~सीता अर्याल~
बाबुआमाको न्यानो काख र मीठो दूध-भातलाई चटक्क बिर्सेर म पलायन भएको हुँ। पढ्ने, जागिर खाने, आफ्नो भविष्य उज्यालो पार्ने सिलसिलालाई च्यापेर मैले मेरा बुबाआमाको छातीमा लात हानेको छु। त्यसको बदला आज आफ्नै छातीमा कसैको लात बज्रिरहेछ। मेरो पूजनीय बुबाको अमृतमय वाणीको तिरस्कार गरेको थिएँ। आमाको आँसुलाई लात मारेको थिएँ। कति सारो कर्णकटु लागेका थिए ममतामयी आमाका अर्ती उपदेशहरू त्यतिबेला। दुवैजनाको आकृति पनि देख्न नसक्ने अन्धोजस्तो भएको थिएँ म। घर र आमाबुबा भनेपछि त्यसै रिंगटा लागेर आउँथ्यो मलाई। रिसको बाढी त्यसै उर्लेर आउँथ्यो। जब दुवैजना रुँदै मलाई सम्झाउन थाल्नुहुन्थ्यो सिंगै आकाश खसेर आफूलाई किच्न लागेको अनुभूति हुन्थ्यो। मुटु, कलेजो नै टुक्रा-टुक्रा भएजस्तो भान हुन्थ्यो। उनीहरूलाई नमीठा र तिरस्कारका शब्दहरू प्रहार गर्न पनि पछि परेको थिइनँ। मेरा आकांक्षा असफल पार्न खोज्नेलाई त सिंगै निलिदिऊँ कि जस्तो लाग्दथ्यो। आफूलाई ज्यादै नै बलवान् ठानेको थिएँ। सबैलाई आफ्नो हत्केलामा नचाउन खोज्दथें। आज आएर यी सबै प्रवृत्तिका परिणाम निस्किरहेछन्। हरेक परिणाममा मेरो सम्पूर्ण हार भइरहेछ। भावावेशमा गरेको निर्णयले आज मलाई भतभति पोलिरहेछ। तर विवशता सिंगो पहाड भएर मेरो सामुन्ने तेर्सिएको छ। कुनै हालतमा पनि मैले मेरा आमाबाबुको चहर्याइरहेको मुटुमा मल्हमपट्टी लगाउन सक्तिन। मप्रतिको उहाँहरूको घृणालाई निमिट्यान्न पारेर फाल्न सक्तिन।
उनको रूपले निश्चय नै मलाई मन्त्रमुग्ध नपारेको होइन। म पनि लायककै भएकोले होला ज्यादै नै कर लगाइयो। आमाबाबुलाई सम्झाउने काम हाम्रो भयो भनेर फकाइयो पनि। एक पटक आफै घरमा गएर सोधिहेरें। सकारात्मक सल्लाह नपाएकोले म मौन नै बसेको थिएँ। बाहिरी सुन्दरताले पनि मानिसलाई असाध्यै प्रभाव पार्दो रहेछ, जसबाट म पनि अछूतो रहन सकिनँ। अन्तरालमा अनुरागको टुसा मौलाइरहेको बेला फेरि कुराहरूको सल्बलाहट पुनरावृत्ति भयो। आखिर अनुषा र म प्रणयसूत्रमा बाँधियौं पनि। अप्रत्याशित रूपमा आउने जिन्दगीका कयौं मोडहरूमध्ये यो मोड मेरो प्रमुख रहृयो। यही मोडले मलाई आज यस्तो दुरूह अवस्थामा मिल्काएको छ।
प्रवेशिका परीक्षाको नतिजा प्रकाशनपश्चात् कुम्लो-कुटुरो बोकेर मेरो भाइ दाजु-भाउजुसँग बसी उच्च शिक्षा हासिल गर्ने भनेर हर्षविभोर हुँदै शहर पसेको हो। भाइ घरमा भित्रिएको दिनदेखि अनुषाको वचन रोकिएको छ। अनुहार मलिनो छ। मानौं मुटुमा अलि कडै खालको खील पल्टिएको छ। उनको वचन रोकिए पनि भाँडाकुँडा आदिको आवाजचाहिँ आजभोलि निकै कर्कश हुन थालेको छ। बिहान खाना खाने बेलामा बल्लबल्ल चिया पाक्छ। खाना नखाई अफिस गएको कयौं दिन भैसक्यो। मैला लुगाहरू झुण्डिएको झुण्डियै छन्। भाइले लिएर आएको घिउको टिन, चामल, तरकारीहरूको बोरा स्टोरमा पसेन। बाथरूमनजिकै भर्याङमुनि कसरी सर्यो थाहा पाइनँ। बिचरोलाई भान्सामा सुत्नुपर्ने बाध्यता किन ? जबकि ऊ र म एउटै ओछ्यानमा सुतेर हुर्किएका हौं। बैठकमा नै सुते पनि मजाले सुहाउँछ मेरो भाइलाई। यो मामलामा त मलाई कसैले नामर्द, हुतिहारा भनेछ भने पनि अत्युक्ति हुँदैन, पाप लाग्दैन। भाइ आएको तीन-चार दिन भइसक्दा पनि मैले मुख खोलेर भन्न सकेको थिइन- यो मेरो भाइ हो, तिमीले माया गर्नुपर्छ, आफ्नो कर्तव्यपथबाट कहिल्यै पछि पर्नु हुँदैन भनेर।
कत्रो उत्साह, उमंग बोकेर आएको छ बिचरा। आज त जे पर्ला-पर्ला मैले निश्चय नै भन्नु पर्दछ। भाइको लागि एउटा छुट्टै कोठा, पढ्ने कुर्सी बत्ती आदिको व्यवस्था कुनै हालतमा गर्नै पर्दछ। भरपूर आँट र उत्साहका साथ घर फर्किएँ। ढोका खुलै थियो। बाथरूममा लुगा धोएको आवाज प्रष्ट रूपमा सुनिन्थ्यो। सरासर आफ्नो कोठामा गएर लुगा फुकाल्न खोज्दा एउटा चिठी देखें। खोलेर हेरें। लेखिएको थियो-
प्यारो दाजु,
कत्रो उमंगकासाथ दाजु-भाउजूसँग बसी पढ्ने र भविष्यमा बाबुआमाको बुढेसकालको लौरो बन्ने उद्देश्य लिएर आएको थिएँ। बाबुआमा पनि ज्यादै खुशी हुनुभएको थियो। आमासरहकी भाउजूले पकाएको खान्छ र डाक्टरी पढ्छ सानेले भनेर सबैसँग छाती फुकाएर गफ गर्नुहुन्थ्यो। साह्रै सुन्दर सपना थियो बाबुआमाको। दाजु, दोष कसैलाई छैन। खालि समयको दोष हो। शहरको संस्कार ज्यादै परिस्कृत भइसकेको रहेछ। हामी गाउँले धेरै पछाडि रहेछौं। त्यही पछौटेपनले गर्दा नै दाजूभाउजूलाई आफ्नै ठानेर आएको हूं। अस्तिसम्म दाजुभाइले एउटै थालमा खाएको सम्झना ताजै छ। हजुरले काँधमा बोकेर डुलाएको पनि आजै जस्तो लाग्छ। वास्तविकताबाट जतिसुकै पलायन हुन खोजे पनि आखिर बाबुआमाले थाहा पाउन अनिवार्य छ। मलाई जहाँसम्म लाग्छ, बाबुआमाको छातीमा हजुरको यो दोस्रो लात बज्रिरहेछ। यस्तै हो दाजु के गर्ने – एउटा सस्तो, अँध्यारो कोठा भए पनि लिएर हजुरले पढेर बाँकी रहेका जायजेथा खर्चेर भए पनि नपढी त हुँदैन। हजुर र भाउजूलाई धेरै धेरै धन्यवाद र शुभकामना।
भाइ-सुवास।
पढ्दा-पढ्दै रिंगटा लागेर थचक्क बस्छु। हातगोडा लगलगी काँप्छ। आफैलाई कोपरूँ जस्तो लाग्छ। आफ्नो निमुखा र हुतिहारापनलाई धिक्कार्न मन लाग्छ। म बहुलाएँजस्तो लाग्छ। किनकि आज मेरो नैतिकता र कर्तव्यको जघन्य हत्या भएको छ।
अस्तु ।
-सीता अर्याल, अमेरिका
March 29th, 2008
(स्रोत : माइ संसार डट कम)