बयान गर्न जरुरी ठानिन । उनको तर्क सुन्दै समान झोलामा मिलाएर राखिसकेको थिएँ ।

हाम्रो गफले गति लिएर गयो । उनका व्यक्तिगत तथा पारिवारिक खुलासाले मेरो पनि केही आन्तरिक कुराहरुलाई बाँकी राखेन फुकाएरै छोड्यो । वैचारिक, सैद्धान्तिक र दार्शनिक पक्षहरुमा हामीले परिचय बेस्मारी साट्यौं । अब वर्षौं पुराना चिरपरिचितजस्तो हाम्रो सम्बन्धको उचाई बाँसको तामाझैं अलग्गियो । विचार, चिन्तन र दर्शनको मेल भयो भने सम्बन्ध गुहुको मूलाभन्दा चाँडो र गजबले फस्टाउँदो रहेछ । –थाहा पाएँ ।

एउटा रेष्टुरेन्टमा सँगै खाना खायौं, भलाकुसारी ग¥यौं, ख्यालठट्टा पनि ग¥यौं । मतलब– हामीले आफूलाई एकापसमा साटासाट ग¥र्यौं । साट्दा–साट्दै प्रेमबासना कुरा पनि आए । हामीले त्यसलाई पनि आफ्नै स्वकीयताको अधिकारले सकारात्मक नै लियौं । साँझपख मोटरसाइकल रिजर्ब गरेर टापुलाई पुनः एक फन्को लगाइयो । उनका वैचारिकता तथा चरित्रले यो सोझो ठिटो गजबले प्रभावित भैसकेको थियो ।

‘तपाईंले गर्दा मेरो चित्र नै पूरा भएन आज !’ ठट्यौलीमै अलिकति गुनासो मिसाएँ ।

‘मेरोजस्तो निरीह जीवन कथाहरुले न्याय नपाई यस्तो अमूर्त चित्रहरुको पूर्णता हुँदैन । फेरि कोरेको कोरेकै, पोतेको पोतेकै गर्नुपर्छ ।’ उनको जबाफ थियो ।

सामान्यरुपमा सुन्नेबुझ्नेले वैंशालु उछवाँस हो, भन्लान् ! देखादेखमै पनि प्रेम हुन्छ ? भन्लान् । तर हाम्रो विचार, सोच, सिद्धान्त र जीवनलाई हेर्ने दर्शनको समीकरण र प्यारालाल रेखाले हामीलाई प्रेमबन्धनमा बाँधिसकेको थियो । हामी एकअर्कामा बुझ्ने भैसकेका थियौं । वर्र्षौं पुराना प्रेमी–प्रेमिकाझैं नजिकिएर एउटा सानो टापुको छोटो मिलन र अन्तरङ्गपछि समुद्रझैं फैलिएर सामुद्रिक जहाजको छतमा बसेर फर्कियौं ।

त्यो साँझ पत्तायाको रङ्गीचंगीबजारको थाई कराओकेमा लेघ्रो तान्दै– कम्मर पनि मर्काइयो । हाम्रो प्रेम त्यही दिनदेखि बीजारोपण भएर हुर्किरह्यो ।

त्यो अपूरो चित्रलाई कोठामा ल्याएर पुनश्चः पोतें । उनको अनुहार झल्झली आइरह्यो । जो व्यक्तिको अनुहार चित्र कोर्न मैले नकारें, किन त्यसैको तस्वीर मेरो मानसपटल भरिभरि आउँछ ? मेरो क्यानभासभरि सजिन्छ ? उनको पोट्रेट नबनाएको ग्लानीले चिमोटिरह्यो– ‘म उनको पोट्रेट बनाएरै छोड्छु । त्यो प्रेमवासनाको गन्ध होइन, उनको आन्तरिक अस्तित्व र महत्वको गन्ध होस् ।’ मैले निर्णय लिएँ ।

न्यायसंगत उभिन राजनीतिमा पनि उनको सक्रियता बढेर गएको थियो ‘रातो टिसर्ट’को पक्षबाट आन्दोलनमा सहभागी हुँदा उनलाई पनि देशद्रोहीको अभियोगमा समातिएर सख्त घाइते बनाएर बन्धक परियो । यो घटनाले मेरो चित्रकार जीवनमा झनै प्रभाव पा¥यो । मैले कोरेका पोतेका चित्रहरु झनै जुझारु र क्रान्तिकारी हुँदै गए । मैले सयौंको संख्यामा प्रगतिशील तथा जनजीवनको उन्नयन र उन्मुक्तिमा चित्र कोरें । हरचित्रमा उनको झल्को मिसिएको थियो । लाग्थ्यो– ‘ती निर्धा चट्टानजस्ता निडर र निरीह मान्छेहरुले यो जगतमा उन्मुक्ति नपाउञ्जेल मेरा चित्रहरु पूर्ण हुने छैनन् ।’

थुनुवा भएको केही महिनापछि उनको रिहाइ भयो हाम्रो पुनश्चः भेट भयो हामीले विवाह ग¥यौं । तर, उनलाई त्यही आन्दोलनमा घाइते बनाएको रोगले च्यापिरह्यो । मेरो चित्रकारिताबाट आएको सानो रकमले उनको उपचार गर्न धौ–धौ प¥यो । भन्थिन्– ‘तिम्रा चित्रहरु कहिल्यै पूर्ण नहुन् ! कोरिरहुन् !’

एकदिन मध्यदिनमै चित्र बेच्न निस्किएँ । उनी अझै सञ्चो भैसकेकी थिइनन् । तर उठबस गर्न, खाना–दबाई–पानी खान, पाइखाना जान सक्थिन् । मैले त्यैको लानटापुमा कोरेको चित्र हजार डलरमा बेच्न सफल भएँ । म खुसीले गद्गद् भएर ट्याक्सी समातेर कोठा फर्किएँ ।

फोन आयो–
‘छिटो आउनुप¥यो, तिम्रो श्रीमती सिकिस्त छन् ।’

म केही मिनेटमै कोठा पुगें । उनी बेहोस थिइन् । हत्तपत्त उठाएर उनलाई हस्पिटल पु¥याएर इमर्जेन्सीमा भर्ना गरें । अन्ततः उनले यो जगतलाई छोडेर गइन् म रोएँ कराएँ । मेरो के लाग्थ्यो र ! चित्र बेचेको पैसा मेरो गोजीमा अझै गह्रँुगो भएर बसिरहेथ्यो । जो उनको काजक्रियामा सदुपयोग भयो । जीवनमा साह्रै घायल भएँ । झन्डै–झन्डै पागलजस्तो भएँ । त्यसपछि मलाई चित्र कोर्न कहिल्यै जाँगर चलेन । मैले चित्रकारिता लगभग छोडिसकेको थिएँ । गाउँ फर्किएर आमासँग खेतीकिसानीमा लागें । एउटा कुराले पिरोलेको थियो– उनको पोट्रेट बनाउने ! पुरानो फोटोबाट साभार गरेर अहिले पोतिरहेछु यतिबेला– दुरुस्तै उनकै अनुहार बनिएको त छ । तर निकै दिन भयो, अझै त्यै चित्र सक्न मन छैन । त्यै चित्रमा उनका सम्झना, सम्मान र विचारहरुसँग रङ्ग मिसाएर खेलिरहुँझैं लाग्छ ।

‘होइन, बुहारीको चित्र अझै सकिएको छैन ?’ आमाको प्रश्न ।

‘छैन, सायद यो चित्र कहिल्यै पूरा हुँदैन होला !’ अझै रङ्ग उठाएर घोटिरहेछु । आमाछोराको रुने बाजी चल्छ ।

‘उनको सम्झनामा पनि चित्र कोरिरहनु है ।’

आमाले सान्त्वना दिनुहुन्थ्यो ।

सोच्थें– ‘यो लोकमा जीवनहरु उन्मुक्त नभएसम्म अपूरो चित्रहरु कोरिरहने छु ।’ भित्रभित्रै जाग्थें । तर अहिले भने उनकै अपूरो पोट्रेटमै खेलिरहेछु ।

खगेन्द्र पन्धाक लिम्बू
हालः थाइल्याण्ड

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.