~प्रमोद स्नेही~
मैले गाउँमा गएर कुनै संगठन बनाउनु पर्दैन
मैले पार्टीको सिद्धान्तहरु कण्ठ नगरे पनि हुन्छ
मैले कसैलाई पार्टीमा प्रवेश गराउनु पर्दैन
दिनमा एक पटक म उहाँलाई भेट्न जान्छु
भाको नभाको रिपोर्टिङ गरिहाल्छु
मिठा मिठा हावा गफ गरेर उहाँलाई मख्ख बनाई हाल्छु
बस ! यति भएपछि
म पार्टीको इमान्दार कार्यकर्ता ।
मैले इट्टाहरु हान्नु पर्दैन
ढुंगाहरु बर्साउनु पर्दैन
आन्दोलनमा आएका सबैसँग हात मिलाउँछु
मुसुक्क हाँस्दै सबैसँग ठूला ठूला दर्शनहरु छाँट्छु
सबै मख्ख हुन्छन् ।
प्रहरीसँग झडप हुने संकेत थाहा पाउने बित्तिकै
म साइड लागिहाल्छु
तातो गोली त परै जाओस
मैले प्रहरीको लाठ्ठी खानु पर्दैन
असुर ग्यास खानु पर्दैन
आन्दोलन सकिने बित्तिकै फेरि म,
उहाँको पछि पछि लाग्छु
हस्पिटलमा घाइते सबैलाई भेट्न जान्छु
सहानुभुति दिन्छु
थप आन्दोलन चर्काउने आवेगका गफ गर्छु
सबै जना मख्ख हुन्छन्
बस यति भएपछि म पार्टीको इमान्दार कार्यकर्ता ।
गाउँको सभाहरुमा मैले कुनै योगदान गर्नु पर्दैन
अर्थात,
जनमासको लागि कार्यकर्ताहरु बटुल्नु पर्दैन
मञ्चको लागि बाँस, घोचाहरु बोेक्नु पर्दैन
नारा लगाउनको लागि माइक समात्नु पर्दैन
तर,
जिल्लाबाट आएका नेताहरुको स्वागतको लागि,
सम्मानको लागि
म अगाडि नै हुन्छु
मसँग फूलमालाहरु हुन्छन्
अविर हुन्छन्
त्यो भन्दा नि महत्वपूर्ण त
मसँग तेलले भिजेर लपक्कै बनेको चिप्ला मिठा कुराहरु हुन्छन्
कार्यकर्ताहरु छक्क
नेताहरु मख्ख
बस यति भएपछि म पार्टीको इमान्दार कार्यकर्ता ।
– प्रमोद स्नेही श्रेष्ठ, खोटाङ