कविता : राँको

~शान्ति प्रियवन्दना~

महाभारतको मध्यपर्वमा
जब दुर्योधनले
मेरा अंगवस्त्रहरू च्यातेर
आफ्नो कामातुर जाँघमा बसाए
त्यही बेला,
बिर्सेकी थिएँ मैले
मत्स्यगन्धा हुनुको पीडा

आफैंलाई विश्वास लाग्दैन
सतीदेवी हुँ म
आफ्नै अंगहरू विसर्जन गर्दै
पतिको काँधमा बोकिएर
लामो यात्रामा निस्किएकी ।

म त हुँ
बिनादोष, बिना कुनै अपराध
हजार वर्ष शिला बन्न पुगेकी
अहिल्या,
मै हुँ राजकन्या सीता पनि
सतीसावित्री हुनुको प्रमाण जुटाउन
अग्निदाह आफैंलार्इ होमेकी

मै हुँ योगमाया
अरुण किनारमा उभिएर
नियाली रहेकी
जल्दै गरेका चिताहरु ।
निश्चय नै,
आजकाल जल्ने लासहरू
सतीका हुँदैनन् तर
सतीको भन्दा
कहालीलाग्दो
अनेकौं मृत्युकथाहरू
टाँसेर छातीमा
हावामा विलीन भइरहेका हुन्छन्
स्वास्नीमान्छेहरू ।

कहाँ छोडेका छन् र चुलिन
दु:खका पिरामिडहरु ?
कहाँ छाडेका छन् रोपिन
पीडाका शुलहरु ?

दुर्योधनको चीरहरणभन्दा बढी
पीडा र अपमान
सहिरहेकाछन् सतीहरु
छाउपडी बनेर,
आफैैलार्इ हजार पटक मारिरहेछन्
टोल बस्ती र गाउँहरुमा
गौना, दाइजो र कुलवंशको
कालो घुम्टोभित्र रुमल्लिएर ।

आखिर कहिलेसम्म चलिरहने
घडीको सुर्इ उल्टो दिशामा ?
आखिर कहिलेसम्म बगिरहने
सभ्यताको वायु उल्टो गतिमा ?

ओ द्रौपदी,
उठाऊ गाण्डिब आफैले
र प्रहार गर
हर घरघरमा हुर्किरहेका
दुर्योधनहरूका जाँघहरूमा
ओ सतीदेवी,
छोड अग्निकुण्डमा हामफाल्न
लिएर त्रिशूल हातमा
निशाना साँध
प्वाखँ खोस्ने बाजहरुमा ।

ओ अहिल्या !
जाग, उठ र रणचण्डिका बन
परित्यक्त हजार वर्षका पीडाहरु
सम्हालेर पोको पार्दै
बनाउ बारुद र प्रहार गर
इन्द्रको सिंहासनमा ।
ओ योगमाया !
बौरिएर उठ जलसमाधिबाट
र, झोंस राँको
चलन र रितको अनुहारमा ।

समय आगो मागिरहेछ
र, होइनौं हामी मुर्दा,
वर्तमान परिवर्तन खोजिरहेछ
र, होइनौं हामी शालिक ।

शनिवार, पुस २३, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.