~छविलाल कोपिला~
जब म,
वाफ बनेर शिखर चुम्छु
अनि, वायुसंगै शितल छुन्छु
र गर्वले ढकमक्क फुल्दै
अक्टोपस झै विभिन्न आकारमा
सयर गर्छु अनन्त आकाशमा ।
सूर्य र ताराहरु छल्दै
जूनसंग लुकामारी खेल्दै
जहाज झै ब्रह्माण्डमा
जब म,
तेज गतिमा दौड्छु,
मसंग सम्झौता गर्न आउँछन्
एक हूल आँधीहरु,
केराको थाम ढाल्दै
अर्को हूल हुरीहरु
सडकको धुलो उडाउँदै
तर अहँ !
म, कसैसंग सम्झौता गर्न चाहन्न
उता, आ–आफ्नै अहंकारमा
आकाशमै गर्जन्छन् आँधी र हुरीहरु
म भने पानी बनेर तल झर्छु ।
जब, सप्तरंगी इन्द्रेणी
मेरो स्वागत गर्छे
म अत्यन्त हर्षित भएर
धर्तीको प्रवेशद्वार छिर्छु ।
मेरो आगमनमा
पहाडले कैद गरी राखेको ‘मुल’
चट्टान फोडेर आउँछ,
धुस्स कुहिरो
र घामले कैद गरेको ‘शितलता’
पर्खाल भत्काएर आउँछ
खोलाहरु सुसाउँदै आउँछन्
अनि, गाउँबाट किसानहरु
हलो र जुवा बोकेर खेततिर झर्छन्
उता रोपाहाहरु ‘असारे’ गाउँदै
छुपु–छुपु धान रोप्छन् ।
म आउँछु
हरेक बार आउँछु
मेरो आगमन
कसैको आग्रहमा हुँदैन
पुर्वाग्रहमा पनि हुँदैन
न त हुन्छ,
सम्भ्रान्तहरुले फिजाएको
भ्रमको पूजा र भाकलमा ।
म आउँदा
कुनै पण्डितलाई सोध्दैन
कुनै बेद–पुराण ढोक्दैन
कुनै कुरान पनि घोक्दैन
न त भट्याउँछु कुनै बाइबल
अनि, साइत जुराउन राशीफल पनि हेर्दैन
तर, म आउँछु,
यो प्रकृतिले दिएको सुन्दर धर्तीमा
सुन्दर सिर्जनाका सुन्दर बोट उमार्न ।
जब निरीह धर्ती घामले जलिरहेको हुन्छ
प्यासले छट्पटिरहेको हुन्छ
म झर्छु
शितलता र एक अञ्जुली पानी लिएर
कति खुशी हुन्छ ऊ र हाँस्छ
अनि, उमार्छु सिर्जनाका थुप्रै–थुप्रै बोटहरु ।
–(कविता संग्रह ‘चुरेको डाँडाबाट’बाट)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)