~विक्रम पवन~
कुनै दिन मैले राजधानी छोडेको रात
जून नलाग्न सक्छ
खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ
ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा
ननिदाउन सक्छन् चराहरू
मैले राजधानी सँग बिदा लिएपछि
शकुनिहरू एक्लै हुन सक्छन्
काठमाडौँ मेरो खोजीमा अन्नशन बस्न सक्छ
आकाशका ताराहरू निभ्न सक्छन्
परेवाहरूले मन्दिर छोड्न सक्छन्
आर्यघाटले मेरो पुनर्जन्म खोज्न सक्छ
सगरमाथालाई मेरो अभाव हुन सक्छ ।।
……….
मेरो अवसान पछि
आकाशलाई अंगालो हाल्न
हत्तारिएर दौडिँदै पुग्नेछन् चित्ताबाट धुवाँ
विश्व परिक्रमा निस्केको मेरो जिन्दगी
जस्ले आकाश छुने सपना मात्रै जन्माउछ
यदि यी फूल जस्ता सपनाहरू हत्या गरियो भने !
वकिल साहेव !
विचराहरूलाई दोषी नठहर्याइयो
मेरा सपनाहरूको हत्यारा
म आफैँ हुनेछु किनकि !
यो देश सहिदहरूको मात्र देश हो ।।
(बेथान -४, रामेछाप)
(स्रोत : एबिसिखबर डट कम)