~राजिव घिमिरे~
काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न भनेर हिडेका -सिलिगुडि । म बर्ष दिनपछि काठमाण्डौंबाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् । मिल्यो भने एउटा माइक्रोवेभ ओभन किन्ने विचार थियो, रहर पनि गरेकि थिइन् । फेरि हाम्रो सल्लाह पनि थियो यसपालि को दशैमा फजुल खर्च नगर्ने । त्यहि अनुसार भारु पैसा साटें, रोशन र तिर्थ ले पनि आ-आफ्नो हिसाब गरे।
गर्मी नै थियो त्यो दिन । त्यो मेची पुल जांदा, ओरालोमा रिक्सामा आएको आनन्द । अहो, बडो मीठास पूर्ण । म सुधासंग त्यो बाटो हिडेको थिंइन । एकचोटि उनलाई लिएर आउने मन भयो । मोबाइलमा ‘टावर’ फुल थियो । ‘missed call’ गरिदिए । बिहे भएको २ बर्ष नाघे पनि, हाम्रो प्रेम छेडछाड् यसरी नै चलेको थियो।
‘पारि’ को वातावाण नेपालको भन्दा फरक थियो । मलाई त हावा नै अर्को जस्तो लागेको थियो ।
तिर्थ त्यो वातावरणमा बढी भिजेको थियो । यो बसमा जाऔं छिटो पुगिन्छ भन्यो । हामी उसको पछि लाग्यौं । बस लगभग खालि थियो । म र तिर्थ सगैं बस्यौं । रोशन एक्लै । बिस्तारै बसमा मान्छे बढ्दै गए ।
‘मत्वालि’ अनुहार गरेका २ वटि कलिला ठिटीहरु बसमा चढे । रोशनले आफ्नो सिटमा ठाँउ बनायो । सानी चाँहि आएर उ संग बसिन् । हरियो टि र कालो जिन्स; हामीले जिस्काउने बहाना पायौं ।
बस अगाडि बढ्यो ।
सिलिगुडि पुग्दा सम्म गाडिमा यात्रुको भिड धेरै भएको थियो । जसो तसो हिलकार्ट रोड पुगियो । ‘शहर त ठुलै हो’ मेरो पुरानो प्रतिक्रिया दोहोरियो । यता उता डुल्न थालियो । गर्मि थियो तर पनि मतलब गरिएन । कहिले स्कुले बेला को छेडछाड त कहिले खेलकुदका गफ । सिलिगुडिको बजार अनि हाम्रो उधेश्य हिन भ्रमण । हामी अझै केटाकेटि नै थियौं ।
घुम्दै जांदा I. Sc. मा bio group ki साथी भेटिइन् । श्रीमान र छोरोको साथमा । धेरै मोट्टाइछन्। तर मुहार उस्तै ।
मुसुक्क हासेर सोधे “सन्चै छ?” ।
“हो सन्चै छु। तिम्रो के छ नि?”
“मेरो पनि ठिक छ । सन्चै छु । “
उनको कुर्ता सलवार र कपाल बाध्ने रबरको रंग म्याच गराएर लगाउने बानि अझै उस्तै रहेछ ।
“दशैमा घुम्न त होला नि है?” मैले नियमित प्रश्न सोधें ।
उनि मुस्काइन् । उनको मुस्कान मलाई कलेज पढ्दा पनि मन पर्थ्यो ।
उनले श्रीमान चिनाइनन् । उनलाई मेरा साथी चिनाउन जरुरि थिएन ।
ल त है भनेर हामी आफ्नो बाटो लाग्यौं, उनि आफ्नो ।
सुधाको रहर । माइक्रोवेभ ओभनको दाम बुझ्नु पर्यो । साथीहरुले दिक्क माने । मैले अलिक जिद गरे । ६-८ वटा पसल डुलियो । दशैंको भिड । मैले भाषा english नै प्रयोग गर्न खोजे । केहि मतलब गरेनन् दोकानदारले । रिस उठ्यो । मैले त्यो street को पसलहरुमा सोध्न मन गरिन। पछि तिर्थ र मैले एउटा राम्रो पसल फेला पार्यौं । राम्रो कुरा गर्यो त्यो दोकानदारले । कोक मगाएर खुवायो । कोक को सोझो गर्न लाई सामान जबर्जस्ति त किन्नु पर्ने होइन ?? कता कता मनमा चिसो पस्यो ।
तर मान्छे भलादमि रहेछ । किन्न त किनिएन, तर सिलिगुडि प्रति बनेको बिम्ब थोर बहुत राम्रो भयो ।
अब कता जाने त?? कता कता!! भर्खर १२ बजेको थियो ।
तिर्थले “जाने त?” भन्यो ।
मैले केहि कुरो बुझिन ।
मलाई केटोहरुको नियत ठिक लागेन । ढिलै भए पनि पछि कुरा बुझें ।
“गर्ने केहि होईन, जाने भए जाउं न त।“ मलाई पनि किन किन जाउँ जाउँ लाग्यो, त्यो दिन ।
“के भनेको तिमीहरुले, फर्कने होईन?” रोशनले अन्कनाएको स्वरमा भन्यो ।
तिर्थले “केहि हुन्न यार, एकछिन घुमेर मात्र आउने हो” भन्न थाल्यो ।
तिर्थ पनि बिवाहित, म पनि अनि रोशन तयारीमा।
तिर्थले रोशनलाई प्रस्ट्यायो ।
“हेर, केहि हुन्न, एसो घुमेर मात्र आउने । कसैले केहि गर्दैन । तं टेन्सन न लि ।”
म पनि अस्समन्जस्य मा परें । यस्तो कुरा काकडभिट्टा मा नै भएको भए शायदै सिलिगुडि पुगिन्थ्यो होला । तर त्यो बेला म उनिहरु संग छुट्टिन सकिन ।
३ जना नेपाली केटा । २ बिवाहित । सिलिगुडिको बदनाम बाटोमा गइयो । हामी तिनै जना सफा थियौं । नियत पनि खराब थिएन । हामी समाज का भलादमी र सज्जन युवा । सिलिगुडि आउँदा सम्म शायदै कसैले सोचेको थियो होला, त्यो बाटोमा हिडिन्छ भनेर । तर त्यो बेला हामी त्यहि बाटोमा हिडिरहेका थियौ, अगि बढि रहेका थियौं । सत्य त्यहि थियो, मन जसको जस्तो भए पनि, उधेश्य जसको जे भए पनि । किन हाम्रो समाजका लोग्ने मान्छेको रुप यस्तो unpredictable हुन्छ ???
बस्ति साधारण थियो । मोटरसाइकल, रिक्साहरु कुदिरहेकै थिए । बच्चाहरु खेलिरहेका थिए । उमेरमा केटि हरु धेरै जिस्काएको भए पनि म पहिले पटक त्यस्तो माहोल मा हिड्दै थिएं । मलाई प्रत्येक पाईला झन् झन् गह्रौं हुदै गइरहेका थिए । शायद रोशनलाई पनि अफ्ठ्यारो लागेको थियो होला। न बाध्यता, न बानी, न चाह, तर पनि हामी हिड्न सकिरहेकै थियौं । कस्तो बिडम्बना !!!
तिर्थ एउटा बस्ति भित्र पस्यो । हामी पछि पछि गयौ । एउटी अधबैसें नारी थिइन् । उ घरको भित्र नै पुग्यो । रोशन र म पछाडि थियौं । टाउको निहुराएर उभिएका ।
“यहां एउटा नेपाली दाइ थियो नि” तिर्थले सोध्यो ।
“अहिले बाहिर गएको छ” उनले भनिन् ।
हेर्दा उनी बानेश्वर कि तरकारी बेच्ने साउनी जस्ति थिइन् । सिंदुर पोते लगाएकि, परिचित झैं लाग्ने अनुहार । भाषा पुरै नेपाली ।
“अरु कोहि छैन?” तिर्थले सोध्यो ।
“भित्र छ, एकछिन है”
एकछिनमा २-३ वटि जवान केटिहरु आए ।
“मैले नेपाली खोजेको थिएं” तिर्थले भन्यो ।
“ए एएएए पार्वती !!” उनि कराइन् ।
………………पार्वती आइन् । चाहिने भन्दा बढि लिपिस्टिकका साथ ।
“यो त होइन, अर्को खोजेको “
“अरु त अहिले छैन ।”
फेरि हामी तिर हेर्दै सोधिन, ” यिनीहरुले हेर्दैन?”
“यिनीहरु त साथी मात्र आएको” तिर्थले स्पष्टयायो ।
“ल आजलाई जाने, पछि आउंला ।” तिर्थले बिदा माग्यो ।
मेरो सास आयो । रोशन र म जुरुक्क उठ्यौं । अनि सके सम्म भ्याए सम्म त्यहांबाट छिटो निस्कियौं । एक छिन पछि तिर्थ पनि आइपुग्यो ।
“उफ” मैले बाटोमा निस्केर लामो सास फेरें । रोशन हांस्यो । ऐठन त उसलाई पनि भएको हो। म केहि बोलिन ।
“देखिस, केहि हुन्न । अब एकै छिन घुमौं अनि फर्कने ।”
हामीले हुदैन पनि भन्न सकेनौं, हुन्छ पनि । तर अब अलिक सहज पनि भइसकेका थियौ ।
“केहि हुदैन क्या, अहिले केहि भयो? एकछिन त हो नि । जाऊँ हिड्” उसको कर थियो ।
रोशनले के सोच्यो “जाँउ न त एकछिन” भन्यो ।
त्यो “केहि हुन्न” भन्ने शब्दले पनि मलाई डोहोर्यायो । यसपालि मेरा पाइला अलिक हलुका भए । म नै अगि लागे ।
अर्को ठाउंमा पनि त्यहि बार्ता, अलिक फरक ढंगमा । तर शैलि उहि । त्यसपछि अलिक परको पान दोकान को आड मा उभियौं हामी तिन भाई । २ जना केटा हरु आए ।
“दाई केटि चाहिन्छ?”
“ठिकै छ भाइ, हामी पछि भन्छौं नि, अहिले साथी कुरेको” मैले उनिहरुलाई पन्छाउन खोजे ।
उनिहरु गएपछि ४ वटि केटिहरु आए । चोलिको भित्रि स्पष्टरुपमा देखिएको थियो, सबैको ।
उनिहरु मस्किन थाले । कुरा त गरियो तर सिधा भएर उनिहरु संग कुरा गर्दा नजर भट्किरहेको थियो। लाज नै त होईन तर कस्तो अफ्ठ्यारो लागेको जस्तो भयो ।
“जाने होईन दाई?” एउटि ले ठाडो प्रश्न राखिन् ।
“जाने नि, कस्तो हतार, एकछिन पान खाऔं ।“ तिर्थ कुरा गर्न खप्पिस थियो ।
दोहोर बात मार्दा, जिस्कदां, हाम्रो उकुस मुकुस अलिक सहज भएको थियो ।
२ जना खर्सांङ का रहेछन् । एउटि सिलिगुडि कै । सानी चाहिं १६ बर्ष, सबै भन्दा ठुलि २५ कि ।
एउटि अर्कि आएर हामीमा आफ्नो ग्राहक खोज्न थालि । दिदि को छोरि भनेर बच्चा लिएर आएकि थिई, तिर्थलाई के भयो । यसलाई मीठाई किनेर खुवाउनु भनेर ५० रुपैया दियो ।
रोशन पनि गफमा सामेल हुन थाल्यो ।
केहि बेरमै कुराहरु छाडा हुन थाल्दै गए ।मलाई त्यहा बस्न मन लागेन । सकिन भनौं । उनिहरु कुरा गर्दै थिए । जाउँ भनेर म बीचमा नै हिडिदिए ।तिर्थ र रोशन ले के सोचे थाहा भएन, त जादै गर, हामी आईहाल्छौ भने ।
फर्कदा त्यहांका केटिहरुले जिस्काए । पहिलो पटक युवतिको मुखबाट निस्केको छाडा शब्द सुनियो, गालिले भरिएको। कस्तो मनमा नै बिझ्यो । म पछाडि नहेरि हिडिरहे । अनि पर बाटो पारिको किराना पसलमा चिसो पिएर बसे ।
मन त्यसै गुम्सियो । किन आउन पुगे म यहां, के ले तान्यो । मलाई ग्लानि हुन थाल्यो । मनमा बिचार को द्वन्द सुरु भयो । म मेरा हरेक वैचारिक मान्यतामा आफुलाई गिरिरहेको पाउँदै थिए ।
म आएको एकै छिनमा उनिहरु पनि आए, हांस्दै-हांस्दै ।
“किन हिडेको, क्या रमाइलो भयो?”
मलाई डर लाग्यो ।
“के गर्यो?”
“होईन त्यस्तो, के सोच्यो यसले फेरि?
दुइवटि केटि त इलाम का रहेछन् बुझिस्?”
देशका चेलि, एकछिन नराम्रो लाग्यो। । केहि भनिन । तर, कस्ता थिए होलान भन्ने कौतुहलता नभएको भने पक्कै होइन ।
” अबेर भयो, जाँउ फर्केर ।” discuss नगरि मैले छोटो बाक्यमा प्रष्ट गरें ।
हामी सरासर फर्कियौं ।
गाडी चढियो । मेरो अन्तरमनको देवताले मलाई पटक पटक चिमोटिरहेको थियो । मैले हजार तर्कले पनि आफुलाई सम्झाउन सकिरहेको थिईन । हरेक पटक म आफै संग हारिहेको थिए । केहि लागेन, ipod सुन्न थालें । झ्याल बाहिर हेर्दै बसे, मन भुलाउन थाले ।
उनिहरु दुईजना त्यहि अनुभवको काउकुतिमा रुमलिइरहे । उमेर संगै हाम्रो वैचारिक फाटो बढेको हो जस्तो अनुभव गरे । त्यसले मलाई शान्त हुन सहयोग गर्यो ।
रोशनले तिर्थलाई सोध्यो “तं पहिले पनि आएको थिइस?”
“थिइन”
“कसरि थाहा पाइस त त्यंहा नेपाली दाइ छ भनेर?”
“थुक्क साले, त्यति पनि थाहा पाइनस, त्यो त कुरा शुरु गर्ने बहाना पो हो त!!”
“एएएए” रोशनले ढिला बुझेछ ।
म मुसुक्क हांसी दिंए । तिर्थ बच्चै देखि बाठो हो । नियत त उसको पनि खराब होइन तर चन्चले चाँहि पक्कै हो । मेरो विचार सहज हुदै गएको थियो ।
तर पनि मलाई आफैं देखि अफ्ठयारो भएको थियो । खासै बोल्न मन लागेन ।
बाटोमा मैले मेरी सुधालाई धेरै सम्झें । कतिबेला घर पुगेर उनलाई भेटौं जस्तो भयो । भर्खर पानीटंकी आइपुगेको थियो । तिर्थले चिनी र दाल किन्यो । म किन्न गइन, मन पनि भएन । उसैले ५ केजी दाल ल्याइदियो । मीठाइ हामीले दिउँसै सिलिगुडिमा किनेका थियौं ।
मेची पुल तर्दा मलाई किन किन फेरो त्यो ठाउँ आउँछु जस्तो लागेन ।
तिर्थको घरबाट फोन आयो । भाउजुको फोटो रहेछ, कन्ट्याक्ट पिक्चरमा। मीठो बात गर्यो । १ घण्टामा घर आइपुग्छु भन्यो । रोशनले उसकी मायालुलाई sms पठायो ।
“बिहे गर्दैनस?” तिर्थले सोध्यो ।
“उनको बा मान्नु भयो भने आउने वैशाखमा” रोशन आशावादि थियो ।
मलाई घर पुग्न हतार लागेको थियो । माइक्रोमा थिंए, मोबाइल उठांए तर फोन गरिन् । सुधाले miss call गरिन् । मैले आउंदै छु भनेर sms पठांए ।
झ्यालबाट चिसो हावा पसेको थियो । नारायण गोपाल ipod मा गुन्गुनाउंदै थिए ।
“..तिमीलाई भुल्दा म एक्लो परेछुं
तिमीलाई सम्झे तिमी साथ आयौं ।
कुनै चिज मीठो म खोजि रहेंथें,
म सोची रहेथें ; तिमी याद आयौं ।
तिमीलाई भुल्दा………………….”
मन हलुका भयो । मोबाइलमा सुधाको फोटो हेरें । बल्ल बल्ल दमक पुगिएको थियो । कुन बेला घर पुगौं भयो । म गीतमा नै डुबेछुं । बुढीखोलाको पुलमा माइक्रो उफ्रदां झसंङ्ग भएं । त्यो बीचमा मैले संसार सोचिसकेको थिंए ।
इटहरि, जुटबिकास अगाडि माइक्रो रोकियो । झोला लिएर म रिक्सामा बसें । मलाई मेरी सुधा संगको त्यो एक दिनको बिछोड युगौं जस्तो लागेको थियो । म उनलाई भेटन ब्यग्र भएं ।
रिक्सालाई रु २० “तै” राख भनेर दिए अनि घर पुगें ।
उनी भान्सामा खाना बनाउंदै थिइन । झ्यालबाट मलाई हेरिन् । बाहिर आँगनमा आमा ‘तिहुंन’ केलाउंदै हुनुहुन्थ्यो ।
“के ल्याएको?” आमाले सोध्नु भयो ।
“केहि ल्याइन । अलिकति दाल बोकेर आएं ।”
“लौ, अस्ति भर्खर फुपुकोबाट त्यति धेरै दाल आफै ल्याएको होइन?” आमाले गालि भन्नु भयो ।
त्यो दिन मलाई केहि कुराको होस रहेन ।
झोला राख्न भान्सामा गए । सुधालाई हेरि रहे । एकछिन हात समाएं ।
“के गरेको?” उनले दबेको स्वरमा भनिन् ।
“माया ।” मैले उनलाई हेरि रहें ।
मलाई सुधा संग कुरा गर्न मन थियो । आमाले बोलाउनु भयो । भान्साको काम नसके सम्म म संग पर्खनु बाहेक बिकल्प थिएन । म आफ्नै कोठामा बसी रहें । दशैं आउन लागेको थियो । घरमा मान्छे आइरहेका थिए । तर मलाई कसै संग बोल्न मन लागेन । म कोठाबाट निस्किन ।
केहि कामको लागि सुधा कोठामा आएकी थिइन । मैले उनलाई मलिन आंखाले हेरि रहे ।
“के भयो, सन्चो छैन? “
मैले टाउको हल्लाए, छैन भन्नलाई ।
उनले मेरो निधार मा हात राखिन् ।
“ज्वरो त छैन । के भयो?” उनले सोधिन् ।
मैले उनलाई हेरि मात्र रहें ।
सोफामा सिरानी लगेर राखिदिइन् । अनि टिभि खोलिदिइन् ।
“टिभि हेर्दै गर्नु, म छिटो काम सक्छु, तपाईं बस्दै गर्नु। है?” यति भनेर उनि गइन् ।
मलाई खास्सै खान मन थिएन, रुचेन पनि । उनि पनि खाना खाइ सकेर आइन् । मैले ल्याएको मीठाइ बोकेर ल्याएकि थिइन् ।
” खाना खानु भएन, यो खानु पर्छ है ।” उनले मीठो अनुरोध गरिन् ।
मैले यो राख न त्यहां भने। अनि उनको हात बाट लिएर आफैले राखिदिए ।
उनले मेरो कपाल मुसार्दै सोधिन, “के भयो आज?”
मलाई सहन गाह्रो भयो । उनलाई अंगालो हाले । आंसु आफैं बगे । सुधाले मेरो ढाड सुम्सुम्याइन् । उनका पनि आंखा सबै भिजेका थिए ।
“के भयो भन्नु न?”
म बोल्नै सकिन । उनलाई अंगालोमै राखें, कसेर ।
केहि बेर हामी दुवै चुप भयौं । उनले टाउको हल्लाएर के भयो भनेर सोधिन् । मैले सबिस्तार बतांए । दिनभरिका अनुभव र दौडिएका भावना । शायद श्रीमतीको महत्त्व मैले त्यो दिन गहिरो रुपमा बुझें ।
“यस्तो जाबो कुरामा पनि चित्त दुखाउने हो त?”
“खोइ, मलाई किन किन छट्पटि भयो। ” मैले भनें ।
“मलाई तपाईं माथि विस्वास छ, अब देखि यस्तो सानो कुरामा चित्त नदुखाउनु” उनले मलाई सम्झाइन्
“तिम्रै लागि त बाँचेको छु ।”
उनले मेरो निधार चुमि दिइन् ।
मेरो तनाव सबै हट्यो । मैले त्यस्तो केहि सोचेको पनि होइन, गरेको पनि होइन । साथीहरु खराब पनि होइनन् । धेरै पछि भएको भेटघाटमा अल्लारेपन बोकेर घुम्न मात्र गएका थियौं । तर, कुन भावनाले मलाई त्यो दिन सहज हुन दिएन, मैले त्यो छुट्टयाउन नै सकिन । सुधा संग share गरेपछि मन आकाशमा पुगेको थियो ।
“खोइ त मेरो ओभन?” उनी जिस्काउने सुर मा थिइन् ।
म केहि बोलिन, अर्को पट्टी फर्केर बसें ।
उनी मिठाइको कचौरा बोकेर आइन्, फकाउँदै । मलाई धेरै भोक लागेको थियो। दुबै मिलेर खायौं ।
एकछिनको सन्नाटालाई तोडेर उनले भनिन् , “हामी अब सिलिगुडि कहिल्यै नजाने, है?”
नाइट ल्याम्पको मधुरो उज्यालोमा मैले सुधालाई झनै राम्री देखें ।
01-19-08 7:37 AM
(स्रोत : साझा डट कम)